८ वैशाख २०८१ शनिबार
कला

‘रारा राष्ट्रिय नाटक महोत्सव’मा १३ नाटक

काठमाडौं – कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’मा १३ नाटक मञ्चन हुने भएका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाल’को अवधारणमा सांस्कृतिक संस्थाले आगामी फागुन २३ देखि फागुन २९ सम्म आयोजना गर्न लागेको महोत्सवमा १३ नाटक छनोट भएका हुन्।

संस्थानका महाप्रबन्धक राजेश थापाका अनुसार स्थानीय नाट्य संस्था आरंग नेपालको सहकार्यमा हुन लागेको महोत्सवमा उद्घाटनको दिन आरंग नेपालको नाटक ‘मुसल पर्व’ मञ्चन हुनेछ। ‘महोत्सवमा देशभरका नाटक मञ्चनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया पनि हुनेछन्’, थापाले भने।

संस्थानले फागुन २४ मा सोलुखुम्बु नाट्य समुह, सोलुखुम्बुको ‘आरन’ र खप्तड सांस्कृतिक मञ्च परिवारको ‘छाउ’, फागुन २५ मा मानव अधिकार मञ्च नेपालको ‘म पहिलो सन्तान किसान जन्माउँछु’, कर्णाली कला प्रतिष्ठान, सुर्खेतको ‘आमाको सपना’, फागुन २६ मा गढीमाई नाट्यकला केन्द्र, बाराको ‘दहेज आ दारु’, सुदुरपश्चिम साहित्यिक समाज कैलालीको ‘श्रीमान वीरबहादुर’ तथा फागुन २७ मा साईलेन्स एक्ट काठमाडौको ‘जिउँदो आकाश’ र कर्णाली खस सांस्कृतिक मञ्च जुम्लाको ‘फड्को’ नाटक मञ्चन हुने जनाएको छ।

त्यस्तै फागुन २८ मा मञ्जरी नाट्य समूह लमजुङको ‘नौगेडी’, शान्तिका लागि युवा सञ्जाल बर्दियाको ‘हिटवा’ तथा महोत्सवको अन्तिम दिन अर्थात् फागुन २९ मा युथ क्रियसन थिएटर पोखराको ‘घेरा’ र ‘ङ’ समूहको ‘एक बोली एक दाम’ मञ्चन हुनेछ।

अन्तरक्रिया सेसनअन्तर्गत फागुन २४ मा डा. साबित्री कक्षपतिले ‘नेपाली रंगमञ्चमा महिला रंगकर्मीको अवस्था’ र कान्छी महर्जनले ‘नेपाली रंगमञ्च प्रवृत्ति र प्रयोग’ शीर्षकमा, फागुन २५ मा प्रविण पूमाले ‘नेपाली रंगमञ्चमा व्यावसायिक विकास र चुनौती’ शीर्षकमा, फागुन २६ मा चन्द्रप्रसाद पाण्डेयले ‘वर्तमान नेपाली रंगमञ्चमा मञ्चीय प्रस्तुतिको अवस्था र चुनौती’, अशोक थापाले ‘नेपाली रंगमञ्चको वर्तमान अबस्था, चुनौती र भावी कार्यदिशा’ शीर्षकमा, फागुन २७ मा पुरु लम्सालले ‘नेपाली रंगमञ्चमा मिथक तथा सांस्कृतिक प्रभाव’ र प्रविण खतिवडाले ‘नाटक र सिनेमा अन्तरसम्बन्ध’ शीर्षकमा, फागुन २८ मा डा. अभि सुवेदीले ‘नेपाली रंगमञ्च र अन्तर्राष्ट्रिय रंगमञ्चको सम्बन्ध’ र रमेशरञ्जन झाले ‘नेपाली रंगमञ्चमा मञ्चीय प्रस्तुतिको अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

महाप्रबन्धक थापाले महोत्सवको तयारी पुरा भइसकेकोले फागुन २१ गतेसम्म सहभागीहरू सुर्खेत पुगिसक्ने बताए। ‘पछि परेको प्रदेशको रूपमा कर्णालीलाई लिइएका कारण यसपटक राष्ट्रिय नाटक महोत्सव कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न लागिएको हो’, उनले भने।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App