७ वैशाख २०८१ शुक्रबार
कला

प्रयोगधर्मी लेखक मोराशको महाप्रस्थान

काठमाडौं – नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्मा (मोराश) को बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनको  कलंकीस्थित नेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले जानकारी दिए।

समालोचक प्रा.डा. दयाराम श्रेष्ठले परम्परा तोडेर नवीन विषय, शैली, भावका आधारमा साहित्य सिर्जना गरी शर्माले नेपाली प्रयोगवादी लेखनमा विशिष्टता हासिल गरेको बताए। उनले भने, ‘सिर्जनात्मक साहित्यमा प्रयोगधर्मी लेखन तथा समालोचनामा शैलीविज्ञान स्थापित गराउने शर्मा नै हुन्।’ डा. श्रेष्ठका अनुसार नेपाली समालोचनामा उत्तरआधुनिकताका विभिन्न पक्षहरूलाई सर्वप्रथम शर्माले नै भित्र्याएका हुन्।

शर्माको निधनले नेपाली वाङ्मयमै ठूलो क्षति पुगेको प्रा. लुइटेलले बताए। ‘शर्माको प्राध्यापन क्षेत्रका अतिरिक्त नेपाली साहित्य र समालोचनाका क्षेत्रमा ठूलो योगदान छ। उनको निधन नेपाल र नेपाली साहित्य तथा समालोचनाका क्षेत्रमा ठूलो क्षति हो’, उनले भने।

१९९४ साल कात्तिक १८ गते, काठमाडौं धर्मस्थलीमा जन्मिएका शर्मा काशी हिन्दु विश्वविद्यालयबाट इतिहास र त्रिविबाट नेपालीमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका थिए। उनी २०१६ सालमा हास्यंव्यग्य लेखेर साहित्य सिर्जनामा लागेका हुन्। शर्मा विद्यार्थीका बीच शालीन, प्रखर व्याख्याता र असल गुरुका रूपमा स्मरणमा रहिरहने उनीसँग स्नातकोत्तर नेपाली पढेकी विद्यार्थी लक्ष्मीकुमारी घिमिरेले बताइन्।

लामो समय त्रिवि नेपाली केन्द्रीय विभागमा प्राध्यापन गरेका शर्माका शैलीविज्ञान, समकालीन समालोचना : सिद्धान्त र प्रयोग, नेपालीका केही आधुनिक साहित्यकार, कथाको विकास प्रक्रिया, आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना प्रसिद्ध समालोचनात्मक कृति हुन्। त्यस्तै शब्द रचना र वर्णविन्यास उनको नेपाली व्याकरणसँग सम्बन्धित चर्चित पुस्तक हो। जेमन्त–यमा र वैकुण्ठ एक्सप्रेस शर्माका नाटक हुन् भने बैखरी, च्याँखेधर्ना, कोर्रा, महाशून्य उनका कथा संग्रह हुन्।

पुछारको पातो, इन्टरभ्यु स्पेसलिस्ट मिस्टर झप्पुसिंह डबल एमए शर्माका निबन्ध संग्रह हुन्। मायाविनी शर्शी, छाँगासँग मनका कुरा, नवरस जस्ता महाकवि देवकाटाका काव्यकृतिको सम्पादन गरेका शर्माले सहलेखनमा पनि थुप्रै कृति प्रकाशित छन्। शर्माले बैकुण्ठ एक्पे्रेस नाटकका लागि २०४२ सालको मदन पुरस्कार पाएका थिए। यस्तै २०४० सालको मैनाली कथा पुरस्कार पाएका शर्माले अनगिन्ती पुरस्कार र सम्मान पाएका छन्।

उनका पत्नी, परामक्र र आक्रम दुई छोरा र एक छोरी छन्। उनका छोरा आक्रम अस्ट्रेलियाबाट नआउन्जेल शव पशुपतिस्थित चिस्यान केन्द्रमा राखिएको छ। उनको अन्त्येष्टि छोरा आएपछि मात्र गरिने पारिवारिक स्रोतले बतायो।

प्रकाशित: १० माघ २०७५ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App