२५ श्रावण २०७७ आइतबार
कला

सांगीतिक उर्जा जगाउँदै शान्ति

‘पलेँटी’ शृंखलाको तयारीमा शान्ति ठटाल। तस्बिर : विजय राई/नागरिक

काठमाडौं - ‘पीडामा लेखिएका गीतहरू साँच्चिकै मेलोडियस् हुन्छन्। सायद मेलोडियस गीतहरू अब सुन्न पाइँदैन होला’, केही दिनअघि कालिकास्थानस्थित नेपालयमा गीत रिहर्सल गरिरहेकी गायिका र संगीतकार शान्ति ठटाल भन्दै थिइन्, ‘नयाँ पुस्ताका कलाकारले मेलोडियस गीतहरू तयार पार्न सकेका छैनन्।’ आज शुक्रबारदेखि आयोजना हुन लागेको ‘पलेँटी’ शृंखला अन्तर्गत ‘सेलिब्रेटिङ शान्ति ठटाल्स् म्युजिकल जर्नी’ कार्यक्रममा संगीतकार ठटाल गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसाथ प्रस्तुत हुँदैछिन्। चौथौ पटक ‘पलेँटी’ शृंखलामा देखिन लागेकी उनी रिहर्सलमा दुई गायिकाहरूलाई प्रोत्साहित गर्दैछिन्।

‘सन् २००६ को मार्चमा पहिलो पटक ‘पलेँटी’ शृंखलामा सहभागी हुँदा म पनि डराएको थिएँ। चौथो पटक नयाँ सांगीतिक उर्जासहित देखिँदैछु। यसपटक मैले संगीत दिएका गीतहरूमा गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले स्वर दिँदैछन्’, दार्जिलिङे लवज मिसाउँदै संगीतकार ठटालले भनिन्, ‘पुराना कलाकारलाई खोजेर ‘पलेँटी’ शृंखलामा ल्याउन लागि परेको आयोजक नेपालयप्रति आभारी छु।’

दार्जिलिङमा हुने सांगीतिक गतिविधिका कारण धेरै कलाकारहरू जन्मिए । कोही नेपाल आएर सक्रिय भए । कोही त्यतै बसेर काम गरे । कालजयी आधुनिक संगीत तयार गर्न सबैको योगदान उत्तिकै छ ।

आठ दशक पार गरिसकेकी ठटालको संगीतप्रतिको जोस र अनुहारमा चमक प्रस्ट देखिन्छ। दार्जिलिङको चोकबजारमा जन्मिएकी उनी दस सन्तानमध्ये काइँली छोरी हुन्। आधुनिक नेपाली संगीतको विकासका लागि दार्जिलिङ महत्वपूर्ण रहेको उनको बुझाई छ। ‘दार्जिलिङमा हुने सांगीतिक गतिविधिका कारण धेरै कलाकारहरू जन्मिए। कोही नेपाल आएर सक्रिय भए। कोही त्यतै बसेर काम गरे’, उनी भन्छिन्, ‘कालजयी आधुनिक संगीत तयार गर्न सबैको योगदान उत्तिकै छ।’ सन् २०१२ को ‘पलेँटी उत्सव’ उनका लागि अविष्मरणीय रह्यो। ‘यसमा मेरो पनि प्रस्तुति रहेको थियो। स्टेजमा पर्दा लगाइएको थियो। माइकचाँहि अन रहेछ। केही डराएजस्तो भएकाले ‘हे भगवान’ भनेकी थिएँ। माइक अन रहेछ भन्ने कुरा दर्शकहरू हाँसेपछि थाहा भयो। केहीबेर लाज लागेको थियो। त्यसबेला म सन्तोष भएर फर्किएको थिएँ’, उनले भनिन्।

कक्षा आठमा पढ्दै गर्दा उनी सन् १९५६ मा ‘रूपकथा’ नामक नाटकमा गीत गाउने अवसर पाइन्। सुरिलो स्वरकी धनी उनी गीत रेकर्ड गर्न कोलकाता पुगिन्। त्यसबेला कोलकातामा हुने सांगीतिक माहोलबाट प्रभावित भएकी उनले औपचारिक शिक्षालाई छाडेर रवीन्द्र भारती विश्वविद्यालयमा शास्त्रीय संगीत र गायनमा स्नातक अध्ययन सुरु गरिन्। ‘तीन वर्षको अध्ययन सकेर दार्जिलिङ फर्केपछि वेस्ट बंगाल सरकारले खोलेको सांस्कृतिक संस्थामा संगीतकार अम्बर गुरुङ, गोपाल योञ्जन, इन्द्र थपलिया र रञ्जित घिसिङसँग मिलेर काम गर्ने अवसर मिलेको थियो’, उनले सुरुवाती दिन सम्झिइन्।

