७ वैशाख २०८१ शुक्रबार
कला

‘गाई नपाल्ने दर्शकलाई गोपी’

फिल्म ‘गोपी’की नायिका वर्षा राउत (बायाँ), नायक विपिन कार्की(बीच) र नायिका सुरक्षा पन्त (दायाँ)। तस्बिरः नागरिक

काठमाडौं –एक शिक्षित युवाले अमेरिका जाने मोहलाई त्यागेर गाउँमा नै गाईपालन गरेपछि उसको जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरेर निर्माण गरिएको फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा नायक विपिन कार्कीले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

ट्रेलरमा सँगैका साथी अमेरिका गइरहँदा आफ्नो बुवाले अमेरिका जान गरेको आग्रहलाई अस्वीकार गर्दै विपिनले गाईपालनमा चासो देखाएपछि उसको संघर्षलाई देखाइएको छ। ट्रेलर सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्मले स्वदेशमै व्यवसाय गरेर बसेका युवाहरूलाई प्रोत्साहन गर्ने बताए। ‘गाई पाल्ने दर्शकलाई भन्दा पनि गाई नपाल्ने दर्शकलाई गोपी उपयुक्त फिल्म बनेको छ’,निर्देशक लामाले भने, ‘विदेश मोह त्यागेर नेपालमै कृषि कर्ममा रमाउन चाहने युवा वर्गका लागि ‘गोपी’ प्रेरणाको स्रोत बन्न सक्छ।’ दीपेन्द्रले फिल्मले व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अवरोधका बीच पनि सफलता हात पार्ने युवाको कथा बोल्ने बताए। 

फिल्मका नायक विपिनले आफू छायांकनको अन्तिम समयमा आएर फिल्ममा आबद्ध भए पनि मेहनतपूर्वक काम गरेको बताए। ‘यो फिल्ममा अन्तिम समयमा आएर म जोडिएँ। त्यसैले आफ्नो चरित्र अनुसार तयारी  गर्न पनि पाइनँ। तर पनि फिल्म हेरेपछि दर्शकले विपिनको अभिनयमा कहिँकतै दाग पाउनुहुन्न’,उनले भने, ‘विपिनलाई दर्शकले फरक कथाको फरक गेटअपमा हेर्न पाउनेछन्।’

फिल्मका लेखक सामिप्यराज तिमल्सिनाले एउटै फ्लेभरका फिल्म हेरिरहने दर्शकका लागि ‘गोपी’को विषयबस्तु ‘युनिक’ हुने दाबी गरे। ‘निर्देशक दीपेन्द्र दाईले गाईको बारेमा अलिक फरक किसिमको फिल्म बनाऔं भनेर भनेपछि त्यसलाई कसरी प्रस्तुत गर्ने भनेर अध्ययन ग-यौं। हामीले केही समय गाई किसानसँग पनि भलाकुसारी ग¥यौं’, सामिप्यराजले भने, ‘मैले अहिलेसम्म लेखेको फिल्ममा आत्मसन्तुष्टि दिने फिल्म ‘गोपी’ नै हुनेछ।’

नायिका वर्षा राउतले फिल्म ‘गोपी’ आफ्नो लागि विशेष रहेको बताइन्। अर्की नायिका सुरक्षा पन्तले ‘गोपी’ जस्तो फिल्ममा काम गर्न हरेक कलाकार लोभिने जनाइन्। आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माता छन्।  

अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरेलगायतको अभिनय रहेको फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, गोविन्द राईको कोरियोग्राफी छ। 

प्रकाशित: ५ पुस २०७५ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App