२४ श्रावण २०७७ शनिबार
कला

लोकदोहोरीमा एकोहोरिँदै युवा

एक जमाना थियो, लोकदोहोरी गीत भनेपछि युवाहरू मुन्टो बटारिहाल्थे। यस्तो रुवाउने गीत पनि सुन्ने हो भन्दै खिल्ली उडाउँथे। तर, अहिले सहरबजारका आम युवा लोकदोहोरीमा एकोहोरिन थालेका छन्। रमाइला र मौलिक लय शब्दमा बनेका गीत युवा जमातले रुचाएको छ। सहर बजारका होटल, डान्स बार, पिकनिक, रोधी घरतिर पनि तिनै गीत घन्कन्छन्।

पहिले र अहिलेका लोकगीतको स्तर मापन गर्दा शैलीमा आमूल भिन्नता छ। पहिलेका लोक गीत अलि विरह लाग्ने खालका हुन्थे। त्यसैले सीमित व्यक्तिले मात्रै सुन्थे। अहिलेका मानिस लोकगीतभित्रको त्यो विरह रुचाउँदैनन्। मौलिक र हल्का रमाइलोे लय पक्रिएर बनेका गीत अहिले सुनिन थालेका छन्। लोकगायक बद्री पंगेनी लोकगीत नेपालको संस्कृति रहेको बताउँछन्। पछिल्लो पुस्ताका गायकले लोकगीतप्रतिको युवाको चाहना मेटाउने प्रयास गरेको उनको भनाइ छ। नारायण गोपालदेखि अहिलेका लोकगायकसम्मले लोकगीतलाई रोजेको पंगेनी बताउँछन्। ‘बरु अरु भाकाका गीत बजारमा आउने र अस्ताउने भइरहे । तर, लोकगीतको मार्केट कहिल्यै पनि खस्किएन,’ उनी भन्छन्, ‘अहिलेका युवाले गाएका गीत चलेका छन्। प्रस्तुति शैली मजबुत भएकाले ती गीतले बजार पनि तताउँछन्।’

उनले प्रविधि र माध्यम फेरिएपछि गीत–संगीतको बजारमा झन् चुनौति थपिएको बताए। ‘बोल माया’ बोलको गीतपछि ‘गलबन्दी’ गीतबाट चर्चा कमाएका प्रकाश सपूत अहिलेको म्युजिक क्रिएसन एडभान्स बनेको बताउँछन्। समय घुम्दै–फिर्दै लोकगीततिर ढल्किएकाले पछिल्लो समय लोकगीत बढी चलेको उनको भनाइ छ। ‘राष्ट्रिय भावना जागृत ल्याउने गरी बनेका गीतको मार्केट छ,’ उनी भन्छन्, ‘प्रविधिले रहेक कुरालाई सटिक बनाएको छ। गीतमात्रै होइन, केही कुरा हरर आएर भाइरल भइदिन्छन्, केही छिनमै हराउँछन्, यो पनि प्रविधिको असर हो।’ उनी गम्भीर विषयलाई उठान गरेर गाएका गीत धेरै समय नटिक्ने तर्क राख्छन्। तान्ने खालको कन्टेन्ट र मेलोडी मेकिङका कारण लोकगीत सर्वश्रेष्ठ सुनिन थालेको उनको भनाइ छ।

अहिले सहरबजारका आम युवा लोकदोहोरीमा एकोहोरिन थालेका छन्। रमाइला र मौलिक लय शब्दमा बनेका गीत युवा जमातले रुचाएको छ। सहर बजारका होटल, डान्स बार, पिकनिक, रोधी घरतिर पनि तिनै गीत घन्कन्छन्।

