coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

विरोधमा विज्ञापनसहितको विदेशी च्यानल बन्द

काठमाडौं - सरकारले ल्याएको प्रस्तावित ‘विज्ञापन ऐन ,२०७६’ को विरोध गर्दै केवल टेलिभिजन सञ्चालकहरूले विदेशी च्यानल बन्द गरेका छन्। सञ्चालकहरूले विदेशी च्यानल विज्ञापनसहित प्रशारण गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै सोमबार दिउँसो ३ देखि २४ घण्टासम्मका लागि अधिकांश च्यानलहरू बन्द गरेका हुन्। 

सरकारले प्रस्ताव गरेको ‘विज्ञापन ऐन, २०७६’ ले विदेशी च्यानलमा ‘क्लिन फिड’ अर्थात विज्ञापनविहिन हुनुपर्ने प्रावधान राखेको छ। केवल टेलिभिजन व्यवसायीहरूले सोमबार पत्रकार सम्मेलन गरी यो व्यवस्था खारेजीको माग गरे। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले ‘क्लिन फिड’ लागू गर्दा विदेशी च्यानल व्यवस्थित हुनुपर्नेमा जोड दिए। ‘नेपालमा टेलिभिजन च्यानलहरूको झण्डै २५ अर्ब रुपैयाँको व्यापार छ। सरकारले विदेशी टेलिभिजन च्यानलहरूलाई बेवास्ता गर्दै ‘क्लिन फिड’ नीतिलाई एकोहोरो ढंगले लागू गर्न लागिपरेको छ। विज्ञापनसहित विदेशी च्यानल वितरण गर्ने हामीजस्तालाई मान्य छैन्,’ उनले भने, ‘नेपाली ग्राहकलाई जानकारी गराउन हामीले २४ घण्टाका लागि विज्ञापनसहित प्रसारण हुने विदेशी च्यानल बन्द गरेका हौं।’ उनका अनुसार विज्ञापनबिना आउने एचबिओ, सिनेम्याक्स र नेपाली च्यानलको प्रसारण रोकिएको छैन।

पूर्व मुख्यसचिव लिलामणी पौडेलले क्लिन फिड लागु गर्ने प्रयास गरेका थिए। तर विदेशी च्यानलहरूले सरकारलाई दबाब दिएपछि उनको प्रयास सफल हुन सकेको थिएन। नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले प्रस्तावित ‘विज्ञापन ऐन, २०७६’ ले विदेशी च्यानलहरूमा ‘क्लिन फिड’ हुनुपर्ने प्रावधान राखेका कारण आफुहरूले विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गर्न बाध्य भएको बताए। ‘सरकार विज्ञापनसहित प्रसारण हुने विदेशी च्यानल सञ्चालकसँग वार्ता नगरी ‘क्लिन फिड’ लागू गर्न हतारिएको छ,’ उनले भने ‘विदेशी च्यानल वितरण गर्ने वितरकलाई व्यवस्थापन नगरी ‘क्लिन फिड’ लागू गर्नु सही हुँदैन्।’

उनका अनुसार नेपाली टेलिभिजन च्यानल हेर्ने दर्शक तुलनात्मक रूपमा कम छन्। ‘क्लिन फिड’ लागू गर्दा नेपालमा विदेशी च्यानल वितरण गर्ने वितरक मर्कामा पर्ने भएकाले यो प्रस्ताव मान्य छैन। उनका अनुसार नेपालमा ३० लाखभन्दा बढीले प्रत्यक्ष रूपमा विदेशी च्यानल हेर्ने गरेका छन् भने नेपाली च्यानल हेर्ने जनसंख्या १० लाखभन्दा कम छ।

वितरकहरूले आफ्ना ग्राहकलाई ‘क्लिन फिड’ को कारण देखाउँदै विदेशी च्यानल २४ घण्टा बन्द हुने जानकारी एसएमएसमार्फत गराइसकेका छन्।

