८ वैशाख २०८१ शनिबार
कला

सुपरस्टार बालकलाकारको दैनिकी

‘सानो परिवार, सुखी घरबार’ कसैले राजनीति गर्न सुझाएको यस्तो नारा एउटा सेलिब्रिटी कलाकारको घरमा भने ठ्याक्कै मिल्न पुग्छ । उनी हुन्, अहिलेका चल्तीका बालकलाकार अनुभव रेग्मी । काव्य स्कुलमा कक्षा ६ मा पढ्ने अनुभव अन्य बालबालिकाभन्दा कुनै अर्थमा फरक छैनन् । उनलाई पनि खेलकुद मनपर्छ, नियमित रुपमा स्कुले होमवर्कमा ध्यान दिन्छन् तर स्कुलबाहिर उनी प्रख्यात कलाकार हुन् । अनुभव साढे तीन वर्षको हुँदा ‘आचार्य’ फिल्मको छोटो भूमिकाका लागि सुटिङमा पुगेका थिए । सुटिङभरि अनुभव रोएर हैरान !

अनुभवका मातापिता कविता र अरुण उनले सानैदेखि फिल्ममा अनुहार देखाउन् भन्ने चाहन्थे । कविता र अरुणले लामो समय फिल्म र टेलिभिजन उद्योगमा बिताएकाले यसैमा उनले करियर बनाऊन् भन्ने चाहन्थे । त्यसैले साढे तीन वर्षकै उमेरमा फिल्म खेलाउने चाहना बाबुआमाको थियो । 

‘आचार्य’को सुटिङभरि अनुभव रोएर हैरान ! बाबुआमाको मन खिस्रिक्क भयो । त्यो दिन सम्झँदै आमा कविताले भनिन्, ‘छोरोले यसै क्षेत्रमा नाम कमाओस्, केही गरोस् भनेर सुटिङमा लगेको त, रोएर हैरान ! त्यसैले छोटो भूमिकाका लागि पनि सुटिङ सक्न सास्ती भयो ।’

‘छोराले फिल्मतिर इन्ट्रेस्ट नदेखाउला भनेर मलाई त पीर नै प-यो,’ कविताले मुस्काउँदै भनिन्, ‘पछि चाहिँ टेलिभिजनमा बज्ने गीतमा नाच्न थाल्यो । अब चाहिँ ऊ परिपक्व भयो भन्ने लागेपछि फेरि फिल्ममा किन ट्राई नगर्ने भनेर लगेको, पछि त रमाउन पो थाल्यो !’

हुन पनि बोली नफुट्दै टिभीमा गीत बज्न थालेपछि स्टाइल बनाएर उनी नाच्न थाले । फिल्ममा बोलिने डाइलगको नक्कल गर्न थाले । अनि त अनुभवकी आमालाई लाग्यो, ‘थ्यांक गड, छोरामा पनि फिल्मी इन्ट्रेस्ट आउन थाल्यो ।’

अनुभवका बुबा अरुण रेग्मी ‘मुक्ति’ टेलिशृंखलामा काका बनेर देखापरेका थिए र उनी पछिसम्म पनि उनी ‘काका’कै रुपमा चर्चित रहे । आमा कविताले कयौँ टेलिशृंखलामा राम्रो भूमिका पाइन् । दुवैको रगतमा अभिनय बगेकाले होला, अनुभवमा पनि त्यही सोख उम्रन थाल्यो ।

पहिलो पटक छोरामा अभिनयको सर्को लागेको दिन अझै सम्झना छ, कवितालाई । ‘टिभीमा सलमान खानको हिन्दी फिल्म ‘दबंग’को गीत बज्न थाल्यो,’ कविता हाँस्दै भन्छिन्, ‘बाबु पनि त्यही ‘दबंग’को गीत हेर्दै सलमान खानको क्यारिकेचर गर्न थाल्यो । त्यो दिन मलाई त यति खुसी लाग्यो कि, त्यत्ति खुसी त म जीवनमा कहिल्यै भएकी थिइनँ।’

यसपछि ‘भिजागर्ल’ फिल्मको सुटिङमा चार वर्षकै उमेरमा उनले हिरोको भाइका रुपमा जसरी सहज रुपमा अभिनय गरे कि यसपछि त उनको फिल्मी यात्रा मज्जैले दौडियो ।

