१६ चैत्र २०८० शुक्रबार
कला

मनीषको सिरानीमा मानव जीवन

काठमाडौं – कलामा विभिन्न प्रयोग गर्न रुचाउने चित्रकार मनीषलाल श्रेष्ठको ‘सिरानी सिरिज–२’ शीर्षकको कला प्रदर्शनी राजधानीको ठमेलस्थित दलाई–ला बुटिक होटलमा प्रदर्शनी भइहरहेको छ। कलामा विभिन्न प्रयोग गरिरहने चित्रकार मनीषलालले बुटिक आर्टको भित्तामा ६ वटा ठूला खालका सिरानीमा कला सजाएका छन्।

गत जेठ २४ गते शुक्रबारदेखि सुरु मनीषलालको १९ औं एकल आर्ट प्रर्दशनीमा दर्शकले सिरानीमा विभिन्न कलालाई देख्न पाउनेछन्। उक्त सिरानीमा बाङ्गाटिङ्गा रेखा कोरिएको छ। कलाकार श्रेष्ठ आफूले बाङ्गा धर्कालाई मानिसको जीवनसँग जोडेको बताउँछन्। यी रेखात्मक कला निकै सुन्दर आकृतिका देखिन्छन्। सिरानीका बाङ्गाटिङ्गा रेखाहरूलाई रातो, निलो, हरियो र आकाशे रङले पोतिएको छ।

सिरानी मानिसको हरेकपलको साथी हो। जब मानिस धेरै खुसी हुन्छ तब सिरानी नै च्यापेर खुसी हुन्छ, एक्लै हास्छ र जब दुःखी हुन्छ, सिरानी नै च्यापेर रुन्छ, कराउँछ।

त्यस्तै स–साना १ सय ८ वटा सिरानीहरू पनि भित्तामा सजाइएको छ। हरेक सिरानीमा विभिन्न्न ठाउँका मानिसहरूको फोटो प्रिन्ट गरेर राखिएको छ। यसले देशका अनगिन्ती जातजाति, धर्म र समुदायको मानिसहरूको झल्को देखाउँछ।
श्रेष्ठले मेचीदेखि महाकालीसम्मलाई समेटेर १ सय ८ सिरानीमा बच्चादेखि वृद्धवृद्धासम्मको तस्बिर सजाएको बताए। उनी लहरै राखिएका स–साना सिरानीमा समग्र देशलाई अटाउन सफल भएको दाबी गर्छन्। ‘यो चार महिनाको मेहनत र लगावको परिणाम हो। हाम्रो जीवन निकै सुनौलो छ’, कलाकार श्रेष्ठ भन्छन्, ‘मानिसको सुनौलो जीवन देखाउनलाई नै मैलै सुनौलो रङको प्रयोग गरेको हुँ।’ मानिसको जीवन सधैं एकैनासले नचल्ने हुँदा सिरानीमा देखाइएका बाङ्गाटिङ्गा रेखाजस्तै मानिसको जीवनमा पनि उतारचढाव आउने मनीषको बुझाई छ। उनको बुझाईमा मानिसको जीवनमा अनेकौं उतारचढाब आए पनि जीवन निकै सुनौलो र सार्थक छ।

उनका यी कलात्मक कलालाई धेरै स्वदेशी तथा विदेशी दर्शकले अवलोकन गरिसकेका छन्। आफ्नो कलाकारितालाई धेरै अवलोकनकर्ताले राम्रो र रमाइलो रहेको प्रतिक्रिया दिँदा मनीषलाल प्रफुल्लित छन्। उनले ठूला खालका सिरानीको मूल्य एक लाख बीस हजार रुपैयाँसम्म राखेका छन्।

निकै मेहनतका साथ बनाएका ती सिरानीमा थुप्रै मानिसको कथा, व्यथा र जीवनलाई समेटिएको श्रेष्ठको दाबी छ। ठूला सिरानीमा देखाइएका घुमाउरा डोरीले मानिसको जीवन कहिल्यै पनि सिधा हुँदैन भन्ने कुराको संकेत गरेको छ। ती डोरीलाई मानिसको जीवनको रेखा मानिएको छ। उनी मानिसको जीवन अन्त्य भएपछि अर्थात् मानिस संसारबाट बिदा भएपछि मात्र जीवनको डोरी सिधा हुने बताउँछन्। उनका अनुसार सिरानीमा देखाइएको घुमाउरा धर्काले मानिस जीवित छ भन्ने संकेत गर्दछ।

उनी सिरानी मानिसको हरेकपलको साथी भएकाले सिरानीकै आर्ट गरेको बताउँछन्। ‘सिरानी मानिसको हरेकपलको साथी हो। जब मानिस धेरै खुसी हुन्छ तब सिरानी नै च्यापेर खुसी हुन्छ, एक्लै हास्छ र जब दुःखी हुन्छ, सिरानी नै च्यापेर रुन्छ, कराउँछ ’, उनले थपे, ‘ सिरानी दुःखमा पनि साथ दिन्छ र सुखमा पनि साक्षी बनिदिन्छ।’ उनले मानिस र सिरानीबीचको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सिरानी मानिसको सुखदुःखको भएको बताए। प्रदर्शनी आगामी असार २१ गतेसम्म चल्नेछ।

 

प्रकाशित: १३ असार २०७६ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App