१५ चैत्र २०८० बिहीबार
कला

चैतमा प्रेमकथाको ‘जानी नजानी’

काठमाडौं – आगामी चैत १ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘जानी नजानी’ को फष्टलुक सार्वजनिक भएको छ । फष्टलुकमा फिल्मका प्रमुख कलाकारहरू मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा यही फिल्ममार्फत अभिनयमा ‘डेब्यु’ गर्दैछिन् ।

धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारीको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसीलगायतको पनि अभिनय छ । निर्देशक अधिकारीले आफूले टिमसँगै समय र कथा पनि राम्रो पाएकाले फिल्म निर्देशन गरेको खुलाए । ‘फिल्म दर्शकको आँखालाई नबिझाउने किसिमले तयार पारेका छौं,’उनले भने,‘अहिलेको पुस्ताले आफुलाई फिल्मका पात्रसँग जोड्न सके भने माया र मित्रताबीचको अन्यौलबाट पनि मुक्त हुनेछन् ।’

फिल्मकी प्रस्तुतकर्ता रोशनी केसीले फिल्मलाई राम्रो बनाउन हरेक प्रयास गरिएको बताईन् । ‘हामीले मेकिङमा कहिँकतै सम्झौता गरेका छैनौ । फिल्मले दर्शकको खर्चे रकमलाई खेर जान दिँदैन भन्नेमा हामी ढुक्क छौं ।’ उनले भनिन् । रोशनीले यसअघि निर्माण गरेको फिल्म ‘डाक्टर खाते’ व्यावसायिक रुपमा असफल भए पनि फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो ।

फिल्मका लेखक सामिप्यराज तिमिल्सेनाले फिल्मले प्रेमकथासँगै राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका विषयलाई पनि उठान गरेको खुलाए ।

सामिप्यराजकै कथा, पटकथा र संवाद रहेको फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्ममा मोदनाथ खनाल र सागरकाजी माली निर्माता छन् ।

प्रकाशित: १८ मंसिर २०७५ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App