२३ श्रावण २०७७ शुक्रबार
कला

‘बक्स अफिसबाट कसैलाई घाटा गराउँदिन’

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराई पदबहाली पछि हस्ताक्षर गर्दै। तस्बिर सौजन्यः आर्यन बिमली।

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले सोमबार पदबहाली गरेका छन्। बोर्डको कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराईले पत्रकार तथा सञ्चारकर्मीमाझ आफ्ना केही महत्वकांक्षी योजनाहरू रहेकाले त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान जाने बताए।

उनले फिल्म क्षेत्रमा ३० वर्षदेखिको आफ्नो सक्रियतालाई अझ क्रियाशिल बनाउन दृढ रहने बताए। ‘मेरा केही महत्वकांक्षी बुँदाहरू छन्। ती बुँदाहरू मैले नेपाल सरकार समक्ष बुझाईसकेको छु। ती बुँदाहरू अहिले नै सार्वजनिक गर्दा काम गर्न केही कठिनाई होला’, अध्यक्ष भट्टराईले भने, ‘राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनमा आएको भए हाम्रा लागि धेरै राम्रो हुन्थ्यो। तर त्यो कार्यान्वयन राम्ररी हुन सकेको छैन। म नीति कार्यान्वयनमा प्रतिबद्ध छु।’

नेपाली फिल्मको प्रवद्र्धनमा पूर्ण ध्यान हुनेछ। विदेशी फिल्मको हकमा कोटा प्रणालीबाट प्रदर्शन गराइनेछ। नेपाली मौलिकपनमा बनेका फिल्म विशेष प्राथमिकतामा हुनेछन्।

अध्यक्ष भट्टराईले गत साउनबाट सुरु भएको बक्स अफिस प्रणालीको प्रभावकारी कार्यान्वयन भइनसकेको अवस्थामा त्यसको कार्यान्वयनमा आफुले जोड दिने बताए। ‘उपत्यकाका केही सिंगल थिएटर र मल्टिप्लेक्समा बक्स अफिस लागु भएको भनिए पनि त्यहाँबाट सोचेजस्तो काम हुन नसकेको गुनासो निर्माताहरूबाट आइरहेको छ। उपत्यका बाहिरका थिएटरमा पनि कार्यान्वयन गर्ने योजना रहे पनि यसअघि त्यो हुन सकेको छैन’, उनले भने, ‘त्यसको प्रभावकारी कार्यान्वयनमा मेरो प्राथमिकता हुनेछ। बक्स अफिसबाट कसैलाई घाटा गराउँदिन।’

अध्यक्ष भट्टराईले लामो समयदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’को कामलाई चाँडै निरन्तरता दिने बताए। उनले काठमाडौं नजिक पायक पर्ने स्थानमा सुविधासम्पन्न फिल्म स्टुडियो निर्माणको लागि योजना बनाउने काम आफ्नो कार्यकालमा हुने खुलाए।

यसअघि चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा पार्टीबाट नियुक्ति हुने गरेको आरोप लागिरहँदा भट्टराईले आफु पार्टीको कार्यकर्ताका रूपमा काम नगर्ने दाबी गरे। अध्यक्ष भट्टराई एमाले निकट नेपाल जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष पनि हुन्। ‘म पार्टीको कार्यकर्ताका रूपमा बोर्डमा रहने छैन। चलचित्रसँग सम्बन्धित संस्थामा हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्दिन्’, उनले भने, ‘चलचित्र क्षेत्रलाई अहित हुने कुनै पनि काम गर्नेछैन।’
भट्टराईले विदेशी फिल्मलाई नेपालमा सकारात्मक विभेद नीति लिएर प्रदर्शन गराउने योजना आफ्नो रहेको खुलाए। ‘नेपाली फिल्मको प्रवद्र्धनमा पूर्ण ध्यान हुनेछ। विदेशी फिल्मको हकमा कोटा प्रणालीबाट प्रदर्शन गराइनेछ। नेपाली मौलिकपनमा बनेका फिल्म विशेष प्राथमिकतामा हुनेछन्’, उनले भने। भट्टराई नेपाल चलचित्र निर्माता संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष पनि हुन्। कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले विकास बोर्ड र चलचित्रकर्मीबीच दुरी बढ्दै गइरहेको अवस्थामा अनुभव फिल्मकर्मीलाई सरकारले नियुक्त गरेकोमा आभार व्यक्त गरे। उनले चलचित्र निर्माता संघ व्यक्तिगत स्वार्थका लागि साथ नदिने खुलाउँदै भट्टराई फिल्म क्षेत्रको बलियो जग भएकाले त्इो जगलाई नौ रेक्टर स्केलको भूँइचालो आए पनि नढाल्ने दाबी गरे।

बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलले गत माघ २२ गते राजीनामा बुझाएपछि झण्डै अढाई महिनादेखि चलचित्र विकास बोर्ड अध्यक्षविहिन भएको थियो। गत चैत ४ गते बसेको मन्त्रीपरिषदको बैठकले भट्टराईले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। अध्यक्ष भट्टराई आगामी चैत २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘यात्राः अ म्यूजिकल भ्लग’का निर्माता पनि हुन्।

प्रकाशित: १२ चैत्र २०७५ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App