coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बाजागाजाले गुन्जियो भक्तपुर

भक्तपुर – भक्तपुर नगर शनिबार दिनभर बाजागाजामय बन्यो। सधैं जात्रापर्वमा मात्रै बाजामय हुने सानो भक्तपुर शनिबार भने जात्रापर्व नपरे पनि बाजागाजाले गुन्जायमान बनेको थियो।  भक्तपुर नगरपालिकाले ‘नगरव्यापी धाँ बाजा प्रतियोगिता’ आयोजना गरेपछि नगर बाजामय भएको हो। प्रतियोगितामा सहभागी ३७ टोलीहरूलाई पालैपालो बाजा बजाएर नगरपरिक्रमा गराएपछि दिनभर नगर बाजागाजाले गुन्जायमान भयो।

प्रतियोगितामा सहभागी टोली नगरको पश्चिम क्षेत्रमा रहेको टेखापुखुमा बिहानै बाजागाजासहित जम्मा भएका थिए। टोलीमध्ये एक–एक टोलीलाई छुट्टाछुट्टै रूपमा नगरपालिकाद्वारा निर्धारित नगर परिक्रमाको रुटमा बाजा बजाएर घुमाइएको थियो। एउटा टोली र अर्काे टोलीबीच ५० मिटरको फरकमा नगरपरिक्रमा गराएको हो। यही कारण दिनभर सबैतिर बाजागाजाले गुन्जयमान बन्यो।

नगर परिक्रमाको अन्तिम भेलास्थल नगरको पूर्वमा रहेको दतात्रय थियो। पालैपालो दिनभर नगर परिक्रमा गरी बाजाटोली दतात्रय पुगेका थिए। यात्राको बीचमा मूल्यांकनका लागि ठाउँंठाउँंमा मूल्यांकन टोली राखिएको थियो। मुख्य मूल्यांकन टोली भने दतात्रयमा थियो। दतात्रयको मञ्चमा पनि सबै प्रतिस्पर्धीलाई पालैपालो बाजा बजाउन लगाइएको थियो। बजार परिक्रमाको क्रममा धेरै संख्यामा रहे पनि दतात्रयको मञ्चमा भने एउटा टोलीबाट चारजनालाई मात्रै बजाउन लगाइएको थियो।

प्रतिस्पर्धीहरूलाई बजार परिक्रमाको क्रमलाई सय पूर्णाङ्कमा २० निर्धारण गरिएको थियो। साथै बोल र तालमा ३०, प्रष्टतामा २०, भेषभूषामा १०, हाउभाउमा १०, अनुशासनमा पाँंच र समयको परिपालनामा पाँंच निर्धारण गरिएको थियो। विजयी टोलीहरूको नाम मूल्यांकन टोलीका संयोजक काठमाडौं विश्वविद्यालय संगीत विषयका उपप्राध्यापक विष्णुबहादुर मानन्धरले घोषणा गरेका थिए। 

प्रतियोगितमा नास हेमा बाजा खल (समूह) प्रथम, नित्यनाथ बाजा खल द्वितिय, एभरेष्ट इङ्लिस स्कुलको टोली तृतीय र द राइजिङ इङ्लिस स्कुलको कल्चर ग्रुप चौथौं भएका थिए। प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार रूपैयाँ, धाँ बाजा एक थान, भूछ्या एक जोडी, शि छ्या १ जोडी (यी सबै धाँं बाजामा बजाइने वाद्यवाधकहरूको नाम हो), द्वितिय हुने टोलीलाई  २५ हजार रूपैयाँ, धाँ बाजा एक थान, भू छ्या १ जोडी र तृतीय टोलीलाई २० हजार रूपैयाँसहित धाँ बाजा एक थान र शि छ्या १ जोडी पुरस्कार दिइएको थियो। साथै सान्त्वना हुने दुई टोली १० हजार प्रतिटोली नगद र धाँ बाजा एक थान पाएका थिए।

आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सांंस्कृतिक विधाहरूको संरक्षण गर्नुका साथै नागरिकहरूमा रहेको सिप उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए। नगरपालिकाले गतवर्ष ‘बाँंसुरी बाजा प्रतियोगिता’ गरेको थियो।

प्रकाशित: २२ पुस २०७५ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App