coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

सडक नाटक ‘मेलमिलाप’को एक दृश्य । तस्बिर : नागरिक

बनेपा – सधैंझैं व्यस्त बनेपाको चारदोबाटो नजिकै सडक किनारामा एक हुल युवा काठे भाकाको लोकगीत गाउन थाले। गीत सुनेपछि एकैछिनमा स्रोता तथा दर्शकहरू वरिपरि झुम्मिए। यहिबेला दुई महिला बाझाबाझ गर्दै हुलमा मिसिए। एउटीको बारीमा बाख्रा पसेपछि अर्की महिलाले बाख्रालाई घरमा बाँधेर राखेको विषयमा झगडा भएको उनीहरूको झगडे संवादबाटै प्रष्ट बुझिन्थ्यो। सुरुमा गालीबाटै झगडा गरिरहेका उनीहरू केहीबेरमा हात हालाहालको अवस्थासम्म पुगे।

झगडाकै माहौलमा झुल्किएका एक बुज्रुकले दुबैको बाझाबाझलाई साम्य पार्नुको सट्टा उल्टै एउटीलाई पुलिस चौकी गएर उजूरी गर्न र अर्कीलाई माइत गएर बस्न सल्लाह दिए। पुलिस चौकी हिँडेकी ती महिलालाई गाउँकै एउटा युवाले स–साना विवादमा चौकी, अड्डाअदालत जानु हुँदैन भनेर सम्झाउँछन्। सबै गाउँपालिका र नगरपालिकामा न्यायिक समिति र वडा–वडामा सामुदायिक मेलमिलाप केन्द्र रहेकाले त्यहाँ गएर विवाद मिलाउँदा दुबैलाई राम्रो हुन्छ भनेर सल्लाह दिएपछि ती महिला न्यायिक समितिमा पुग्छिन्।

उनको समस्यालाई समितिले वडास्थित मेलमिलाप केन्द्रमा पठाइदिन्छ। माइत गएकी अर्की महिलालाई पनि केन्द्रमै झिकाइन्छ। विभिन्न चरणका प्रक्रियाहरूमार्फत दुबैलाई मेलमिलाप गराइन्छ। केहीबेर अघिसम्म हात हालाहाल गरेका दुबै महिला अंगालो मारेर जीत–जीतको अनुभव गरेसँगै नाटक सकिन्छ। ‘मेलमिलाप’ नामक यो नाटकको निर्देशन नवराज गजुरेलले गरेका हुन्।

दुई वर्षदेखि शान्ति निर्माण प्रक्रियाको अभिन्न अंग मानिएको सामुदायिक मेलमिलाप र यसका प्रक्रियाहरूबारे सर्वसाधारणलाई सडक नाटकको माध्यमबाट बुझाउन थालिएको छ।

पछिल्ला दुई वर्षदेखि शान्ति निर्माण प्रक्रियाको अभिन्न अंग मानिएको सामुदायिक मेलमिलाप र यसका प्रक्रियाहरूबारे सर्वसाधारणलाई सडक नाटकको माध्यमबाट बुझाउन थालिएको छ। योसँगै स्थानीय तहको निर्वाचनपछि गठन भएका न्यायिक समितिको काम, कर्तव्यहरूबारेमा सडक नाटकबाटै नागरिकहरूमा चेतना जगाउने काम भइरहेको छ। दी एसिया फाउन्डेसनको सहयोगमा शान्ति निर्माण प्रक्रियाअन्तर्गत प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले द्वन्द्व रूपान्तरण कार्यक्रम लागु भएका जिल्लाहरूमा यो नाटक देखाइरहेको छ। केन्द्रकी काभ्रे जिल्ला संयोजक उमा थापाले काभ्रेका १३ वटै स्थानीय तहको केन्द्रहरूमा सडक नाटक प्रदर्शन गरिएको बताइन्। ‘सर्वसाधारणले सजिलै बुझ्ने प्रस्तुति पाइएको भन्दै दर्शक, मेलमिलापकर्ता तथा न्यायिक समितिका पदाधिकारीहरूबाट धन्यवाद पाइरहेका छौं’, उनले भनिन्।

काभ्रेका १३ वटै स्थानीय तहको केन्द्रमा सडक नाटकलाई आवाज आर्ट क्रियसनले मञ्चनको चाँजोपाजो मिलाएको हो। थापाका अनुसार मंगलबारसम्म दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ३४ वटा तहका केन्द्रमा नाटक प्रस्तुत भइसकेका छन्। आगामी यात्रा रसुवा र नुवाकोट जिल्लामा पुगेर टुंगिनेछ।

क्रियसनका निर्देशक कृष्णप्रसाद धितालले नुवाकोट र रसुवाका १७ वटा तहका केन्द्रहरूमा बुधबारबाट सडक नाटक सुरु गर्ने बताए। नाटकमा निर्देशक गजुरेल, सुरेन्द्र गिरी, मनोज खड्का, ललिता श्रेष्ठ, रस्मिला रोक्कासहित धितालको पनि अभिनय थियो।

‘गाउँठाउँमा हुने विवादको समाधानका लागि वडा–वडामा सामुदायिक मेलमिलाप केन्द्रहरू खुलेका छन्। स्थानीय निर्वाचन पछि हरेक तहमा न्यायिक समितिहरू गठन भइसकेका छन्। यी निकायहरूमा जाँदा बिग्रेका सम्बन्धहरू सुध्रन्छ’, धितालले भने, ‘सकेसम्म विवाद नगरौं। यदि विवाद आईहालेमा पहिला यिनै निकायमा जाऔं। प्रहरी–अड्डा अदालत सकभर नगुहारौं भन्ने सन्देश नाटकमार्फत दिएका छौं।’ सडक नाटक भइरहेका स्थानमा न्यायिक समितिका संयोजक( उपप्रमुख)हरू, समिति सदस्यहरू तथा कर्मचारीहरूलाई निमन्त्रण गरिन्छ। समिति पदाधिकारी सहभागी हुन नसक्दा उनीहरूले कर्मचारीहरूलाई पठाउँछन्।

‘नाटकले न्यायिक समितिको भुमिका र मेलमिलाप प्रक्रियाबारेमा नागरिकहरूलाई पर्याप्त सूचना र जानकारी दिएको पाएँ’, धुलिखेल नगरपालिकाका न्याय शाखा प्रमुख गायत्रीरमण घिमिरेले भने, ‘राजनीतिक पृष्ठभूमिबाट आए पनि न्यायिक समितिमा रहने अध्यक्षलगायत पदाधिकारीहरूले निष्पक्षतासहित न्याय दिन्छन् भन्ने सन्देश नाटकमार्फत गएको छ।’

धुलिखेलको सडक नाटक हेरेपछि नेपाली काँग्रेस धुलिखेल नगर समितिका अध्यक्ष जीतकृष्ण घिनांजूले अझै पनि नागरिकहरूले न्यायिक समितिले गर्ने काम र सामुदायिक मेलमिलापका प्रक्रियाबारेमा राम्ररी बुझ्न नसकेको बताए। उनले नागरिकहरूलाई बुझाउनका लागि यस्तो सडक नाटकलाई टोल–टोलमा देखाउनुपर्ने सुझाव दिए। हाल नाटक भइरहेका ५ जिल्लाबाहेकका अन्य स्थानीय तहहरूबाट माग भई आएमा सडक नाटकको माध्यमबाट मेलमिलाप प्रक्रिया र न्यायिक समितिको प्रवद्र्धनमा सहयोग गर्ने निर्देशक धितालको बुझाई छ।

प्रकाशित: १६ माघ २०७५ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App