coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘वीर विक्रम–२’ टोली पोखरामा

पोखरा– फिल्म ‘वीर विक्रम–२’ आगामी जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रचारप्रसार गर्दै टोली यतिबेला देश दौडाहाको क्रममा पोखरा आइपुगेको छ। पोखरामा सञ्चारकर्मीसँग छलफल गर्दै फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताए।

पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङ फिल्मका मुख्य कलाकार हुन्। तीबाहेक देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारीको पनि अभिनय रहेको छ। प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन्।

‘पिरतीको मीठो तिर्सना’ रिमिक्स गीत को कारण चर्चामा आएको फिल्म ‘वीर विक्रम–२’ लाई गीतलाई जस्तै दर्शकले मन पराउनेमा आफू आशावादी रहेको निर्देशक चाम्सले बताए। ‘वीर विक्रम–१ को सिरिजको रूपमा यो फिल्म बनाएका हौं। पहिलो फिल्म जस्तै दोस्रो पनि दर्शकले रुचाउनेछन,’ उनले भने, ‘पछिल्लो समय धेरै नेपाली फिल्म उत्कृष्ट रहेकोमा यो पनि उत्तिकै उत्कृष्ट बनाएको अनुभूति गरेका छौं।’

ट्रेलरबाटै फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको प्रस्ट हुने उनले बताए। फिल्ममा वीरको रूपमा पल शाह र विक्रमको रूपमा नाजिर हुसेनले अभिनय गरेका छन्। कलाकार बुद्धि तामाङले वीर विक्रम–१ मा बाघबहादुरको भूमिका निभएको त्यो अभिनयलाई धेरैले रुचाएको बताए। ‘पहिलो फिल्म धेरै दर्शकले रुचाएका छन्। दोस्रो फिल्मलाई पनि उत्तिकै रुचाउने विश्वास छ,’ उनले भने।

अर्का कलाकार नाजिर हुसेनले हरेकपल्ट नयाँ चलचित्रमा नयाँ भूमिकामा अभिनय गर्दै आएकाले दर्शकले रुचाउने विश्वास रहेको बताए। यो फिल्ममा पनि अघिल्लामा भन्दा केही नयाँ अभिनय गरेको उनले बताए। नायिक वर्षाले चलचित्रबाट आफू आशावादी बताइन्। ‘फिल्मको आउटपुट राम्रो हुनेमा म विश्वस्त छु,’ उनले भनिन्, ‘आफूभन्दा अनुभवी र अग्रज कलाकारसँग अभिनय गर्न पाएकाले सिक्ने मौका पाएकी छु।’ नायक पल शाहले पारिवारिक चलचित्र भएकाले परिवार नै बसेर हेर्न मिल्ने फिल्म बनेको बताए।

फिल्ममा कथा प्रदीप भारद्वाजको रहेको छ भने चर्चित निर्देशक मिलन चाम्सले फिल्मलाई निर्देशन गरेका छन्। फिल्म वीर विक्रम–२ भए पनि यो अघिल्लो सफल फिल्म वीर विक्रम–१ को सिक्वेल भने होइन। फिल्ममा अर्पण सापकोटा निर्माताको रूपमा रहेका छन्। कमेडी, एक्सन, प्रेम, रोमान्सको मिश्रणमा फिल्म बनेको निर्माताले बताएका छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App