पछिल्लो एक वर्षमा ‘सालको पात टपरी...’, ‘लुट्न सके लुट...’, ‘लालुमै...’, ‘गलबन्दी...’ बोलका गीतले युवामाझ निकै लोकप्रियता कमाए। अहिले युट्युबको टे«न्डिङमा पनि यिनै गीत छन्। गायक कमल सौरागले पछिल्लो समय आधुनिक गीतमा समेत लोक फ्लेवर मिसिएका कारण सबैतिर लोकगीतको चर्चा चलेको बताउँछन्। १०÷१२ वर्षअघि क्यासेटको माध्यमबाट पनि गीत बढी बिक्ने बताए। ‘अहिले गीत सुन्ने माध्यम धेरै छन्, प्रविधिले गाउन र सिर्जना गर्न सहज बनाइदिएको छ, उतिबेला क्यासेट बिकेको आधारमा पारिश्रमिक पाइन्थ्यो,’ उनी सुनाउँछन्, ‘अहिले विज्ञान प्रविधिले हरेक कुरालाई सहज बनाइदिएको छ, मानिसले इन्टरनेट भयो भने संसारलाई बुझ्न सक्छ।’ गुल्मेली गायक रामप्रसाद पौडेलले पछिल्ला लोक गीतले युवापुस्तालाई लक्षित गरेकोले युवाहरु आकर्षित भएको सुनाए। उनले भने, ‘लोकगीतले नेपालको मौलिक परम्परालाई बोलेको छ, पछिल्लो समय युवा पुस्तालाई तान्न सक्नु अर्को राम्रो पक्ष हो।’ 

वाकमेन र टेपरेकर्डरको जमाना
कुरा धेरै परको होइन। करिब १०/१५ वर्षअघिलाई फर्केर हेर्दा गाउँघर होस् या सहर बजार जताततै टेपरेकर्डरमा लोकगीत खुवै घन्कन्थे। युवाहरूले वाकमेन (गीत सुन्न मिल्ने सानो टेपरेकर्डर)मा लोकगीत नै बजाउँदै हिँड्थे। बजारमा क्यासेट र सिडी किन्ने ग्राहकहरूको घुइँचो लाग्थ्यो। गाउँमा कोही लाहुरे आउँदै छ भने पनि लोकगीत बजाउँदै आउँथे। कसैले घरको छानामा स्पिकर राखेर लोकगीत घन्काउँथे। लोकगायक÷गायिका अत्यन्तै व्यस्त रहन्थे। अहिले प्रविधिको सहायता थपिएपछि पुराना प्रविधि विस्थापित भएको लोकगायक पशुपति शर्मा बताउँछन्। सेन्टिमेन्ट खिच्ने गरी बनाएका लोकगीत अहिले खुबै सुनिन थालेको उनको भनाइ छ। ‘सिरियस विषयलाई पनि अलि रमाइलो शैलीमा पस्कन सकिन्छ, पहिले–पहिले भावुक भएर गाउने चलन थियो,’ उनले सुनाए, ‘अहिले शब्द रच्ने र गाउने शैलीमा फरक आएको छ।’  
लोकगीतका सारथि

१२/१५ वर्षअघि लोकगीतको दुनियामा धेरै गायक÷गायिका थिएनन्। गायक भगवान भण्डारी, खुमन अघिकारी, विष्णु माझी, शर्मिला न्यौपाने, पुरुषोत्तम न्यौपाने, शम्भु राई, बमबहादुर कार्की, शर्मिला गुरूङ, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, कमल सौराग, रामप्रसाद पौडेल, राजु परियार, विमलराज क्षेत्री, विमल डाँगी, श्रीष देवकोटालगायत गायक निकै रुचाइन्थे। बजारमा यिनै गायक/गायिकाका गीत गुन्जन्थे। अहिले पनि पुराना गायक÷गायिकाको वर्चस्व घटेको छैन।