अहिले अनुभव नेपाली फिल्म क्षेत्रको उम्दा बालकलाकार हुन् । उनका प्रशंसकको ठूलो जमात बनिसक्यो । यतिबेला ११ वर्ष पुगेका अनुभव कक्षा ६ मा पढ्दैछन् भने १२ वटा फिल्म, ७/८ वटा म्युजिक भिडियो र ३/४ वटा विज्ञापन खेलिसकेका छन् ।

परिवारै फिल्मी

अरुण रेग्मीलाई अनुभवका बाबु मात्रै भनियो भने उनीमाथि अन्याय हुन जान्छ । उदयपुर स्थायी घर भएका अरुण कक्षा ४ पढ्दादेखि नै काठमाडौँ आए । 

उनलाई सानैदेखि उनमा कलाकारिताको भोक थियो । त्यो भोक मेटाउन उनले कलाकार चाहियो भनेर भित्तामा टाँसिएका पोस्टर–पोस्टर चहारे । त्यही पोस्टरबाट नम्बर टिप्थे, फोन लगाउँथे अनि त्यो नाटकको कार्यालय पुग्थे । ‘त्यहाँ फाराम भर्न लगाउँथे,’ अरुणले सम्झँदै भने, ‘२०४७/४८ सालतिर त्यो पनि तीन सय रुपैयाँ तिरेर हामी फाराम भथ्र्यौं । कुनैमा बोलाउँँथे, कुनैमा बोलाउँदैनथे । त्यसरी फारम भरिसकेपछि एक महिना लगाएर रिहर्सल गथ्र्याैं । अनि बल्ल नाटक प्रदर्शन हुन्थ्यो । नाटक सकिएको दिन हातमा जम्मा ५ सय पथ्र्यो । त्यो पैसाको महत्व कम हुँदैनथ्यो !’

सानैमा आमा बित्नुभयो, बुबाको भरथेग थियो तर बुबाको पनि पछि देहान्त भएपछि उनलाई आफ्नो सपना पछ्याउन रोक्ने कोही भएनन् । आफन्तले उनलाई रोक्न खोजे पनि अब उनी फुक्काफाल भइसकेका थिए । अब नाटकले मात्र उनको अभिनय भोक मेट्न सकेन । त्यसैले उनी फिल्मतर्फ आकर्षित हुन थाले । 

दीपक रायमाझीको ‘प्रेयसी’ फिल्मबाट स–साना भूमिकाबाट सुरु भएको उनको फिल्मी यात्रा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । समयअनुसार कहिले उनको भूमिका सहायक कलाकार त कहिले पर्दा पछाडिका प्राविधिक कार्यमा व्यस्त भइरहेका छन् ।

‘श्री स्वस्थानी’मा उनलाई पहिलो पटक मानिसले चिन्ने गरी भूमिका पाए, नारद मुनिका रुपमा । नारदका रुपमा लामो कपाल देखेपछि उनलाई अर्को भूमिकाका लागि तुलसी घिमिरेले अनुबन्ध गरे । ‘रहर’ फिल्ममा उनी तेस्रो लिङ्गी बने । यसपछि त उनको अभिनयको बाटो लम्बिइहाल्यो । 

यसपछि नै उनले ‘मुक्ति’ टेलिशृंखलामा काम पाएका हुन् र उनी चर्चित पनि भए । यस शृंखलामा उनले काकाको भूमिका निभाएका थिए । भर्खरका उनले ५०÷५५ वर्षको पाको मानिसको अभिनय गरेका थिए ।

‘कविताले त बूढो मान्छेसँग बिहे गरिछ !’

त्यतिबेलाको रमाइलो प्रसंग सम्झँदै कविताले भनिन्, ‘हाम्रो विवाह ‘मुक्ति’ शृंखला प्रसारण भएलगत्तै भएको थियो । त्यो बेलामा कोसित कविताले बिहे गरिछ भन्ने चासो नातेदारलाई हुने भइहाल्यो । केही समयभित्रै हल्ला चलिहाल्यो, ‘मुक्ति’को काकासँग रे ! 

‘लौ, कविताले त कति बूढो मान्छेसँग विवाह गरिछ, अरु तरुना केटा पनि पाइहालिन्थ्यो नि, किन त्यति बूढो मान्छेसँग बिहे गरेकी होला !’

जब आफन्तले अरुणलाई वास्तविक रुपमा भेटे, सबै चकित परे– केटो त तरुनै रै’छ, नामजस्तै उज्यालो !!

