७ वैशाख २०८१ शुक्रबार
कला

जेसुम यात्रामा कविता र सम्पदा

काठमाडौं –  कला, साहित्य र रंगमञ्चको संगमका रूपमा स्थानीय संस्कृति र सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले हुँदै आएको जेसुम यात्राको आठौं श्रृंखला ललितपुरको खोकनामा सम्पन्न भएको छ। खोकना बसपार्कबाट सुरु भएको चित्रकार, कवि र रंगकर्मी सहभागी यात्रा खोकनाका पुराना घर, मन्दिर, देवल, पोखरी, तेल पेल्ने पुरानो कोल, मल्लकालीन बौद्ध विहारलगायतको अवलोकन गर्दै रुद्रायणी मन्दिरमा पुगेको थियो।

मन्दिर परिसरमा बुद्धिरत्न डंगोल, कृष्णभक्त डंगोल, बेखनर डंगोल, नरेन्द्रराज डंगोलदेखि वडा सदस्य श्याम महर्जन, ज्ञानभक्त डंगोल, सञ्चारकर्मी स्वयम्भु डंगोललगायतले टोलीलाई खोकनाको ऐतिहासिक, सांस्कृतिक एवं भौगोलिक महत्वबारे प्रकाश पारेका थिए।

वडा सदस्य श्याम महर्जनले भूकम्पले क्षति पु¥याएको खोकनाको सांस्कृतिक सम्पदाहरू देखाउँदै यस्तो अवस्थामा पनि सरकारले पुरानो बस्तीकोबिचबाट फास्ट ट्रयाकको योजना गरिरहेकोमा गुनासो गरे। उनले मल्ल राजा नरेन्द्र देवका पालामा भारतको आसाम चेरापुञ्जीबाट मत्सेन्द्रनाथ ल्याउँदा बागमतीछेउको प्राचीन बस्ती कुदेशबाट माथि सारिएको ऐतिहासिक बस्ती अहिले सरकारले अघि सारेको फास्ट ट्र्याक, बाहिरी चक्रपथ र बागमती करिडोर परियोजनाको चेपुवामा परेको बताए।

टोलीले १६ सय वर्षअघिको पुरानो वस्तीको भग्नावशेषमा भेटिएका पुरानो चोक, आँगन, मल्लकालीन इँटा, लिच्छवीकालिन इनारजस्ता ऐतिहासिक सम्पदा हेर्दै हरेक वर्ष सिकाली जात्रा हुने चौरमा पुगेर स्रष्टाहरूले विश्राम लिएका थिए। त्यहाँ स्नेह सायमी, अनिता लामा, विश्वासदिप तिगेला, गुणेश बुढा, धर्मानन्द भट्ट, फूलमान वल, रमेश कँडेल, मोहन संग्रामलगायतले कविता लेख्दा चित्रकार दीपेन्द्र बनेपालीसँगै चन्द्रा श्रेष्ठ, तथागत गौतम, राकेशचन्द्र श्रेष्ठ, दिवेश प्रधान, कला लिम्बु, राजेन्द्र याकामी, केदार माक, झलक केसी, विकास विशंखे, सर्जन ढकाल, सौरभ कोइराला, अनिल खडा, पुण्यराम माताङ र लक्ष्मीप्रसाद खोतेजाले चित्रको घुम्ती प्रदर्शनी गरे। सञ्चारकर्मी स्वयम्भु डंगोलले खोकनामा प्रचलित सिखाली जात्रादेखि दशैं नमाउने खोकनाको संस्कृतिसम्म प्रकाश पारे। स्थानिय संस्कृति र सम्पदा खोज्दै गरिएका जेसुम यात्रा श्रृंखला अन्र्तगतका चित्रहरूको छिट्टै एकमुष्ट प्रदर्शनी गर्ने जेसुमकी संयोजक अनिता लामाले बताइन्।

प्रकाशित: ६ असार २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App