५ वैशाख २०८१ बुधबार
कला

सम्मानको रकम मानव सेवामा

काठमाडौं – कलाकार मदनकृष्ण श्रेष्ठले आफुले सम्मानस्वरूप पाएको ५० हजार रुपैयाँ मानव सेवा आश्रमलाई दिएका छन्। रेडियो अन्नपूर्ण नेपालले पाँचौ वार्षिक उत्सवका अवसरमा कलाकार श्रेष्ठलाई मंगलबार प्रदान गरेको ‘दीर्घसाधना सम्मान’ अर्पण सम्मानवापत प्राप्त रकम आश्रमलाई दिएका हुन्।

कलाकार श्रेष्ठले मानव सेवा आश्रमले दुःखी–गरिबहरूको सेवाका लागि गरिरहेको कामबाट प्रभावित भएर आफूले केही दिनअघि ५० हजार रुपैयाँ सहयोग गर्ने वाचा अनुरूप सहयोग गरेको बताए। ‘वाचाको रकम कसरी दिने होला भनेर सोच्दै थिएँ’, श्रेष्ठले भने, ‘यही बेला मलाई सम्मानका लागि योग्य ठानेर रेडियो अन्नपूर्णले सजिलो बनाइदियो।’ श्रेष्ठले मंगलबार आफूलाई सम्मान गर्न जमलमा आयोजित समारोहमै रकम आश्रमका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए।

‘मेरो कामलाई सम्झिनुभयो। सम्मान गर्नुभयो। यसका लागि सबै सहयोगी मनहरूलाई धन्यवाद छ’, श्रेष्ठले भने, ‘कुनै पनि सहयोग तथा सम्मानको मूल्य पैसामा आँकलन गर्न सकिँदैन। प्राप्त सम्मानपत्र मेरा लागि अमूल्य छ।’ उनले जनआन्दोलन परिचालनका लागि सहयोग संकलन गर्ने क्रममा एकजना जोगीले गरेको सहयोग रकम र प्रसङ्ग आफूले सधैं सम्झिने गरेको बताए। ‘त्यो बेला धेरैले धेरै थरिको सहयोग गरे। सक्नेले लाख रुपैयाँ पनि दिए। त्यही क्रममा एकजना योगीले पाँच रुपैयाँ सहयोग गरेका थिए,’ श्रेष्ठले भावुक हुँदै भने, ‘मलाई त्यो सहयोग निकै ठूलो र महत्त्वपूर्ण लाग्यो।’ सामाजिक अभियन्ताका रूपमा समेत परिचित कलाकार श्रेष्ठले मन्तव्य सुरु गर्नुअघि आफ्नो काव्य रचना सुनाएका थिए–

‘धेरै माया नदेऊ हजुर मलाई भार भो।
लिन सजिलो भो माया तिर्न गाह्रो भो।
सबै सबैका साथ पाई जीवन साह्रो भो।
साथ पाउन सजिलो भो छोड्न गाह्रो भो।’

कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, अग्रज नाट्यकर्मी अशेष मल्ल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, अन्नपूर्ण पोस्टका सम्पादक हरिबहादुर थापा, अन्नपूर्ण रेडियोका स्टेसन म्यानेजर ठाकुर बेल्वासेलगायतले कलाकार श्रेष्ठ सबै नेपालीको मनले सम्मान गरेको व्यक्ति भएको र उनको योगदान इतिहासले सधैं सम्झिरहने चर्चा गरेका थिए।
रेडियोले हरेक वर्ष समाजको सकारात्मक रूपान्तरणका लागि विशिष्ट योगदान दिने एकजना व्यक्तिलाई वार्षिक उत्सवका अवसरमा सम्मान गर्दै आएको छ। कार्यक्रममा रेडियो अन्नपूर्णमा काम गर्ने पत्रकारलगायतलाई उत्कृष्ट कार्य सम्पादन पुरस्कार दिइएको थियो।

प्रकाशित: १५ जेष्ठ २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App