दार्जिलिङमा सन् १९५० को दशकमा हिमालय कला मन्दिरकी मुख्य सक्रिय गायिकासमेत रहेकी उनी सन् १९५७ मा संगीतबारे रुची राख्ने हिरासिंह गजमेर, नविन बर्देवा, मानध्वज गुरुङ, दलसिंह गहतराजलगायतले सुरु गरेको नेपाल संगीत प्रतियोगिताले अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, दिलमाया खाती र शरण प्रधानजस्ता प्रतिभाशाली स्रष्टाहरू जन्माएको बताउँछिन्। लोकगीत, लोकनृत्य, आधुनिक गीत, वाद्यवादन, युगल गीत र शास्त्रीय संगीत विधामा उत्कृष्ट कलाकार छनोंट हुने नेपाल संगीत प्रतियोगिता हाल ‘स्वरश्री’ नामबाट चिनिन्छ।

परिवारले स्कुले पढाई सिध्याउन जोड दिएपछि उनले औपचारिक रूपमा बीएसम्मको अध्ययन पूरा गरिन्। सन् १९७८ मा उनले प्रताप सुब्बाको निर्देशनमा बनेको फिल्म ‘परालको आगो’मा संगीत दिइन्। आफ्नो भाइको साथीले संगीतकारको रूपमा काम गर्न आग्रह गरेपछि उनले नाइँ भन्न सकिनन्। ‘यो फिल्ममा आवद्ध अधिकांश कलाकार र प्राविधिकहरू दार्जिलिङे थिए। काम गर्न अझ सजिलो भएको थियो। त्यसपछि सन् १९८२ मा बनेको फिल्म ‘बाँच्न चाहनेहरू’ मा पनि संगीत दिएकी थिएँ’, उनले सम्झिइन्।

एक्कासी संगीतको सक्रियताबाट टाढिएर सन् १९७७ मा उनी सिक्किमको सेन्ट्रल गभर्मेन्ट स्कुलमा संगीत शिक्षकको रूपमा काम गर्न पुगेकी थिइन्। त्यसको दुई वर्षपछि सिक्किम सरकारको कल्चरल डिपार्टमेन्टको निर्देशकको रूपमा काम गरिन्। उनले सिक्किममा केन्द्रित मुख्य तीन जाति ः लेप्चा, भुटानी र नेपालीहरूको कला संरक्षणमा काम गरेकी थिइन्। त्यसको गीत र नाट्य शाखामार्फत विभिन्न गतिविधि सञ्चालन हुने गरेको थियो।

सन् १९७७ तिर मन्दिप लामा सिक्किमको सेन्ट्रल गभर्मेन्ट स्कुलमा ठटाललाई भेट्न पुगे। मन्दिप गीति नाटक ‘मुनामदन’ मञ्चनका लागि उनलाई गीत तयार गर्न अनुरोधसहित त्यहाँ पुगेका थिए। ‘फुर्सद निकालेर संगीत तयार भयो। गीति नाटक मञ्चनको क्रममा निर्देशक खोइ भन्दा उल्टो मलाई नै त्यो जिम्मेवारी दिइयो। ‘मुनामदन’को ओरिजिनल ट्युनभन्दा नयाँ ट्युन हालेको थिएँ। नाटक हाउसफूल भएको कुरा पछि पो थाहा भयो’, उनले भनिन्। सन् २००२ मा अवकास भएर दार्जिलिङ फर्किएकी उनको सांगीतिक यात्रा अझ सक्रिय भएको छ।

कुराकानीलाई बीचमा रोकेर उनले सांगीतिक धुन सुरु गरिहालिन्, ‘आँखामा अल्झेर रात बित्यो, निन्द्रा हरायो।’ उनले ‘सम्हालेर राख’, ‘मेरो दुःखी मन’, ‘मायालुले सम्झे कि कसो’, ‘उडी जाउँ भने म पन्छी होइन’, ‘चौबन्दीको तुनामा’ र ‘आकाश झुक्यो’ लगायतका कालजयी गीत गाएकी छन्। ठटालको सांगीतिक यात्रामा आधारित रहने ‘पलेँटी’ शृंखलामा नयाँ र पुराना गीतहरू प्रस्तुत हुनेछन्। गीतकारहरू ईश्वर बल्लभ, सानुभाइ शर्मा, नोर्देन रुम्बा र आभाषलगायतको गीतहरू प्रस्तुत हुनेछन्।
कालिकास्थानस्थित नेपालयको आरशालामा आयोजना हुने ‘पलेँटी’ शृंखलामा शान्ति ठटाल र उनको टोलीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्। ‘पलेँटी’ को यो शृंखला तीन दिन चल्नेछ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App