८ वैशाख २०८१ शनिबार
कला

डेउडामा झुम्यो काठमाडौं

काठमाडौं–पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘एकल  डेउडा गायन’ कार्यक्रममा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले शनिबार राष्ट्रिय नाचघरमा उपश्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।

त्यहाँ उनले ५ वटा ठाडी भाकाका गीत र ५ वटा दोहोरी गाइन। दोहोरीमा उनलाई पति कित्थ्या बादी र पूर्वेली गायिका झुमा लिम्बुले साथ दिएका थिए। ठाडी भाकामा उनले जिन्दगीका दुःखका कथा ओकलिन् भने दोहोरीमा रोमान्टिक स्वाद पस्किइन्। 

पचासको दशकमा लोकप्रिय गायिका बादी लामो समयपछि गायनमा फर्किएकी हुन्। आधुनिक र पम्परागत संगीतको फ्युजनसँगै डेउडा गायन हुँदा दर्शकले वान्स मोर भनिरहे। उनीहरुलाई युवा संगीतकारहरू शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीब मैनालीले साथ दिएका थिए। त्यसैगरी एउटा ठाडी गीतमा देवु वोराले भावुक नृत्य गरेर सबैको मन जिते।

कार्यक्रमको सहआयोजकमा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङमय प्रतिष्ठान पोखरा थिए। करिब दुई घन्टासम्म उत्साहपूर्ण ढंगमा गायन चलिरह्यो। कार्यक्रमको सुरुमै आयोजक कन्सेप्ट नेपालले लोकगायिका डीक्रालाई पचास हजार रुपैयाँ नगदसहित कदर पत्र प्रदान गरेको थियो। नेपाली लोकसंगीतमा अतुलनीय योगदान पुर्याएस्वरुप उनलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष पवन शाक्यले जानकारी दिए।

कार्यक्रममा लोकगायिकाको विषयमा कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशले जानकारी दिएका थिए। ‘डीक्राको स्वरमा अचम्मको जादु छ’, उनले भने, ‘बाजा बिना गाउँदा पनि समुधुर सुनिन्छ।’

लोकगायिकालाई कदरपत्र र नगद क्रमश संगीतकार बुलु मुकारूङ र कवि श्यामलले हस्तान्तरण गरेका थिए। उनीहरुले ओझेलमा परेका यस्ता स्रष्टाहरुलाई खोजीखोजी बाहिर ल्याउनु पर्नेमा जोड दिए।

गीत सुनेर भावुक बनेका दर्शकहरुले पनि हल बाहिर राखिएको चन्दा बाकसमा दान गरेका थिए। केहीले घोषणा गरेर दान गरे भने केहीले घोषणा नगरी। संगीतकार कालीप्रसाद बास्कोटाले २० हजार, संगीतकार बुलु मुकारुङले ५ हजार, पर्यटनकर्मी लिलाराम खड्काले ५ हजार दान गरे। चन्दा बाकसमा जम्मा ४३ हजार ८ सय ७० रुपैयाँ उठेको थियो।

एकल गायन सुनिरहेकी गायिका शोभा थापाले डीक्राको एउटा गीत रेकर्ड गरेर भिडियो समेत बनाउने खर्च व्यर्होने प्रतिबद्धता जनाइन्। कार्यक्रमबाट डीक्रा दम्पति हौसिएको छ। खुसीले उनीहरुका आँखा रसाएका थिए। 

स्वास्थ्यका हिसाबले डीक्राको पाठेघरको समस्या छ भने कित्थ्यालाई ब्लड प्रेसरको। कार्यक्रम सुन्न आएका सुन साइँली गीतका गीतकार हर्क साउँदले डीक्राको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यर्होने घोषणा गरेका छन्।

‘हामीले डीक्रा दिदीलाई गायनमा पुनरागमन गराउन, उहाँको प्रतिभालाई नयाँ पुस्ता माझ चिनाउन र आर्थिक सहयोग जुटाउन एकल गायन कार्यक्रम गरेका हौं’, कार्यक्रमका संयोजक अमृत भादगाउँलेले खुसी बाँडे, ‘हामीले सोचे भन्दा राम्रो भयो कार्यक्रम।’ 

निःशुल्क प्रवेश दिइएको कार्यक्रमका लागि कार्यक्रम हुनु भन्दा अगाडि विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका थिए। यसरी सहकार्य गर्नेहरुमा रैका टुर्स एण्ड टेक्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही, हिमाल डेण्टल अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्ट, मनास्लु पदमार्गका अभियन्ता लाक्पा ढुण्डुप लामा, प्रगतिशील युवा सशक्तिकरण केन्द्र जिरीका अध्यक्ष लिलाराम खड्का, रसुवा टेक्सका सञ्चालक गगनराज न्यौपाने, कैलाली विद्या निकेतन धनगढीका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह, दमौलीका गीतकार सागर उदास, चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट शंखमुलका सिइओ गणेश जोशी, सिद्धार्थ विद्यापिठ गठ्ठाघरकी प्रिन्सिपल दीपिका रिमाल थापा, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, करबाकेली इको टेकका अभियन्ता चामबहादुर पुन, डोट्याली गीतकार हर्क साउँद, द आर्ट ग्लो साइन प्रालि सोह्रखुट्टेका प्रमुख कृष्णगोपाल श्रेष्ठ लगायत छन्।

प्रकाशित: ११ फाल्गुन २०७५ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App