१६ चैत्र २०८० शुक्रबार
कला

प्राचीन धरोहर छायाँचित्रमा

काठमाडौं – भारतवर्षको हिन्दु धर्मसँग जोडिएको स्कन्द पुराणको इतिहास निकै लामो छ । नेपालको इतिहासमा भने इस्वी संंवत ८१० मा उत्तरलिच्छवी लिपीमा लेखिएको स्कन्द पुराण अझै हेर्न र पढ्न पाइन्छ।

हरेक कालखण्डका फरक इतिहास भएजस्तै लिच्छवीकालको स्कन्द पुराण हेर्न नेपालको एकमात्र राष्ट्रिय अभिलेखालय नै पुग्नुपर्छ । अभिलेखालयले स्कन्द पुराणको छायाँचित्र सर्वसाधारणका लागि प्रदर्शनीमा राखेको छ । उत्तरलिच्छवी लिपीमै लेखिएकोे अलौकिक शैवतन्त्र ग्रन्थको छायाँचित्र पनि प्रदर्शनीमा छ।

उत्तरलिच्छवी लिपीमै लेखिएको व्याकरण सम्बन्धी कृदभाष्य ग्रन्थ भाषा इतिहासकै मुख्य अंश मानिन्छ । यो ग्रन्थ विश्वमै दुर्लभ छ । राजा मानदेवले आमा राज्यवतीको नाममा वामन मूर्तिमा लिच्छवी अभिलेख छाप छापेका थिए । त्यो ने.सं. ३८९ मा बनेको थियो । ने.सं. ५१६ मा बनेको शिधर्मोत्तर ताडपत्रले पनि लिच्छवी कालखण्ड सम्झाउँछ । त्यो बेलाको धार्मिक युगको झल्को दिने यस्ता धेरै ग्रन्थ र दस्तावेजका छायाँचित्र अभिलेखालयको एक कोठामा सजिएका छन्।

भोजपत्रमा लेखिएको चण्डीको दर्शन दसैंमासमा संयोग बन्न सक्छ । गोलाकारमा लेखिएको चण्डी झलक्क हेर्दा हातका औंलाका चित्रजस्ता देखिन्छन् । तर त्यो सिंगो दसैंको मर्म बोक्ने सूक्ष्म आकारको पूर्ण चण्डीपाठ हो । मैथली अर्थात तिरहुत लिपीमा लेखिएको ताडपत्र ग्रन्थस्थित आदिकर्म विधिको अंश मैथली समाजकै लागि नयाँ हो।

११ औं शताब्दीको पालीभाषामा लिखित ग्रन्थ पालीभाषा नियमको संग्रहले भाषाविद्लाई आकर्षित गर्न सक्छ । पाली भाषाकै ब्राम्ही लिपीका अंशहरू प्रदर्शनीको आकर्षण बनेका छन् । गिल्गिट लिपीमा लेखिएको प्राचीन हस्तलिखित ग्रन्थमा महायान सूत्र, रत्वकेतु परिवतर्न विधि उल्लेख छ । यो ग्रन्थ पश्चिमा मुलुकका अनुसन्धानकर्ताले लिएर गएका थिए । छैठौ शताब्दीको यो ग्रन्थपछि फिर्ता आएको हो।

ने.सं.२९० मा लेखिएको शिवग्रन्थ अमेरिकाले फिर्ता गरेको थियो । त्यसको गाताचित्रको छायाँप्रति प्रदर्शनीको आकर्षण बनेको छ । विज्ञका अनुसार अग्नि पुराणको कार्यान्वयन नेपालमा नभए पनि विदेशीले त्यसको लाभ लिइरहेका छन् । त्यसको गाताचित्र भने नेपालमा रहेको छ  । हितोपदेश, जयाक्षर संहिता, १६ अर्हतहरूको पूजा साधना अभ्यास पुस्तक, रत्नकेतु धारणी महायान सुत्र, पञ्चरक्षा सूत्रमध्येको एक महासहस्र प्रमर्दनाम सूत्रको ज्ञान लिन सकिने अवसर प्रदर्शनीले दिएको छ । पद्म संभवको हस्तलिखित ग्रन्थ, मणिकाबुम ग्रन्थ, हिमाली क्षेत्रमा अभ्यास गरिने बोन परम्पराको वर्णन ग्रन्थको सामान्य झलक प्रदर्शनीले उपलब्ध गराएको छ।

विश्वासतत्व संहिताको गाताचित्र होस् वा पुराण सम्बन्धित विष्णु धर्म ताण्डव ग्रन्थको गाताचित्र नै किन नहोस् दर्शकका लागि नयाँ लाग्छन् । वाल्मिकी रामायण, बंगालीदेवी माहत्म्य, भागवत गीता, बौद्धधर्म ग्रन्थ, विष्णुधर्म, शैवधर्म, मैथली ग्रन्थका गाताचित्र हेर्न पनि प्रदर्शनीमै पुग्नुपर्छ । बौद्धधर्म गुरुले बौद्धमार्गीको आचरण जनाउने पुस्तक बौद्धधर्मावलम्बीका लागि अनुकरणीय मानिन्छ।