वितरकहरूले आफ्ना ग्राहकलाई ‘क्लिन फिड’ को कारण देखाउँदै विदेशी च्यानल २४ घण्टा बन्द हुने जानकारी एसएमएसमार्फत गराइसकेका छन्। हाल नेपालमा करिब दुई सय हाराहारीका विदेशी च्यानल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुमति लिएर प्रसारण भइरहेका छन्। यसअघि इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिको संयोजकत्वमा इन्टरनेट सेवा प्रदायक एसोसिएसन, डिस मिडिया नेटवर्क र नेपाल केवल टेलिभिजन महासंघले प्रस्तावित ऐनको विरोध गर्दै सोमबार र मंगलबार २४ घण्टाका  लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरेको जानकारी गराएका थिए।

हाल राष्ट्रिय सभाअन्तर्गतको समितिमा छलफल भइरहेको यो विधेयकको दफा ६ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।’ उक्त  दफाको उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।

यसअघि केपी ओली प्रधानमन्त्री हुँदा २०७३ साउनको मन्त्रीपरिषद्ले २०७४ साउन १ देखि ‘क्लिन फिड’लागू गर्ने निर्णय गर्दै ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ स्वीकृत गरेको थियो। विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने नीति (क्लिन फिड) लागू गर्ने निर्णय गरे पनि ओली पछिको सरकारले उक्त निर्णय कार्यान्वयन गरेन।

लामो समयदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा ‘क्लिन फिड’ लागू नहुँदा नेपाली विज्ञापन बजारले अर्बौं रुपैयाँको घाटा व्यहोरेको सरोकारवाला बताउँछन्। नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘क्लिन फिड’ नेपालको राष्ट्रियता र सांस्कृतिक रूपमा महत्वपूर्ण भएको बताउँछन्। ‘नेपाली संस्कृति र राष्ट्रियता जोगाउन ‘क्लिन फिड’ लागू हुनुपर्छ। विदेशी विज्ञापन नेपाली दर्शकलाई जबर्जस्ती देखाइन्छ,’ उनले भने, ‘क्लिन फिड नेपालीको रोजगार, राष्ट्रियता र संस्कृति जोगाउने पक्षमा छ। यसले नेपाली टेलिभिजनहरूको स्तर वृद्धिमा महत्वपूर्ण भूमिका निवार्ह गर्नेछ।’

उनका अनुसार हाल नेपाली विज्ञापन बजारमा करिब १२ अर्बको कारोबार हुने गरेकोमा ‘क्लिन फिड’ लागू भए करिब दुई अर्ब वृद्धि हुनेछ। ‘विदेशी च्यानललाई करोडौं रुपैयाँ बुझाउनुभन्दा नेपालमा राख्न सकिन्छ। विदेशी च्यानल वितरण गर्ने वितरकलाई घाटा नहुने विकल्प सोच्न जरुरी छ,’ उनले भने।

अधिकांश देशमा दर्शकले च्यानल हेरेको पैसा तिर्नुपर्ने र टेलिभिजन च्यानलले विज्ञापन देखाउन नपाउने व्यवस्था भए पनि नेपाली दर्शकले विज्ञापनसहितको च्यानलका लागि पैसा तिरिरहेका छन्। विदेशी च्यानलले नेपाली दर्शकसँग च्यानलको पैसा असुलेर नेपालमा सित्तैमा विज्ञापन देखाइरहेका छन्। ‘क्लिन फिड’ लागू भए लगत्तै नेपालमा उत्पादित विज्ञापन प्रसारण गर्नुपर्ने हुन्छ।’

नेपालमा प्रसारण भइरहेका च्यानलहरूमध्ये ८५ प्रतिशत च्यानलहरू विदेशी छन्। यसमध्ये अधिकांश भारतीय च्यानल नेपालमा प्रसारण भइरहेका छन्। विज्ञापन व्यवसायीका अनुसार विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लगाउन सके नेपालको विज्ञापन बजार सुध्रने छ।

प्रकाशित: १० असार २०७६ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App