१५ चैत्र २०८० बिहीबार
कला

पौभाका चम्किला तारा

नेपाल आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा ललितकला प्रदर्शनी चलिरहेको छ। त्यसको भुइँतलामा कलाकार रवि श्रेष्ठको एउटा पौभा चित्र प्रदर्शित छ। त्यसमा एउटै क्यानभासमा अमिताव, रत्नसंभव, वैरोचना, शाक्यमुनि बुद्ध, अवछ्योव, अमोकसिद्धि र बोधिसत्वका चित्र छन्। स्टोन कलरबाट कोरिएका चित्रमा परम्परागत नेवार शैली झल्किन्छ।

सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेर स्वयम्भू काठमाडौंमा आउँदा उनको साथमा बोधिसत्व पनि थिए। उनले बोधिसत्वलाई पञ्चतत्वबारे सुनाएको सन्दर्भ झल्काएर श्रेष्ठले चित्रको शीर्षक राखेका छन्– ज्योतिरूप साक्षात्कार।

यही चित्रले परम्परागत विधामा राष्ट्रिय ललितकला पुरस्कार– ०७६ प्राप्त गर्‍यो। नगद ६० हजार रूपैयाँसहित सम्मानित हुँदा कलाकार श्रेष्ठ हौसिएका छन्। ‘वर्ष दिन लगाएर बनाएको चित्र पुरस्कृत भयो,’ उनी भन्छन्, ‘जीवनभर कलामै समर्पित हुन्छु ।’ 

विशेषतः पौभा कलामा हिन्दू र बुद्ध धर्मसँग सम्बन्धित चित्र बनाइन्छ। देवदेवीका पृष्ठभूमिमा विभिन्न बुट्टा कुँदिएको हुन्छ। सानैदेखि देवदेवीका चित्र बनाउन रुचाउने श्रेष्ठले १२ वर्ष भयो पौभामा मन दिन थालेको।

विशुद्ध नेपालीपन झल्कने कलामा आनन्द मिल्छ। चित्रकलामा मन रमाउँछ। पौभाकलाबाहेक उनी मुहारचित्र र अन्य स्केच बनाइरहन्छन्। कहिले पानी रंगमा खेल्छन् त कहिले तैल रंगमा अनि कहिले एक्रेलिक रंगमा। मनले चाहेका चित्र बनाउँछन्। सिर्जनात्मक काम गर्ने भएकाले ती  चित्र किन्नेहरू घरमै आइपुग्छन्। भन्छन्, ‘पैसाको लागि होइन, आत्मसन्तुष्टिका लागि चित्र बनाउँछु ।’ 

काठमाडौंको टोखामा जन्मे/हुर्केका श्रेष्ठले कलामा स्नातक गरेका छन्। त्यसबाहेक ५ वर्ष उनले पौभा कला सिकेर आत्मविश्वास बढेपछि यसमा रचनात्मक काम गर्दै आएका छन्। अचेल उनी कलाकार श्रीजन राजभण्डारीसँग सिक्दै छन्। त्यसो त उनी स्कुले जीवनदेखि नै चित्र बनाउँथे। चित्र उनको शोख। समय क्रममा यसैले दालभात पनि खुवाउँदै छ।

श्रेष्ठसहित अरू धेरै कलाकारका चित्र र मूर्ति अवलोकन गर्न पाइन्छ आर्ट काउन्सिलमा। निःशुल्क प्रदर्शनी जेठ २२ गतेसम्म चल्नेछ। परिवार र साथीसंगीसहित प्रदर्शनीमा रमाउन सकिन्छ ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App