१६ चैत्र २०८० शुक्रबार
कला

महाकुम्भमा वसन्तको कविता सार्वजनिक

काठमाडौं – कवि एवं गीतकार वसन्त चौधरीले भारतको उत्तरप्रदेशस्थित मेरठमा भएको ‘क्रान्तिधरा मेरठ साहित्य महाकुम्भ’ मा आफ्नो कविता संग्रहको विमोचनसँगै कविता पनि सुनाएका छन्। आआइएमटी विश्वविद्यालयका कुलपति, अध्यक्षलगायत त्यहाँका प्राज्ञहरूले चौधरीको हिन्दी–अंग्रेजी कविता–संग्रह ‘चाहतों के साये में’को विमोचन गरेका थिए।

कृतिमाथि समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय, हिन्दी विभाग प्रमुख श्वेता दीप्तिले कविता–संग्रहका कविता, गजल र गीतले सशक्त अभिव्यक्ति दिने गरेको बताइन्। तीन दिवसीय उक्त ‘महाकुम्भ’ को पहिलो दिनको प्रमुख अतिथि रहेका चौधरीको कृति र उनको व्यक्तित्वमाथि विभिन्न विद्वान्–विदुषीहरूले चर्चा गरेका थिए। कार्यक्रममा कवि चौधरीले हिन्दी र नेपाली भाषाका गरी तीनवटा पत्रिका र गजल–संग्रहको विमोचन गरेका थिए। 

कार्यक्रममा कवि चौधरीले साहित्यका विभिन्न विधाका सम्मान र पुरस्कारहरू वितरण गरेका थिए। कवि चौधरीबाट सम्मान पाउनेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा आख्यानकार सनत रेग्मी पनि थिए। कवि चौधरीले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध अनादिकालदेखि अविच्छिन्न रुपमा विकसित हुँदै आएको बताए। ‘सीताजीको नेपालको जनकपुरमा जन्म भयो। भारत अयोध्याका भगवान् रामचन्द्रसँग विवाह भयो। यसरी हाम्रो सम्बन्ध अनादिकालदेखि अविच्छिन्नरूपमा विकसित हुँदै आएको छ’,’उनले भने, ‘नेपालको वाल्मीकिनगरमा सीताको वनवासको प्रमाण पाइन्छ। महाभारतको रचना वेदव्यासले हिमालयको काखमा बसेर गरेका थिए। जसलाई हामी ‘व्यासगुफा’ का नामले चिन्छौं। त्यो व्यासगुफा नेपालकै मादी र सेती नदीको दोभानमा अझै सप्रमाण अवस्थित छ।’

उनले भगवान् बुद्धको उदाहरण दिँदै बुद्धले ज्ञान भारतमा प्राप्त गरेपछि बुद्धधर्मका नामले नेपाल र भारतमा मात्र नभई विश्वभर ख्याति आर्जन गरेको बताए। ‘तिनै बुद्धको जन्म नेपालमा भएको भन्दा मलाई आज यहाँ गर्व अनुभव भइरहेको छ’, उनले भने, ‘यिनै कुराले गर्दा नेपाल र भारतलाई सांस्कृतिक र धार्मिक रूपमा आवद्ध गरेको छ।’

 

प्रकाशित: ३ पुस २०७५ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App