नयाँ प्रविधि आयो, पुरानो हरायो
पछिल्लो दशकले नेपालमा धेरैखाले प्रविधि भित्र्यायो। प्रविधिको विकाससँगै सिडी क्यासेट बिक्न छाडे। प्रविधितर्फ गीत–संगीतको बजार केन्द्रित रहँदा लोकगीत अलि कम सुन्न थालियो। नयाँ गायकले मेलोडी, पप, आधुनिक, ¥याप गीत गाउन थाले। ती गीत युट्युबमा अपलोड गरिए। जसको कारण बजारमा सिडी क्यासेट बिक्न छाडे। हात–हातमा मोबाइल भएपछि त्यसमै गीत सुन्न थालियो। जसका कारण टेपरेकर्डर घन्कन कम हँुदै गयो। इन्टरनेटको पहुँचले युट्युबबाटै गीत सुन्न थालियो। जमाना अलि आधुनिक बन्न थालेसँगै लोकगीतको बजार खस्कियो। सहरबजारमा घन्कन कम हुन थाल्यो। युवापुस्ताको ठूलो जमातलाई हिन्दी–अंग्रेजी आधुनिक र पप गीतले तान्यो। मौलिक नेपाली लोकगीत पछि परे। यद्यपि गाउँघरमा भने लोकगीतले आफ्नो वर्चस्व गुमाएन।

सिनेमाका गीतमा लोक फ्लेभर
करिब १० वर्ष बजार खस्किएको लोकगीतले अहिले सबैतिर पकड जमाउन थालेको छ। सिनेमाका गीतमा पनि लोक मेलोडी र लोक फ्लेभर मिसिन थालेको गायक कमल सौरागले बताए। ‘सिनेका गीतको बढी मार्केटिङ हुन्छ, अरु व्यक्तिले निकालेका गीतको त्यति मार्केटिङ हुँदैन यसैले पनि लोक गीत बीचमा ओझेल परेको थियो। अहिले युट्युबको ट्रेन्डिङ ¥यांकमा लोकगीत नै परेका छन्। सिनेमाका कारण पनि लोक गीत बढी सुन्न थालिएको हो,’ उनले सुनाए।

यसरी कमाई हुन्छ युट्युबमा
पहिले–पहिले क्यासेट बिकेको आधारमा गीत–संगीत चलेको मानिन्थ्यो। म्युजिक कम्पनीले क्यासेट बिकेको र गीत चलेको आधारमा रोयल्टी तथा पारिश्रमिक दिन्थे। प्रविधिको विकाससँगै गीतको मूल्यांकन गर्ने तरिकामा पनि बदलाव आएको छ। अब गीत–संगीत व्यवसाय प्रविधिकरण भइसकेको छ। गायकले गीत गाएर पैसा कमाउने माध्यम भनेको युट्युब नै हो। युट्युबमा मानिसले हेरेको आधारमा गायक–गायिकाले पैसा कमाउँछन्। म्युजिक भिडियो कन्टेन्ट जति धेरैले हेर्छन् त्यति धेरै रोयल्टी युट्युबले दिन्छ। मोनिटाइज गरिएको युट्युब एकाउन्ट राखिएका विज्ञापन नै त्यसको आम्दानी हो। म्युजिक भिडियो १ हजार पटक हेरिएको छ भने त्यसको पैसा ०.८० डलर आउँछ। १० लाख वा सोभन्दा बढी पटक भिडियो हेरिएको छ भने ५ हजारदेखि ८ हजार डलरसम्म युट्युब पैसा दिने गर्छ।

उक्त पैसा युट्युबले आफ्नो आधिकारिक अकाउन्टमा पठाइदिन्छ। अझ युट्युबमा अपलोड गरिएका भिडियो एकपटक हेरेर वा क्लिक गरेर मात्रै धेरै आम्दानी हुने होइन, पूरै भिडियो हेरिएको छ भने पैसा बढी आउँछ। यसबाहेक लामो भिडियोको रोयल्टीको क्षेत्रअधिकार पनि युट्युबले नै वर्गीकरण गरेको हुन्छ।

प्रकाशित: १४ असार २०७६ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App