९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

‘छक्का पञ्जा ३ ’ हल्का होइन, हलुका रमाइलो

स्टार : २
निर्देशन : दीपाश्री निरौला
लेखक : दीपकराज गिरी
निर्माता : दीपकराज गिरी र अन्य।
कलाकार : नीर शाह, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, , जयनन्द लामा, शिशिर वाङदेल, दीपिका प्रसाईं आदि।

नेपालमा ‘कन्टेन्ट बेस्ड’ लेखनको फेसन छ । साहित्य होस् वा फिल्म, ‘कन्टेन्ट’ पस्कने होड सबैमा देखिन्छ । तर ‘कन्टेन्ट’ प्रतिको बुझाइ र तिनको प्रस्तुतिले  फेरि पनि कथा भनेको साधन मात्र होइन, साध्य पनि हो भन्ने सत्यलाई सर्जकले बुझ्न नसकेकोे देखिन्छ।

 पछिल्लो समय धेरै साहित्यकारका किताबमा  छाउपढी प्रथा, वादी, जातीय छुवाछूत, मधेश ‘कन्टेन्ट’को रुपमा अटाउने गरेका छन्  । तर, दुर्भाग्य के छ भने न तिनको प्रस्तुतिमा सम्बन्धित समुदायले आफ्नोपन महसुस गर्न सकेको छ न पाठकले  यस्ता कृति पढेर पढ्नुको आनन्द लिन सकेका छन् । वादी सम्बन्धी विषयमा पछिल्लो समय बजारमा आएका किताब र फिल्मले मुद्दा खेप्नुले साध्य र साधनको दुर्दशा बयान गर्छन्।

फिल्मभरि सरकारी स्कुलका विद्यार्थी पढ्न पाउँदैनन् तर अन्त्यमा त्यही स्कुलका सारा विद्यार्थी एसइईमा राम्रो ग्रेड ल्याउँछन् अनि अझ एक जना विद्यार्थीले त जिल्ला टप नै गर्छन् । सरकारी स्कुलमा हुने ‘राजनीति’ र बेथितीको परिणाम  यस्तै सफलता हो भने त्यसको विरोध किन?

‘कन्टेन्ट’को दाबी सहित गत बुधबारबाट ‘छक्का पञ्जा ३’ बजारमा आएको छ । यसले पनि  फिल्मका लागि सुन्दर ‘कन्टेन्ट’  उठान गरेकोे छ  तर त्यसको प्रस्तुतिमा त्यतिकै हेलचेक्र्याँइ । फिल्म हेरिसकेपछि लाग्छ, लेखक/निर्देशकमा ‘कन्टेन्ट’को बुझाइमा ठूलो समस्या छ । यही बुझाइको समस्याले राम्रो विषय उठाउँदा उठाउँदै पनि ‘छक्का पञ्जा ३’ यसको लाभ लिनबाट चुकेको छ।

फिल्मले सरकारी स्कुलको बेथितिलाई (लेखक/निर्देशकले बारम्बार राजनीति भने पनि फिल्मले स्कुलको राजनीतिलाई छोएको छैन) केन्द्रमा राखेर धेरै कथाहरू बुनेको छ । तर मुल मुद्दालाई छाडेर फिल्म बेला बेलामा यति धेरै बहकिन्छ कि लेखक निर्देशकले दाबी गरेको ‘कन्टेन्ट’ राम्ररी स्थापित नै हुन पाउँदैन । अझ फिल्मको ‘म्याजिकल’ अन्त्यले त पूरा समय फिल्मले प्रवाह गर्न खोजेको सन्देश नै मारिदिएकोे छ । फिल्मभरि सरकारी स्कुलका विद्यार्थी पढ्न पाउँदैनन् तर अन्त्यमा त्यही स्कुलका सारा विद्यार्थी एसइईमा राम्रो ग्रेड ल्याउँछन् अनि अझ एक जना विद्यार्थीले त जिल्ला टप नै गर्छन् । सरकारी स्कुलमा हुने ‘राजनीति’ र बेथितीको परिणाम  यस्तै सफलता हो भने त्यसको विरोध किन?

