४ वैशाख २०८१ मंगलबार
कला

डबली द स्पेस : कफीको स्वादसँगै पुस्तक पठन

डबली द स्पेसमा ‘नेपाली उपन्यासमा बसाइँसराई दुःखदेखि दुःखसम्म’ पुस्तकका बारेमा चर्चा गर्दै लेखक जनकराज सापकोटा (बीच), समालोचक डिआर पोखरेल र शारदा क्षेत्री। तस्विरः सविता/नागरिक

चितवन - समाजशास्त्र विषय प्राध्यापन गर्ने शारदा क्षेत्री प्राध्यापन पेशा छाड्नै परे पनि बौद्धिक जमातसँग साक्षात्कार भईरहने काम गर्न चाहन्थिइन्। त्यसैले उनले पारिवारिक व्यवसायको रूपमा डबली द स्पेस खोलिन्। काठमाडौंलाई कर्मथलो बनाएकी उनलाई नेवारी समुदायले प्रयोग गर्ने डबली शब्दले मन छोयो। नेवार समुदायका मानिस छलफल, बैठक गर्नका लागि डबलीमा जम्मा हुने परम्परागत प्रचलन थाहा पाएकी शारदाले व्यवसायलाई नाम दिन यही डबलीलाई नै रोजिन्।

उनले नयाँ कर्म गर्न जन्मदेखि उच्च शिक्षा अध्ययन गर्दासम्म समय बिताएको ठाउँ चितवन रोजिन्। व्यवसाय सुरु गर्नुअघि काठमाडौंमा नै बसोबास गरेपनि उनी भरतपुर महानगरपालिकास्थित नारायणपुरकी बासिन्दा भईसकेकी थिईन्। त्यसले पनि उनलाई भरतपुरमा काम गर्न प्रेरित ग¥यो। काठमाडौंमा संस्कार बनिसकेको कफीसँगै किताबको शैलीलाई पछ्याउँदै उनले भरतपुरमा डबली खोलिन्। ‘एउटा प्यासनसँगै पारिवारिक व्यवसाय गर्ने सोच आउँदा डबली तयार भयो’, उनी भन्छिन्, ‘पार्टटाईमका रूपमा पढाउने काम गर्ने म किताब र बौद्धिक समुदायभित्रै काम गर्न चाहन्थें।’

डबलीको मेनू कफी र फास्टफूडमा मात्र सीमित छैन्। त्यहाँ रिडिङ रुम र स–सानो पुस्तकालयमा राखिएका किताबले पनि डबलीको सुन्दरतालाई टेवा पु¥याएको छ।

गत वर्षको वैशाख १५ गतेबाट उनले भरतपुरमा डबलीलाई अघि बढाएकी छन्। डबलीको मेनू कफी र फास्टफूडमा मात्र सीमित छैन्। त्यहाँ रिडिङ रुम र स–सानो पुस्तकालयमा राखिएका किताबले पनि डबलीको सुन्दरतालाई टेवा पु¥याएको छ। डबली नयाँ प्रकाशित भएका किताब, लेखक र समसामयिक विषयका विज्ञसँग साक्षात्कार गर्ने थलो पनि बनेको छ। काठमाडौंमा पुस्तकप्रेमीहरू माझ लोकप्रिय बन्दै गरेको कफी पिउँदै पढ्ने संस्कृतिलाई पछ्याउँदै उनले भरतपुरमा त्यो संस्कृतिलाई फैलाउन खोजिन्। शारदाले भरतपुरमा सुरु गर्दा नयाँ पनि हुने र चिरपरिचित स्थान पनि भएकाले भरतपुर रोजेको बताइन्।

डबलीमा शारदा एक्ली छैनन्। उनलाई श्रीमान् इन्द्रध्वज क्षेत्री र देवर जीवनको पनि साथ छ। लेखक, विज्ञसँग साक्षात्कार गर्ने मेसो तीनैजनाको छलफलबाट मिलाउँछन्। साक्षात्कार, पुस्तक चर्चालाई शारदाले नै चलाउँछिन्। पुस्तक पढ्न रुचाउने उनी पुस्तक लेखनका पक्ष मात्र नहेरी समालोचनात्मक रूपमा अध्ययन गर्छिन्। आफूलाई मन परेका पुस्तक डबलीमा आइपुग्ने पाठकलाई पनि ‘रिफर’ गर्छिन्। महिनामा दुईवटासम्म पुस्तक र समसामयिक विषयमा चर्चा गर्ने गरि सुरु गरिएको डबलीमा त्योभन्दा धेरै संख्यामा चर्चा, छलफल र बहस हुने गरेको छ।

केही संघसंस्थाहरूले पनि पुस्तक चर्चा, समसामयिक विषयमा छलफल, साहित्यवाचनका कार्यक्रम गर्न डबलीलाई रोज्ने गरेका छन्। ‘धेरैवटा संघसंस्थाले डबलीको स्पेसको सदुपयोग गर्न थालेका छन्’, उनले भनिन्, ‘छलफल, बैठक र सानो समूहमा गरिने साक्षात्कार कार्यक्रम गर्न डबली आइपुग्ने समूह पनि बढ्दैछन्। कफी पिउनको लागि युवा समुदाय धेरै आउँछन्। पुस्तक पढ्ने र नयाँ पुस्तकको बारेमा जानकारी लिन यहाँ बैंक, स्वास्थ्य क्षेत्रमा काम गर्ने, साहित्यकार, विद्यार्थीहरू आईपुग्छन्। डबलीले पाठकलाई पुस्तक पनि उपलब्ध गराउँछ।’

शारदा केही डबलीमा नै पुगेर, केहीले अनलाइन र फोनमार्फत पुस्तकको अर्डर पनि गर्ने गरेको बताउँछिन्। पुस्तकको बारेमा चासो दिने र खोजी गर्ने जमात केही बढ्दै गएको उनलाई एक वर्षको अनुभवले त्यो आभाष दिलाएको छ। त्यो जमातभित्र महिलाको संख्या भने ज्यादै न्यून रहेको उनी बताउँछिन्। उनले एकपटक डबली पुग्ने जोकोहीले पनि त्यहाँको वातावरण र व्यवसायको उद्देश्य बारे जानकारी पाउँदा प्रशंसा गर्ने बताईन्।

डबलीलाई विस्तार गर्दै यसको शाखा काठमाडौंको बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा पनि खोलिएको छ। दुई महिनाअघि खोलिएको शाखाको व्यवस्थापन इन्द्रध्वजले हेर्दै आएका छन्। ‘काठमाडौंमा जति धेरै पुस्तकप्रतिको चासो र पढ्ने संस्कृति यहाँ छैन्’, शारदा भन्छिन्, ‘ज्ञान बढाउने किताबलाई समेटेर व्यवसाय अघि बढाईरहेकी छु। व्यवसायबाट सन्तुष्ट नै छु।’

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App