८ वैशाख २०८१ शनिबार
कला

‘कोरियाना गफमा’ वाग्ले

काठमाडौं – पत्रकार नारायण वाग्लेको तेस्रो कृति ‘कोरियाना कफीगफ’ पाठकमाझ आउने भएको छ। समाचार कक्षबाटै ‘कफीगफ’ सुरु गरेका वाग्लेले त्यही नामलाई लिएर तेस्रो कृति ल्याउन लागेका हुन्। पुस्तक प्रकाशक नेपालयले वाग्लेको नयाँ कृति अघिल्ला दुई उपन्यास ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ भन्दा ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुने जनाएको छ।

कान्तिपुर दैनिकको कोसेलीमा नियमित ‘कफीगफ’ मार्फत् लेखनको फरक पाटोलाई अंगालेका वाग्लेले सन् २००५ मा पहिलोपटक उपन्यास ‘पल्पसा क्याफे’ ल्याएका थिए। यो उपन्यास ३० पटक पुनःमुद्रण भइसकेको नेपालयले जनाएको छ। ‘आज डेढ दसक पछि पनि यो पुस्तक वर्षेनी तीन हजार प्रति बिक्री भइरहेकै छ,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘हाम्रो प्रकाशन इतिहासमै यो आजसम्मकै उल्लेखनीय उपलब्धि हो।’ वाग्लेको कृतिले ‘मदन पुरस्कार’समेत पाइसकेको छ। नेपालमा चलेको दसवर्षे द्वन्द्वमा बाँचेका युवापुस्ताको कथा प्रस्तुत गरिएको ‘पल्पसा क्याफे’ पछि उनले मधेस विद्रोहको बाछिटालाई दोस्रो उपन्यास ‘मयुर टाइम्स’मा लेखे।

यो ‘कफीगफ’ केहि वर्षअघि वाग्ले कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको देन रहेको नेपालयले जनाएको छ। लेखक वाग्लेले आख्यान वा गैर आख्यान जे भएता पनि यो साहित्यिक सिर्जना नै रहेको बताए। ‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनले भने, ‘आख्यानात्मक जीवनी मात्र होइन। हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं। यस्तो अवस्थामा पाठकले ‘कोरियाना’ पढ्दा उपन्यासकै स्वाद पनि पाउन सक्नेछन्।

देशभरका सबै जसो महत्वपुर्ण पुस्तक पसलहरूमा तत्कालै पुस्तकलाई उपलब्ध गराउने पब्लिकेशन्स नेपालयले जनाएको छ। यसबाहेक मुलुकभरि अनलाइन विक्री वितरण सेवा अनि संसारभरि अमेजनको ‘प्रिन्ट अन डिमान्ड’ मार्फत् पनि उपलब्ध गराइनेछ। फेब्रुअरीको दोश्रो साता सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य हाललाई बाक्लो गाताको चार सय ९५ रुपैयाँ तय गरिएको छ।

प्रकाशित: १८ माघ २०७५ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App