खानी डाँडाको झुलेबस्तीस्थित कुनै सरकारी स्कुलमा भएको बेथितीलाई केन्द्रमा राखेर बुनिएको कथाले सामुदायिक (सरकारी भनिने) स्कुलको अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । पढाउने शिक्षक राजनीतिक संगठनमा सक्रिय हुनु, विभिन्न बहानामा शिक्षक पढाउन नजानु, अक्षम शिक्षकले विद्यार्थी पढाउनु, खेताला शिक्षकको भर पर्नु आदि   आदि फिल्मले पहिचान गरेका समस्या हुन् । सरकारी स्कुलसँग सन्निकट जो कोहीलाई पनि यी समस्या आफैंले देखेजस्तो लाग्छ । समस्याको पहिचानमा लेखक दीपकराज गिरीको मेहनत प्रशंसनीय छ । तर, यिनै समस्याको प्रस्तुतिमा नियन्त्रण राख्न नसक्दा फिल्मले भन्न खोजेको कुरा दर्शकको मनमा गढ्दैन । अझ चरित्रको अतिरञ्जित प्रस्तुतिले फिल्मको मर्मलाई ओझलमा पारेको छ । उनीहरूबाट कमेडी गराउने लोभमा उनीहरूको चरित्रमाथि अलि ज्यादा नै ‘लिबर्टी’ लिइएको छ जसले फिल्म सतहमै अड्किएको छ।

शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, यमन श्रेष्ठ कसैको पनि चरित्र चित्रण विश्वसनीय छैन । उनीहरूले देखाउने समस्या हाम्रै जस्ता लागे पनि उनीहरू हामीले देखेजस्ता लाग्दैनन् । ‘कमेडी जानरा’को तर्कमा यस्ता पात्रको सार्थकतामाथि बहस गर्न सकिएला तर यसले फिल्मलाई बलियो बनाउँदैन/बनाएको छैन । दर्शकले औधी मनपराउँदा मनपराउँदै पनि निश्चित समूहलाई ‘छक्का पञ्जा’ सिरिज मन परेको छैन, कारण लेखक/निर्देशकले कमेडी गराउने लोभमा नाघेको दायरा हो ।  कन्सल्टेन्सीको मालिकलाई गाउँ घर कुदाउने र अदालतले मुद्दा छिनोफानो गर्न नसकेर पुलिसलाई जिम्मा लगाउने दृश्यले यसअघिको शृंखला मै  धेरैको गाली खाएको सायद मेकरले बिर्सिएका छैनन् । फिल्मले छानेको युनिभर्स भित्र जति पनि लिबर्टी लिन पाइन्छ तर त्यो ‘अथेन्टिक’ हुनुपर्छ । तर यो फिल्ममा पनि ‘अथेन्टिक’ नलाग्ने दृश्यको भरमार छ जसले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट परिपक्व फिल्म हेर्ने धेरैको अपेक्षा यो पटक पनि पूरा भएको छैन। 

पात्र परिचयमा लामो समय रुमल्लिएको फिल्मले गति समात्छ  युके अथार्त् उजेली कुमारी (दीपिका प्रसाइँ) को झुलेबस्ती आगमनसँगै  । अष्ट्रेलिया जाने कागजपत्र बनाउन गाउँ आएकी उजेली जब आफ्नै बुबा हेडमास्टर भएको स्कुलमा विद्यार्थीको बिजोग देख्छे, स्कुलको सुधारका लागि कम्मर कस्छे । यसका लागि पहिला त उसले आफ्नो बाबु शिवहरी पौडेललाई कडा बन्न आग्रह गर्छे तर त्यतिले नभएपछि सिस्टम सुधार्न आफैं सिस्टममा पस्ने निर्णय गर्छे । उजेली यो अभियानमा सफल हुन्छे कि हुन्न ? २ घन्टा २५ मिनेट लामो फिल्म यसैको सेरोफेरोमा बुनिएको छ।

