coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तीन महिना ह्वीलचेयरमै अनुष्का

मुम्बई – बलिउड नायक शाहरुख खान र नायिकाद्वय अनुष्का शर्मा तथा कटरीना कैफ अभिनित फिल्म ‘जीरो’ आगामी डिसेम्बर २१ मा रिलिज हुँदैछ। फिल्मका दुई गीत सार्वजनिक भईसकेका छन्। बलिउडको फिल्मी बजारमा हाल फिल्मको गीत भन्दा पनि शाहरुख र अनुष्काको फिल्मी भूमिका चर्चामा छ।

फिल्ममा शाहरुख होचो कदका छन् भने अनुष्का सेरेब्रल पाल्सी नामक रोगबाट पीडित छिन्। वैज्ञानिकको भूमिकामा देखिएकी अनुष्कालाई दर्शकले फिल्मभर ह्वीलचेयरमै बसेको हेर्न पाउनेछन्। फिल्मको ट्रेलरमा अनुष्कालाई ह्वीलचेयरमै बसेको देखाइएको छ। फिल्ममा प्रष्ट बोल्न नसक्ने अनुष्काको शाहरुखसँग प्रेम हुन्छ।

समाचारअनुसार फिल्ममा आफूले निर्वाह गर्ने चरित्रलाई न्याय दिन अनुष्काले तीन महिनाको कडा प्रशिक्षण लिनु परेको थियो। उनले प्रशिक्षणका अवधिमा अक्यूपेशनल थेरापिस्ट र अडियोलोजिस्टबाट सहयोग लिएकी थिइन्। ‘यो भूमिका निर्वाह गर्दा मैले कस्तो किसिमको चुनौतिको सामना गर्नुपर्ने हो भन्ने कुरा बुझेको थिएँ। त्यसकारण पनि म यो भूमिकालाई लिएर उत्साहित थिएँ,’फिल्ममा ‘आफिया’ भूमिकामा देखिने उनले भनेकी छन्,‘मलाई अक्युक्यूपेशनल थेरापिस्ट र अडियोलोजिस्टले यो भूमिका निर्वाह गर्दा कस्तो समस्याको सामना गर्नुपर्छ भनेर सम्झाएका थिए। मैले झण्डै तीन महिना ह्वीलचेयरमै बिताएँ।’

अनुष्काले ह्वीलचेयरमा बसेर अभिनय गर्नु आफ्ना लागि अभिनय करियरकै कठिन काम रहेको बताइन्। ‘मेरो चरित्रले स्वेच्छिक विषयलाई बाध्यात्मक रुपमा शरीर चलाएर अभिनय गर्नुपर्ने बाध्यता थियो। मैले संवाद बोलिरहँदा मेरो अनुहारमा पीडाको संवेदना पनि देखाउनुपथ्र्यो। जुन आफैमा कठिन थियो,’अनुष्काले सम्झिइन्,‘सुटिङका सुरुका दिनमा मैले निर्देशकसँग केही बढी टेक लिन आग्रह गरें। त्यो आग्रह मेरा लागि फलदायी हुन्थ्यो किनकी म अझ मेहनतका साथ वास्तविक अभिनय गर्न चाहन्थें।’

अनुष्काले आफूले सही किसिमले भूमिका निभाउन चाहेको दाबी गरिन्। ‘म यो भूमिकालाई सही किसिमले निभाउन चाहन्थें। आनन्द सर(निर्देशक आनन्द एल राय) र फिल्म लेखक हिमांशु शर्माले फिल्मको स्क्रिप्ट अघि नै डाक्टरसँग यो विषयमा धेरै अध्ययन गरिसकेका थिए,’अनुष्काले भनिन्,‘जब उनीहरू फिल्मको स्क्रिप्ट लिएर मेरो भूमिका बारे बताउन आए। मैले उनीहरूको दृष्टिकोणलाई बुझेर नै डाक्टरसँग भेटघाट गरें।’

यो फिल्ममा शाहरुखले मेरठको बउसा सिंहको भूमिका निर्वाह गरेका छन्। फिल्म ‘जब तक है जान’ रिलिजको ६ वर्ष पछि शाहरुख, अनुष्का र कटरीनाको जोडी एकसाथ पुनः दर्शकमाझ आउन लागेका छन्। फिल्मको ट्रेलर शाहरुखको जन्मदिनको दिन अर्थात् गत नोभेम्बर २ मा रिलिज गरिएको थियो।

प्रकाशित: १८ मंसिर २०७५ २३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App