८ वैशाख २०८१ शनिबार
कला

खप्तड घुमाउने पुस्तक

काठमाडौं–पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले कवि/लेखक तथा साइक्लिष्टका अनुभव समेटेर ‘खप्तड काव्य–यात्रा’ नामक पुस्तक प्रकाशन गरेको छ। उसले गएको जेठमा आयोजना गरेको खप्तड काव्य–यात्रामा सहभागी भएकाहरुले विभिन्न सञ्चार माध्यममा प्रकाशन गरेका यात्रा निवन्धहरूको संग्रह गरिएको हो।

नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको यात्रामा २७ जना सहभागी थिए। पुस्तकमा काव्य यात्रीका अनुभव पढ्दा रोमाञ्चक अनुभव हुन्छ। साथै खप्तड घुम्न चाहनेका लागि यसले गाइड बुकको काम गर्ने कन्सेप्ट नेपालका संयोजक पवन शाक्य बताउँछन्। 

पुस्तकमा सुदूरपश्चिमको पर्यटन विकासमा योगदान पुर्‍याएका गोपी हमाल, अमरबहादुर शाही र कृष्णबहादुर महराको संक्षिप्त जानकारी दिइएको छ। साथै काव्य यात्राका संयोजक अमृत भादगाउँलेले ‘खप्तड राष्ट्रिय  निकुञ्ज’ शीर्षकमा खप्तड क्षेत्रको परिचय लेखेका छन्। 

यसमा त्रिवेणीधाम, सहस्रलिङ्ग, केदारढुंगा, खप्तडताल, खप्तडबाबा, साइक्लिङ, ट्राभल टिप्सबारे चर्चा गरिएको छ। यात्राकै अबसरमा कन्सेप्ट नेपालले डोटीको शैलेश्वरी मन्दिरमा तीन जना डोट्याली लोकसंस्कृतिकर्मीहरू कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई दश–दश हजार रुपैयाँसहित सम्मान गरेको थियो। पुस्तकमा उनीहरूको सचित्र वर्णन गरिएको छ।

यात्राका सहभागी साइकलेहरुले खप्तडमा साइक्लिङ पर्यटन सम्भावना अध्ययन गरेका थिए। पुस्तकमा यसबारे पनि चर्चा गरिएको छ। साइकलेहरू देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौडेल र गोपाल श्रेष्ठले साइक्लिङ पर्यटनको अध्ययन गरेका थिए।

त्यस्तै राष्ट्रगानका लेखक व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, गनेस पौडेल, तारानाथ पहारी, दीपेन्द्रसिंह थापा, घनश्याम खड्का, चन्द्र काफ्ले, आरके अदिप्त गिरी, उदय अधिकारी, सुरेन्द्र राना, हेमन यात्री, हेमन्त विवश, टोपेन्द्र शाह र अमृत भादगाउँलेका यात्रा अनुभव छ। साथै गीतकार सागर उदसाका मुक्तक र कवि निमेष निखिलको कविता पनि छन् ।   

पुस्तक पढ्दा खप्तड घुमेको अनुभव हुन्छ । पुस्तकको मूल्य २ सय २५ रुपैयाँ पर्छ ।  

प्रकाशित: ११ चैत्र २०७५ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App