१६ चैत्र २०८० शुक्रबार
कला

‘रातो टिका निधारमा’ घोषणा

फिल्म ‘रातो टिका निधारमा’का कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह(बायाँ), नवनायक अंकित शर्मा र नायिका नीता ढुंगाना(दायाँ)। तस्बिरः नागरिक

काठमाडौं – अघिल्लो फिल्म ‘जय भोले’को सफलतापछि निर्माता  तथा निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘रातो टिका निधारमा’को निर्माण घोषणा गरेका छन्। आफ्नै लेखन र निर्देशन रहने यो फिल्ममार्फत छोरा अंकित शर्मालाई नायकका रूपमा ‘डेब्यू’ गराएका छन्।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा लेखक तथा निर्देशक शर्माले झापाबाट आगामी जेठ १० गतेबाट छायांकन सुरु हुने जानकारी दिए। फिल्ममा अंकितसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, रविन्द्र झा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको अभिनय रहनेछ।

निर्देशक शर्माका अनुसार फिल्ममा नायक अंकित शर्माले नायिका साम्राज्ञी र नीतासँग अनस्क्रिन रोमान्स गर्नेछन्। फिल्म ‘ड्रिम्स’बाट फिल्मी अभिनयमा ‘डेब्यू’ गरेकी साम्राज्ञी पछिल्लो रिलिज फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ सम्म आइपुग्दा सहरीया युवतीकै भूमिकामा अभिनय गरेकी थिइन्। तर अशोकको फिल्ममा उनी पहिलोपटक गाउँले युवतीको भूमिकामा देखिँदैछिन्।

किरण शर्मा र कृति शर्माको लगानी रहने फिल्ममा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, मित्रदेव गुरुङको सम्पादन, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहने छ। फिल्म आगामी दशैंमा रिलिज हुनेछ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App