६ वैशाख २०८१ बिहीबार
कला

जब प्रियंकाले छात्रालाई महिनावारीबारे शपथ गराइन्... (फाेटाे फिचर)

धनुषाधाम– ‘म महिनावारी हुँदा विद्यालय छुटाउदिनँ, महिनावारी भन्न र प्याड प्रयोग गर्न लाज मान्दिनँ’ नायिका प्रियंका कार्कीले आधारभूत निम्न माध्यमिक विद्यालयकी छात्रा नजराना खातुनलाई उच्चारण गर्न लगाइन। धनुषाको भुग्राहास्थित विद्यालयमा आयोजित समारोहमा प्रियंकाले महिनावारी र प्याड प्रयोगबारे जानकारी गराउँदै छात्रालाई सपथकै शैलीमा प्रतिबद्धता गर्न लगाइन।

प्रियंका प्याड, झोला, डस्टबिन बोकेर सोमवार धनुषा आएकी थिइन्। उनको साथमा थिए नायक आयुष्मान देशराज जोशी र गायक सरोज ओली। उनको स्वामित्वमा रहेको आयंका फाउन्डेसनले धनुषाधामबाट ‘न महिना वारी, न महिना पारी म, म हुँ महिना भरी’ नाराका साथ महिनावारी स्वच्छता अभियान सुरु गरेको छ। आधारभूत निमावि सहित धनुषाका हरिपुर निगाहपुर मावि र आधारभूत माध्यमिक विद्यालयमा २/२ वटा शौचालयसमेत निर्माण गरिदिएको छ। फाउन्डेसनले तीन वटै विद्यालयमा दुइटा शौचालय, फल दिने ९ वटा बिरुवा, २ थान डस्टबिन, एक सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ। महिनावारी स्वच्छता अभियान देशैभर सञ्चालन हुने आयंका फाउण्डेसनकी अध्यक्ष प्रियंकाले बताइन। अध्यक्ष प्रियंकासहित फाउण्डेसनका कोषाध्यक्ष आयुष्मान र सल्लाहकार सरोजले छात्रालाई महिनावारीसम्बन्धी सचेतना अभिवृद्धि गरेका थिए। 

नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास नभएको भन्दै छात्रालाई महिनावारी भएको समयमा सरसफाइमा ध्यान दिन आग्रह गरिन्। कपडाबाट बनेको सो प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले जानकारी गराइन्। एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायत सामग्री रहेको बताउँदै प्रियंकाले प्याड प्रयोग गर्ने तरिकासमेत छात्रालाई सिकाइन्। ‘महिनावारी सबै महिलालाई हुन्छ। यो लाज मान्ने कुरा होइन। हामीले सोच परिवर्तन गर्नुपर्छ’, उनले भनिन्। 

प्रियंकालाई साथ दिँदै नायक जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए। महिनावारी भएको समयमा महिलाको पीडा कम गर्न पुरुषले पनि सहयोग गर्नुपर्नेमा जोड दिए। उनले लाज नमानी प्याड प्रयोग गर्न र सफाइ गर्न आग्रह गरे। महिला सचेतनामा आफूहरू निरन्तर लाग्ने उनीहरूको प्रतिबद्धता छ।

विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरूले विद्यालयलाई समस्यामा परेको बेला शौचालय बनाइदिएको र छात्रालाई महिनावारीबारे सकारात्मक सचेतना जगाउने कार्य गरेकोमा धन्यवाद दिए। 

धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेलले आफू महिनावारी हुँदा ११ दिनसम्म पुरुष र घाम देख्न नपाउने गरी लुकाएर राख्ने गरेको अनुभव सुनाउँदै अहिले त्यस्तो अवस्था नरहेको र लाज मान्न नहुनेमा जोड दिइन। नगरपालिकाले नै महिनावारी सचेतना अभियान सञ्चालन गरिरहेको भन्दै आयंका फाउण्डेसनले यो कार्यक्रम ल्याएकोमा प्रशंसा गरिन। फाउण्डेसनसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ। 

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले महिनावारी स्वच्छता अभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले प्रियंका र आयुष्मान प्रहरीको साझेदारी कार्यक्रमसँग आबद्ध रहेको स्मरण गर्दै यो अभियानसँगै साझेदारीलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे। 

प्रियंका र आयुष्मान सरकारको महिनावारी स्वच्छता दूत हुन्। उनीहरूलाई खानेपानी मन्त्रालयले फागुन १४ गते स्वच्छता दूत नियुक्त गरेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App