कविताको अभिनय यात्रा

यता कविताको ग्ल्यामर यात्रा भने म्युजिक भिडियोबाट सुरु भएको थियो । पछि उनी ‘वंश’, ‘परिचय’जस्ता त्यस बेलाका चर्चित टेलिशृंखलामा अभिनय गरिन् । पछि त उनले ‘माझीदाइ’बाट ठूलो पर्दामा समेत पदार्पण गरिन् । २०६२ सालमा विवाह भइसकेपछि पनि कविताले अभिनय यात्रालाई जारी राखिन् र ‘माइती’, ‘बाटो मुनिको फूल’, ‘प्रेमगीत २’, ‘समर लभ’, ‘नाइँ नभन्नू ल २’ लगायतका फिल्म काम गरिन् । 

अरुण हिजोआज अभिनयभन्दा फिल्मको प्राविधिक कार्य (प्रोडक्डक्सन डिजाइन, प्रोडक्सन कन्ट्रोलर)मा व्यस्त छन् । उनले प्रायः महँगा फिल्मको प्राविधिक कार्य हेरिरहेका हुन्छन् । उनले बढीमा चार करोड रुपैयाँसम्म बजेट भएका फिल्महरु व्यवस्थापन गरेका छन् ।

यत्तिका वर्षको संघर्ष र स्थापित भइसकेपछि उनलाई लागेको छ, अब नेपाली फिल्म उद्योगमा मिहिनेती मानिसलाई बाँच्न गाह्रो छैन । अरुण भन्छन्, ‘अहिलेसम्म विशुद्ध फिल्म क्षेत्रमा मात्रै बिताएको छु । कठिन दौर त गुजारियो भने अब त उद्योग पनि राम्रो भइसकेको छ ।’

छोराको भविष्य फिल्म

२०६४ साल असार १८ गते अनुभव जन्मिएपछि उनलाई समेत यही क्षेत्रमा भिजाउन अरुण–कविता दत्तचित्त छ । भविष्यमा अनुभव एउटा असल कलाकारका रुपमा उदाउनेमा दुवै विश्वस्त छन् ।

त्यसो त अहिले अनुभव हिट बालकलाकार भएकामा गर्व गरे पनि यसैलाई उपलब्धि मान्न दुवै तयार छैनन् । कविता छोराको यो सफलता अस्थायी बास ठान्छिन् । ‘प्राथमिकता त पढाइ नै हो,’ उनले भनिन्, ‘यसमा पनि उसको गम्भीरता राम्रै छ । हामीले पनि पढ्न–लेख्ने कुरामा नियम बसालिदिएका छौँ । यसलाई उसले राम्रोसँग पछ्याइरहेको हुन्छ ।’

‘अहिलेसम्म ऊ ज्ञानी नै छ,’ बाबु अरुणले भने, ‘हुन त म अधिकांश समय बाहिर हुन्छु र अलि बढी व्यस्त हुन्छु । काम नै त्यस्तै हुन्छ । हरदम आमासँग भएकाले मेरो साथ पनि खोजिरहेको हुन्छ । कामबाट चाँडै फर्किए हुन्थ्यो भन्ने उसको अपेक्षा हुन्छ ।’

नियमअनुसार चल्छन् अनुभव 

हिजोआजका बालबालिका बढी आक्रामक हुने, अटेरी हुने लगायतका समस्या देखिएका छन् । त्यसमाथि ट्याबलेट, मोबाइल बिना केहीबेर बस्नै सक्तैनन् । युट्युबमा जतिखेरै झुण्डिने समस्याले अधिकांश आमाबुबा दिक्क छन् । 

अनुभवको भने यस्तो बानी छैन । ‘एक त म समयमा नै पढ्ने, समयमा उठ्ने, छुट्याएको बेला मात्र टिभी हेर्ने गर्छु,’ अनुभव भन्छन्, ‘तालिका मिलाएर, समय हेरी काम गर्नुपर्छ । फेरि मेरो त तालिका मिलाएन भने सबै कुरा चौपट हुन्छ ।’

उनलाई पनि साथीहरुसँग खेल्न मन लाग्दो हो ! यी सबै कुराको व्यवस्थापन कविताले गरिदिन्छिन् । कविताले भनिन्, ‘एउटा सेड्युल बनाइदिएकी छु, ऊ त्यहीअनुसार चल्छ । हामीले स्कुलको सेड्युल हेर्छौं । प्रायः फिल्मको सुटिङ स्कुलको बिदा पारेर हुन्छ । खासगरी जाडोको बिदा, दसैँ–तिहारको बिदामा सुटिङ हुनाले समस्या हुँदैन ।’
स्कुलबाट आएपछि होमवर्क गर्ने, खेल्ने अनि टिभी हेर्ने अनुभवको बानी छ । आइप्याड चलाउने अनुमति त उनलाई

