६ वैशाख २०८१ बिहीबार
कला

रमीका कवितामा कलाकारको अभिनय

काठमाडौं – कलाकारको अभिनयामार्फत कविता प्रस्तुत गर्ने मासिक श्रृंखला ‘काब्यांकुर’को पाँचौं संस्करणमा यसपटक कवि रमी श्रेष्ठ प्रस्तुत भइन्। राजधानीमा गत आइतबार उनले एक घन्टामा नौ कविता सुनाउँदा विभिन्न कलाकारले कविताको भावलाई नै अभिनयमा उतारे।

‘हामी मग्न हुने गर्छौ’ कविताबाट एकल वाचन शुरु गरेकी रमीले कवितामा चाकडी र चाप्लुसीबाट टिका लगाएर उच्च ओहोदामा पुग्दै देश बिगारेकाहरूमाथि व्यंग्य गरिन्। कन्चनपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको बेला छोटा कपडा लगाएाक कारण निर्मलाहरू बलात्कृत भइरहेको विषयमा रचित कविता ‘कथा छोटा लुगाको’ उत्तिकै प्रभावशाली थियो। यो कवितालाई अभिनयमा कलाकारले उतार्दा दर्शक भावुक बनेका थिए। रमीको अर्को कविता ‘फर्काईदेउ कोही’ ले वैदेशिक रोजगारीका क्रममा जेल परेर तथा विभिन्न समस्याले उतै अलपत्र पर्दा उसकी आमाले व्यक्त गरेको चिन्तालाई प्रस्तुत गरेको थियो।

रमीलाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर र एम आर्ट थिएटरले हरेक महिनाको १५ दिनमा प्रस्तुत गर्ने कविता मञ्चन कार्यक्रममा प्रस्तुत गरेको हो। तीन दशक देखि कविता लेख्दै आएकी रमीको यो पहिलो एकल कवितावाचन थियो।

उनको अर्को कविता ‘अग्नि वर्ष’मा २०४६ सालपछिको राजनीतिक तरंग, राजनीतिका आरोह अवरोहसँगै मुलुकमा गणतन्त्र आउँदासमेत शान्ति स्थापना हुन नसकेको पीडा उल्लेख थियो। त्यस्तै ‘आकार’मा तेस्रो लिंगीको पीडा, ‘पुनर्मिलन’मा द्वन्द्वपीडितहरूमाथि गणतन्त्र आगमनपछि पनि न्याय हुन नसकेको पीडा, ‘ओ कवि’मा सम्मान र पुरस्कारका लागि कविहरूले गर्ने चाकडी, ‘मनहरू’मा मानिसको अनियन्त्रित मनले निम्त्याउने समस्यालाई प्रस्तुत गरिएको थियो।

सबै कवितालाई निर्देशक तथा अभिनेता कलाकार वीरेन्द्र हमालले कलाकारहरूको सहयोगमार्फत अभिनयमा ढालेका थिए। कविता निर्देशकमा ललिता घिमिरे, दीपक पन्त, विक्रम विकलगायत थिए।

कवि एवं पत्रकार फुलमान बलले कवियत्रीले मायाप्रेममा पछिल्ला कविता केन्द्रित भएका बेला सबै प्रकारका समस्यालाई विभिन्न बिम्बको प्रयोग गर्दै राम्रा कविता लेखेको बताए। कवि विश्वविमोहन श्रेष्ठले आफ्ना कवितामार्फत रमीले थोरै शब्दमा धेरैकुरा भन्न सफल भएको बताए। अभिनेता सरोज खनालले रमीको उत्कृष्ट कवितालाई आफ्नो संस्था माला आर्टका कलाकारहरूले अभिनयमा न्याय गरेको बताए।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले तीन दशकदेखि कविता लेखे पनि बाहिर नआएकी रमीका कविता निकै प्रभावशाली भएको बताए।

प्रकाशित: १७ पुस २०७५ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App