८ वैशाख २०८१ शनिबार
कला

‘गोपी’प्रति दुई मन्त्रीको चासो

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’सँग फिल्म ‘गोपी’ टिम। तस्बिरः नागरिक

काठमाडौं – गाईपालन गरेर स्वरोजगार हुन चाहने एक युवाको कथा समेटिएको फिल्म ‘गोपी’ प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले चासो देखाएका छन्। फिल्म युनिटसँग मंगलबार र बुधबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा भएको भेटमा दुई मन्त्रीले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएको बताए।

‘फिल्मको ट्रेलर हेरेपछि फिल्मको निर्माण टिमसँग साक्षात्कार गर्ने चाहना थियो। चाहनु भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ। अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ। सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ।’ उनले आफू यदाकदा नेपाली फिल्मको दर्शक भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग अवगत रहेको बताए। उनले नीतिगत रूपमै मौलिक फिल्मलाई प्रवद्र्धन गर्ने कुरा सरकारसँग राख्ने आश्वासन दिए।

त्यस्तै दर्जनौं गीत तथा नाटकका कलाकारसमेत रहेका मन्त्री खनालले आफू पनि कला पारखी भएको बताउँदै फिल्मले सान्दर्भिक विषय उठाएकोमा शुभकामना दिएका थिए। ‘म नेपाली फिल्मको नियमित दर्शक हुँ। हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली फिल्म हेर्ने गर्छु। धेरै फिल्ममा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु’, उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें। यस्ता फिल्म ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ।’

गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें। यस्ता फिल्म ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ।

उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्न तयार रहेको जनाए। ‘नीति नियम के छन् त्यो हेरेर खबर गरुँला। तर, फिल्मप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने।

निर्देशक दीपेन्द्र लामाले फिल्मले श्रमको सम्मानमा जोड दिएको बताए। ‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ। त्यतिको मेहनत यही गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश फिल्मले दिन खोजेको छ,’लामाले भने, ‘ फिल्म हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ।’

कृषि मन्त्रीको निमन्त्रणमा फिल्मको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना  र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए।  अभिनेत्री सुरक्षा पन्तले मौलिक फिल्ममा सरकारको चासो हुनु पर्नेमा जोड दिइन्। अभिनेता बिपिन कार्कीले ‘गोपी’ जस्ता मौलिक फिल्ममा सरकारको सहयोगले थुपै्र मौलिक फिल्म बन्ने वातावरण सिर्जना हुने दाबी गरे।

लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए। मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए।  माघ १८ गते रिलिज हुने फिल्ममा प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको छ।

प्रकाशित: २६ पुस २०७५ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App