शनिबार मात्रै छ । ‘हुन त फुर्सद मिलाएर अरुबेला आइप्याड चलाए पनि हुन्छ तर बानी बिग्रन्छ भनेर शनिबार मात्र चलाउँछु,’ बुझ्झकी अनुभवले सुनाए, ‘होलिडेका बेला मात्र चलाउनु राम्रो हुन्छ ।’ 

यति सानो उमेरमा पनि सबै रुल फलो गर्न मन लाग्छ त ? भनेर हामीले सोध्यौँ । अनुभवले फ्याट्ट जवाफ दिए, ‘रुल इज् रुल नि त !’ बुबामामुले मेरैलागि भन्नुभएको हुन्छ । मेरै भविष्य राम्रो होस् भनेर भनेको कुरालाई नमान्ने कुरा पनि आउँदैन । उहाँले बनाइदिनुभएको सेड्युल लाई नै फलो गरेको छु।’

छिट्टै घुलमिल हुन्छन् 

मान्छेपिच्छे आफ्नै बानी हुन्छ । कोही अन्तर्मुखी स्वभावका त कोही बहिर्मुखी स्वभावका । अनुभव भने बहिर्मुखी स्वभावका छन् । उनी सुटिङ स्थलमा घुलमिल भइहाल्छन्, सबैसँग जिस्कने बोल्ने गर्छन् । उनी सुटिङ स्थलमा मात्रै होइन, स्कुलमा साथीहरुसँग पनि छिट्टै घुलमिल हुन्छन् । ‘केही कारणवश कक्षा छुट्यो भने शिक्षिकाहरुसँग सहयोग पनि मागिहाल्छ,’ कविता भन्छिन्, ‘हामी बेलाबेलामा स्कुलमा जाँदा उसलाई पढाउने शिक्षकशिक्षिकाले केही छुट्यो भने हेलचेक्र्याइँ गर्ने स्वभाव नभएको बताउनुहुन्छ । के कति छुटेको छ भनेर सिरियस नै भएर होमवर्कहरु गर्ने गरेकोमा शिक्षकहरु खुसी छन् ।’

अनुभवलाई हामीले सोध्यौँ, ‘तिमीलाई मनपर्ने विषय कुन हो ?’ अनुभवले जवाफमा भने, ‘मलाई त सबै विषय मन पर्छ । सबै विषय सहज नै लाग्छ । खासगरी नेपालीमा कथा पढ्दा रमाइलो लाग्छ ।’ 

कोर्सबाहेकका पुस्तक पनि उनले भ्याएसम्म पढिरहेका हुन्छन् । ‘मलाई एडभेन्चर स्टोरी मन पर्छ, ह्यारी पोटर स्टाइलको,’ अनुभव भन्छन्, ‘टिचरहरुले सजेस्ट गर्नु भएका किताबहरु पनि लाइब्रेरीमा पढिरहेको हुन्छु ।’ 

अनुभवलाई सबैभन्दा दिक्क कुन बेला लाग्दो हो ? ‘स्कुलमा साथीहरुले मसँग एक्टिङको बारेमा नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले दिक्दारी प्रकट गर्दै भने, ‘सुटिङको सारा तनाव पखाल्न साथीहरुसँग खेल्न जान्छु, त्यहाँ पनि साथीहरुले तिमीले कसरी फिल्म खेल्यौ भनेर सोधिदिन्छन् । म त उनीहरुको साथी हुँ, कलाकार होइन नि, हैन !’ 
‘मलाई खेल्ने समयमा त्यस्तो कुरा गरेको मन पर्दैन,’ उनको भनाइ छ । 

साथीहरुसँग के कुरा गर्न मन पर्छ त उनलाई ? ‘स्टोरीको, बुकको, गेमको, स्टडिजको कुरा गरेको मन पर्छ ।’ 

घरमा भने उनलाई छुट्याइदिएको समयमा टिभी हेर्छन् । उनलाई स्टार प्लसको शृंखला ‘कुल्फी कुमार बाजेवाला’ मनपर्छ । टिभी हेर्दा उनलाई कथाले भन्दा पनि त्यसमा काम गर्ने कलाकारको एक्टिङजस्ता कुरामा ध्यान दिने गर्छन् । ‘मामुबाबाले हेर्ने मात्र होइन, कस्तो एक्टिङ गरेको छ हेर भन्नुहुन्छ अनि म पनि त्यसरी नै हेर्ने बानी परेको छ,’ उनले भने । 

