२९ असार २०७७ सोमबार
कला

टुँडिखेलमा साकेला रौनक

राजधानीको टुडिखेलमा साकेला नाच्दै किराँतीहरु। तस्बिर: श्याम/नागरिक

काठमाडौं - ललितपुर, नखिपोटका ४१ वर्षे बच्चुकुमार राई गत शनिबार काठमाडौंको टुँडिखेलमा ढाकाटोपी, दौरासुरुवाल, छातीमा मुर्चुङ्गा, बिनायो, पिचुरी र धजुरामा सजिएर हातमा सिलिमी, पमी(चौरीको पुच्छर) हल्लाउदै ढोलको तालमा साकेला(चन्डीनाच) नाच्न व्यस्त थिए। उनीमात्र नभई मंगोलियन अनुहारका किराँती पोशाकमा सजिएका हजारौं युवायुवतीहरू पनि गोलाकारमा साकेला नाँचमा रमाइरहेका थिए। किराँत समुदायको महान चाडका रूपमा रहेको उधौली मनाउन भेला भएका युवायुवती ढोल झ्याम्टाको मिठासमा मग्न थिए।

उधौली हेर्नकै लागि टुडिखेल पुगेका दर्शकहरू पनि किराँत युवायुवतीको नाच हेर्न व्यस्त थिए। किरात परम्परागत पोशाकमा सजिई महंगा किराँती गहनाका ‘रेप्लिका’ लगाएर ढोल र झ्याम्टाको आवाजमा रमाइरहेका युवा समूहमा दर्शकहरू झुम्मिएका थिए।

साकेला मुन्धुमी पुजारी (नाक्सो) प्रेमबहादुर राईका अनुसार किराँतीहरू हरेक वैशाखमा प्रकृतिको पुजा गर्दै उभौली मनाउँछन्। त्योबेला धान, कोदो, अदुवालगायतका अन्नबाली लगाइन्छ। अन्नबाली पाकेपछि मंसिरे पूर्णिमा तिथिदेखि पुर्खाहरूलाई चढाएर उधौली चाड मनाउने गर्दछन्। ‘नयाँ अन्न पितृलाई चढाएपछि मात्र परिवारजनले चलाउन र खान मिल्छ’, उनले भने, ‘त्यसैले परापूर्वकालदेखि नै यो चाड मनाउदै आएका छौं।’  उनकाअनुसार किराँत राईले साकेन्वा÷साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर नामले प्रकृतिलाई पुकारेर नाच्छन्। यो दोस्रो पटक नाचेको साकेला नाच हो। उनीहरूले गत पुस ७ गते पनि हात्तीवनको किराँतेश्वर मन्दिरमा सामूहिक पुजा गरी साकेला नाचेका थिए।

प्राचीनकालदेखी बसोबास गर्दे आएका हामी संस्कृति र पहिचान जोगाउन टँुडिखेलमा वर्षको एकपटक नाच्छौं। यसबेला हामी प्रकृतिको पुजा गरेर विश्वभर यसरी नै साकेला मनाउँछौं।

किराँत राई यायोक्खाका केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले अन्नबालीहरू भिœयाउने समयसँगै उधौलीको अवसरमा टँुडिखेलमा साकेला नाचिने गरेको बताए। ‘प्राचीनकालदेखी बसोबास गर्दे आएका हामी संस्कृति र पहिचान जोगाउन टँुडिखेलमा वर्षको एकपटक नाच्छौं ’, उनले भने, ‘यसबेला हामी प्रकृतिको पुजा गरेर विश्वभर यसरी नै साकेला मनाउँछाँं।’

साकेला नाच्दा सिलिमाङ्पा (सिलीको अगुवाइ गर्ने पुरुष) या सिलिमाङ्मा (सिलीको अगुवाइ गर्ने नारी)ले समूहलाई अगुवाई गर्दछन्। गोलघेरा बनाएर नारी र पुरुष सराबरी हातमा हात, खुट्टामा खुट्टा चालमा चाल मिलाए ढोल, झ्याम्टाको तालमा नाच्छन्। घेराभित्र चिल्लेकटुसको रुखका लिंगो र थुम्से(सोली) मा खारेवा(चिन्डो)मा रक्सी राखिन्छ।

किराँतीहरू आफूलाई प्रकृतिको भूमिपूत्र मान्छन्। नेपालका वल्लोकिराँत, माझकिराँत र पल्लोकिराँत क्षेत्रका राईहरूले यसरी नै परम्परा धानिरहेका छन्। ‘यो चाडको विशेषता भनेकै प्रकृतिको पुजा गरी परम्परागत नाच प्रदर्शन गर्नु हो’, राईले भने। उनले जनजातिहरूको विभिन्न चाडपर्व बिदा कटौतीलाई सरकारले यथाशिघ्र पुनःस्र्थापित गर्ने र प्रदेश १ लाई किराँत प्रदेश दिइनुपर्ने जनाए। किराँती बुढापाकाका अनुसार गर्मीयामको सुरुवातसँगै चराचुरूङ्गी तथा जीवजन्तुहरू उभो हिमालतिर लाग्ने भएकाले त्यो बेलाको साकेलालाई ‘उभौली’ र ती जनावरहरू जाडो याममा उधो झर्ने भएकाले ‘उधौली’ भनिएको हो।  

कार्यक्रमका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले किराँतीहरू भूमिको सन्तान रहेकाले ऐतिहासिक धार्मिक, सांस्कृतिक र आफ्नो पहिचानलाई जोगाउँदै जानुपर्ने बताए। ‘यो देशमा किराँतीको गौरवपूर्ण इतिहास छ। त्यसैले भाषा र संस्कृतिलाई बचाउन सरकारको तर्फबाट म सधैं तत्पर छु। यसमा सम्र्बद्धन र संरक्षण गर्न किराँत राई यायोक्खालगायत आम किराँतीहरूले ध्यान दिनुपर्छ’, उनले भने, ‘प्रदेश १ को नामांकन किराँत प्रदेश राख्ने विषयमा छलफल र बहस भइरहेकोले छिट्टै नामको टुंगो लाग्नेछ। अहिले प्रदेशलाई सम्वृद्ध र सुखी बनाउने विकासमा अग्रसर छौं।’

प्रकाशित: २३ पुस २०७५ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App