त्रेतायुगको रामवतारको जानकारी दिने इ.सं.९०८ मा बनेको लंकावतारको चित्रले धार्मिक युगको बयान गर्छ । धार्मिकसँगै लोकजीवनसँग जोडिएको आयुर्वेद विधाको प्राचीन ग्रन्थको झलक अहिलेको नयाँ पुस्तालाई ज्ञानबद्र्धक छ । क्रिपाविधि, घृतविधि, प्राण विधि तथा आयुर्वेदिय पद्धतिको मौलिक ज्ञान दिने पुरानो समाज चलाउने विधि अहिलेको समाजको लागि पनि मार्गदर्शक बन्न सक्छ । उतिबेला कालामन्त्रबाट बच्ने उपायका रुपमा सत्य बोल्ने यन्त्र निर्माण भएको इतिहास पनि प्रदर्शनीमा छ।

ने.सं. ३३५ को प्रज्ञापारमिता, निर्देशतन्त्रको आकृति झलकले उतिबेलाको समाज व्यवस्थापन गर्न बनेका नियमको सम्झना गराउँछ । कृष्ण मञ्जुश्री गुफा बस्दा गर्ने साधना, डाकिनी देवी चित्त तिलक अभ्यासको इतिहास, भृकुटी र भोट राजाको जीवनी आदिका बारेमा प्रारम्भिक जानकारी दिने प्राचिन दस्तावेज अनुसन्धानकर्मीको खुराक बन्न सक्छ।

जयस्थिति मल्लले तयार पारेको कानून सम्बन्धी नेपालकै पहिलो न्याय विकासिनी पुस्तकले त्यो युगको इतिहास बोकेको छ । जुन वर्तमान नेपाली कानुनको मार्गदर्शक पनि हो । त्यस्तै वि.सं. १९१० को मुलुकी ऐन लगायत पुराना कालखण्डको न्याय निरुपण बोल्ने दस्तावेजका छायाँचित्र प्रदर्शनीमा रहेका छन् । प्रताप मल्लको पालामा बनेको पूर्णिमाका बारेमा लेखिएको ग्रन्थको हस्तीहाडको गाताको छायाँचित्रले मल्लकालको दैनन्दिनी बोल्छ । उनकै पालाको सूर्यचिन्ह अंकित स्याहामोहरले त्यो बेलाको राजकाजको जानकारी दिन्छ ।  ने.स. ८३८ को योगग्रन्थको सिद्ध सिद्धान्त पद्दति आम मानिसको निरोगको कारक बन्न सक्छ । त्यसको प्रवद्र्धन नभएपनि अध्ययनका लागि अभिलेखालयमा उपलब्ध रहेको छ।

नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको दिव्य उपदेश र उनको जन्मकुण्डली पनि छायाँचित्र प्रदर्शनीमा अटाएको छ । राजा विरेन्द्रको पञ्जापत्रको छायाँचित्रले राजवंशको अन्तिम कालखण्डको स्मरण हेर्नेहरूलाई गराउँछ । राष्ट्रिय अभिलेखलयकी प्रमुख शौभाग्य प्रधानाङ्गले अभिलेखालयको प्रयोगको अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको बताइन् । ‘अभिलेखालय पुराना वस्तु थुपार्नेमात्र हैन यसको उपयोग गर्ने थलो पनि हो,’ उनले भनिन्, ‘यहाँको बारेमा प्रचारप्रसार गर्ने, अध्ययनकर्ता, विद्यार्थी वर्ग तथा राष्ट्रिय विकासकै लागि सहयोग होस भन्ने हिसाबले प्रदर्शनी गरेका हौं ।’ उनले अध्ययन अनुसन्धानकर्ताहरूले प्राय जसो दोस्रो स्रोतको प्रयोग गरिरहेको अवस्थामा अभिलेखालय पुगेर प्राथमिक स्रोत नै अनुसन्धानमा लिन प्रदर्शनीले प्रेरणा दिने दाबी गरिन्।

उनका अनुसार अभिलेखालयमा करिब ३२ हजार हाराहारी हस्तलिखित ग्रन्थ छन् । जसमध्ये दश हजार तिब्बतियन ग्रन्थ छन् । लालमोहर, सनद, स्यहामोहर जस्ता दस्तावेज दुई लाख हाराहारीका छन् । ‘देशभरीका संकलन गरुेका दुइलाख ग्रन्थ, कुमारीचोक, परराष्ट्र मन्त्रालयका महत्वपूर्ण दस्तावेजहरूले नेपालको इतिहास बताउदै भविष्य सुधार्न सहयोग गर्छ,’ उनले थपिन्,  ‘प्रदर्शनीमा भने केही विशेष महत्व भएका छायाँचित्रहरू नमुनाको रुपमा राखेका छौं।’

लिच्छवीकाल, आठौका सताब्दीका ग्रन्थहरु, जयस्थिती मल्लको न्यायविकासीनी, लुम्बिनीको खम्बाको जयवर्माको अभिलेखका छायाँचित्र लगायतका सामग्री रहेका छन् । ती छायाँचित्रका वास्तविक स्वरुप भने अभिलेखालयमा सुरक्षित छन्।

प्रकाशित: २९ आश्विन २०७५ २३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App