७ वैशाख २०८१ शुक्रबार
कला

काठमाडौं र लुम्बिनीमा ४० देशका कलाकार सहभागि हुँदै

चाइनिज कलाकारले नेपाली परिवेश समेटेर बनाएको जलरङ चित्र। तस्बिर : एनबी गुरुङको फेसबुक

काठमाडौं - कला र पर्यटनलाई जोड्दै काठमाडौं र लुम्बिनीमा ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ हुने भएको छ। इन्टरनेसनल वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गर्न लागेको महोत्सवमा नेपालसहित ४० देशका कलाकारले कुची चलाउने छन्।

सोसाइटीका अध्यक्ष एनबी गुरुङले भौगोलिक रुपले कला र पर्यटन सँगसँगै जोडेर जलरङ क्यानभासमा भर्ने शैली नौलो भएको बताए। ‘कलाकारले कलाको ज्ञानमात्रै हैन। देशकै पर्यटनमा योगदान पु-याउनेछन्,’उनले भने,‘कलामा संलग्न कलाकारका लागि कला प्रवद्र्धनको बाटो खुलाउन महोत्सव सहयोगी हुनेछ।’

महोत्सवमा नेपाल पर्यटन बोर्डले सहकार्य गरेको छ। नेपालमा सन् २०१६ मा सहभागी विदेशी कलाकारले नेपाली समाजको अवस्थालाई नजिकबाट देखेकैले पनि यसपटक धेरै कलाकारले नेपाल यात्रालाई दोहो-याएका छन्। पर्यटकीय सिजनको मौका पारेर आयोजना हुन लागेको महोत्सवमा सहभागी हुन यसपटक अमेरिका, भारत, चीन, अल्बानिया, अष्ट्रेलिया, जर्मनी, स्टोनियालगायतका मुलुकबाट कलाकार आउँदैछन्।

मंसिर १७ गतेबाट मंसिर २३ सम्म चल्ने महोत्सवको उद्घाटन राजधानीमा भएसँगै कार्यशालाको सुरुवात हुनेछ। पहिलो दिनको कार्यशालापछि सांस्कृतिक संस्थानले विदेशी पाहुनाको स्वागतमा नेपाली कला संस्कृतिसहितको सांस्कृतिक कार्यक्रम गर्नेछ। दोस्रो दिनदेखि चार दिनसम्म लुम्बिनीमा कला कार्यशालासँगै कला संस्कृति प्रवद्र्धन सत्र सञ्चालन हुनेछ। यो समयमा कलाकारले मायादेवी मन्दिर वरपर जलरङको चित्र कोर्नेछन्। साँझको समयमा कलाकारले कार्यशालाका क्रममा अनुभव गरेका कला र संस्कृतिका कुरा सुनाउनेछन्। आयोजकले कलाकारको कला धारणा र कलाको मूल्यांकन गरी उत्कृष्ट दशजनालाई अवार्ड प्रदान गर्नेछन्।

लुम्बिनीबाट काठमाडौं आएपछि राजधानीका विभिन्न स्थानमा गई कलाकारले अर्को चरणको कला कोर्नेछन्। महोत्सवको अन्तिम अन्तिम दिन लुम्बिनी र राजधानीमा बनाइएका कलाकृति प्रदर्शनीमा राखिनेछन्। महोत्सव अघि विदेशबाट ल्याइएका चित्रहरू उद्घाटनसत्रदेखि नै नेपाल कला परिषदमा प्रदर्शनीमा राखिनेछ। महोत्सवमा सामेल हुने नेपाली कलाकारले २ हजार नेपाली रुपैयाँ र विदेशीले ८० डलर प्रवेश शुल्क बुझाउनुपर्ने छ। प्रदर्शनीका लागि ३ सय कलाकृति नेपाल भित्रिने सोसाइटीका महासचिव दिपेन्द्र बनेपालीले बताए। ‘पहिलो महोत्सवपछि जलरङले पनि अन्य रङले झैं चित्रमा उत्कृष्टता भर्न सक्ने रहेछ भन्ने कलाकारले बुझेका छन्,’ बनेपालीले भने, ‘अब यस विधामा लाग्ने नयाँ पुराना कलाकार जुर्मुराएका छन्। महोत्सवमा एकअर्काे देशको कला शैली, प्रविधि तथा संस्कृतिको सिकाइ आदानप्रदान हुँदा नेपाली कला अन्तर्राष्ट्रियस्तरको पहुँचमा पुग्नेछ।’

अभ्यासमा संलग्न कलाकारहरूले चित्र बनाउन प्रयोग गरिने रङ, कागजलगायतमा ध्यान दिन सक्यो भने एक्रोलिक तथा तैल चित्र जत्तिकै आयु र भाव जलरङ चित्रले बोक्न सक्ने बताए।

महोत्सवका लागि करिब ३० लाख खर्च हुने आयोजकले जनाएको छ। यसअघि सन् २०१६ मा भएको पहिलो महोत्सव राजधानी र घान्दु्रकमा एकसाथ आयोजना गरिएको थियो।

प्रकाशित: १४ मंसिर २०७५ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App