बाबा र ममीमध्ये कसको बढी माया लाग्छ ? ‘मामुसँग त म धेरै समय भइहाल्छु, बाबासँग कम हुन्छु । त्यसैले मैले बाबालाई बढी मिस गर्छु ।’

अनि बढी डर कोसँग लाग्छ त ? ‘घरमा कोही न कोहीसँग त डराउनै प-यो ! बाबासँग अलि बढी डर लाग्छ । मामु सानो–सानो कुरामा रिसाउनु हुन्छ अनि बाबाले फकाउनुहुन्छ । बाबाको पनि झडङ्ग रिसाउने बानी छ अनि मामुले फकाउनुहुन्छ ।’

अनुभवलाई परिवारसँग नयाँ ठाउँमा घुम्न मन पर्छ । उनी भन्छन्, ‘हुन त सुटिङको क्रममा धेरै ठाउँमा घुमेको छु तर परिवारसँग घुम्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’ 

अरुण थप्छन्, ‘अँ, उसले जहिले पनि बाबा फ्यामिली सबै घुम्न जाऊँ न भन्छ र भ्याएका बेला सँगै जान्छौँ ।’

अनुभव अहिलेसम्म जापान, हङकङ लगायतका देश पुगिसकेका छन् । नेपालका रमणीय स्थल पनि घुम्न भ्याएका छन् तर सबैभन्दा मनपर्ने स्थान भने चितवन, पोखरा र झापा रहेको उनी बताउँछन् ।

‘नाइँ नभन्नू ल २’ बढी मन पर्छ

अनुभवले अहिलेसम्म १२ वटा फिल्म खेलिसके पनि ‘नाइँ नभन्नू ल २’ सबैभन्दा बढी मन परेको बताउँछन्, भन्छन्, ‘मलाई त सबै मन पर्छ तर रोल र करियरको टर्निङ पोइन्टको हिसाबले ‘नाइँ नभन्नू ल २’ नै बढी मन पर्छ ।’

अनुभव अहिले निखारिँदै गएकोमा बुबाका रुपमा अरुणलाई चित्त बुझेको छ । उनलाई कुन क्यामेरा प्रयोग भएको छ, लेन्स कस्तो हो भन्ने प्राविधिक कुरासमेत थाहा हुन थालेको छ ।

सुरुवाती चरणमा रुने रोल गर्दा निकै गाह्रो भएको अनुभवले बताए । उनले भने, ‘पहिला त ग्लिसरिन’ हालेर रुनु पथ्र्यो । अहिले त आफैँ रुन्छु ।’ 

पछिसम्म पनि फिल्ममा नै लाग्ने उनको सोचाइ छ । उनले भने, ‘पापामामुले केही समय ग्याप गर्ने भन्नु भएको छ । त्यो बेला एक्टिङ नगर्ने, खाली पढ्ने मात्र । डान्स, एक्टिङलाई चाहिने प्रशिक्षण लिने र सिकेर फेरि एक्टिङमा आउने हो ।’

अरुणले थपे, ‘अबको पुस्ता सबै कुरामा पर्फेक्ट हुनुपर्छ । अहिले नै के बन्ने भन्ने सोच आइसक्ने बेला भएको छैन । आजसम्म त ऊ फिल्म नै गर्छु भन्छ तर पढाइ भनेको सधैँ काम लाग्छ ।’

कविताको इच्छा छ, ‘पढाइको एक लेभल पूरा गरेपछि ऊ पुनः एक्टिङमा फर्कियोस् ।’

पछि पर्दामा हिरोका रुपमा साइन गर्न अहिले नै उनलाई बुक गर्नेको कमी छैन । अरुण भन्छन्, ‘कतिपय साथीहरुले अहिले तपाईंको छोरा मेरो फिल्मबाट हिरो हुने है भनेर पैसाको कुरा गर्न थालिसक्नु भएको छ । पछिको कुरा पछि नै गरौँला भनेर टार्दै आएको छु ।’

यस हिसाबले पनि पछि छोरालाई हिरोका रुपमा ल्याउन गाह्रो नहुने अरुणको आँकलन छ ।

प्रकाशित: २८ पुस २०७५ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App