coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लोपोन्मुख भाकामा सुनिए पदम

हङकङमा लोपोन्मुख किराँती भाका प्रस्तुत गर्दै गायक तथा संगीतकार पदम थुलुङ राई । तस्बिर: दमन/नागरिक

खोटाङ- खोटाङका गायक तथा संगीतकार पदम थुलुङ राई हङकङबासी नेपालीमाझ लोपोन्मुख किराती भाका लिएर हालै प्रस्तुत भएका छन्। सांगीतिक कार्यक्रमका लागि हङकङ पुगेका राईले किराँती समुदायमा रहेका लोपोन्मुख भाकालाई गीतमार्फत प्रस्तुत गरेका हुन्।

खोटाङ समाज हङकङको निम्तोमा ‘हलेसी साँझ–४’ नामक सांगीतिक कार्यक्रममा पुगेका राईलाई थुलुङ राई सामा हङकङले ‘लोपोन्मुख किराती सांगीतिक प्रस्तुती’ शिर्षकमा एकल प्रस्तुतिका लागि स्टेजमा उतारेको थियो। लोपोन्मुख लोकलयको खोज तथा संकलनमा क्रियाशिल राईले किराँती समुदायमा रहेका लोपोन्मुख सात भाकाहरू सुनाएका थिए।

राईले ‘रामदले भाका’, ‘मारुनी भाका’, ‘आयोसा भाका’, ‘लहरे भाका’, ‘गोठाले भाका’, ‘ठाडो भाका’, ‘भाका गीत’लगायतको भाका प्रस्तुत गरेर दर्शकलाई झुमाए।

आफ्नो संकलनमा रहेका लोपोन्मुख गीतमध्ये राईले ‘रामदले भाका’, ‘मारुनी भाका’, ‘आयोसा भाका’, ‘लहरे भाका’, ‘गोठाले भाका’, ‘ठाडो भाका’, ‘भाका गीत’लगायतको भाका प्रस्तुत गरेर दर्शकलाई झुमाए। हङकङमा पुगेर लोपोन्मुख भाकाहरूलाई प्रस्तुत गर्दा दर्शक खुसी भएको राईले बताए। ‘म पुराना भाकाहरू जति गाउँदै जान्थें। दर्शकहरूमा उत्साह थपिँदै जान्थ्यो’, राईले भने, ‘मैले हार्मोनियम मात्रै बजाइदिन्थें। उहाँहरू आफँं शब्द थप्दै र गाउँदै नाच्नुहुन्थ्यो।’

हङकङमा राईले सुनाएका पुराना भाका सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुंगा, उदयपुरलगायतका पूर्वी पहाडी क्षेत्रमा प्रचलित भए पनि हाल लोपोन्मुख अवस्थामा छन्। उनलाई हङकङमा दिनेश थुलुङ राईलगायतले वाद्यवादनमा सहयोग गरेका थिए। कार्यक्रममा राईले अधिकांश गीत गणेशकुमार राईको शब्द र दशरथ राईको शब्दका गाएका थिए।

कुनै समय पूर्वी नेपालको किराँती समाजमा निकै प्रचलनमा रहेका भाकाहरू अहिले लोप हुन लागेकोप्रति चिन्ता व्यक्त गर्दै गायक राई ती भाकाहरूको संरक्षण र अनुसन्धानमा लागि परेका छन्। शास्त्रीय संगीतमा लामो समय साधना गरेका राई नेपालका यी लोकभाकाहरूलाई लिएर मात्रै अन्तर्राष्ट्रिय संगीतको क्षेत्रमा नेपाली संगीतको मौलिक पहिचान बन्ने बताउँछन्।
गणेशकुमार राईको शब्द संयोजनमा सरला राईसँग उनले गाएको ‘माया छ रुमालैमा’ बोलको लोक भाका पूर्वमा निकै लोकप्रिय छ। त्यसैको निरन्तरताका रूपमा उनीहरू लोक भाकाहरूको एलबम प्रकाशनको तयारीमा छन्।

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App