‘सेन्सलेस कमेडी’ बेचेको आरोप चिर्न दीपक/दीपा एन्ड कम्पनीले तेस्रो शृंखलामा सरकारी स्कुल र बोर्डिङ स्कुलको भिन्नतालाई कथ्यमा समाहित गरेका छन् । दीपक÷दीपाको यो प्रयास स्तुत्य छ । तर, कुनै समय मह संचारले निर्माण गरेको ‘शिक्षा’ शीर्षकको टेलिफिल्म हेरेका दर्शकलाई यो कथा÷प्रस्तुति नयाँ लाग्दैन । सरकारी स्कुललाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा निर्माण भएको टेलिफिल्म र लेखक गिरीले उठाएको विषयमा समानता छ । विषय मात्र होइन, केही चरित्र उस्तै पनि लाग्छन् । सो टेलिफिल्ममा बुहारी बनेर आएकी सिम्पल खनालले स्कुलको अवस्था सुधार्न गरेको विद्रोह र ‘छक्का पञ्जा’मा दीपिका बुहारी बनेपछि भत्किएको काजी (नीर शाह) को मनोमानी मिल्नु संयोग जस्तो मात्र लाग्दैन । यस्तै संयोग राजा (दीपकराज गिरी) अनपढ हुने र अन्त्यमा स्कुल पढ्न जाने कुरामा पनि देखिन्छ । ‘शिक्षा’मा बनारसको नक्कली सर्टिफिकेट लिएर पढाइरहेका जय किशन बस्नेत अन्तिममा पढाई अनुसारको काम भन्दै स्कुलमा कुचो लगाउन जान्छन् भने हरिवंश आचार्य घन्टी बजाउने पिउन बनेका छन् । ‘छक्का पञ्जा’ मा समावेश कक्षा कोठाका केही दृश्य पनि ‘शिक्षा’सँग दुरुस्त नमिले पनि उस्तै उस्तै लाग्छन् ।   त्यति हुँदा हुँदै पनि फिल्मले शैक्षिक विकृतिको परिणामलाई फिल्मभित्र स्थापित गर्न सकेको छैन।

सरकारी स्कुलमा भइरहेको राजनीति बोर्डिङ स्कुल फस्टाउने मुख्य कारण हो । यसमा बोर्डिङ स्कुलका धनीले प्रशस्त चलखेल गरेका छन् । फिल्ममा यसको संकेत छ तर त्यो पर्दामा स्थापित भएको छैन । सरकारी स्कुलमा पढाई हुन छाडेपछि अभिभावक विद्यार्थीलाई लिएर बोर्डिङ स्कुलतिर लागेको कुरा स्थापित गर्न सकेको भए फिल्मले भन्न खोजेको कुराले सार्थकता पाउँथ्यो । फिल्मभरि पात्रहरू राजनीति गर्न कुद्छन् तर त्यसबाट हुने लाभको कहीँ उल्लेख छैन । यसले सरकारी स्कुलमा हुने राजनीति पात्रको बोलीमा मात्र सीमित भएको छ । फिल्ममा उजेलीको चरित्र मात्र बलियो छ । तर यो पनि अन्तिममा राजा बनेका दीपकराज गिरीको हिरोइज्ममा हराएको छ । पूरा फिल्म बोकेर हिडेकी उजेलीको काँधबाट राजाको चरित्रले अन्तिममा फिल्म छिनेको छ । आफूले सिर्जना गरेको समस्याको समाधान राजाले हैन, उजेली आफैंले निकालेको भए झन् मजा आउँथ्यो।

विषयलाई इमान्दारीका साथ प्रस्तुत गर्ने मामलामा फिल्म चुके पनि यो फिल्मको सबल पक्ष हो, यसले दर्शकलाई दुई घन्टा २५ मिनेट बाँधेर राख्छ । अघिल्ला शृंखलाहरूमा झैं हँसाउन कै लागि राखिएका लयात्मक  र द्धिअर्थी संवाद छैनन् । कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन सिवाय दीपिका प्रसाइँ । उनको अंग्रेजी संवाद प्रवाह बनाबटी छ र भूमिका अनुसार आफूलाई अभिनयमा सावित गर्न सकेकी छैनन् । केदार घिमिरेसँगै जयनन्द लामाको ‘कमिक टाइमिङ’ गज्जब छ । पुरुषोत्तम प्रधानको छायांकन बिझाउँदैन । दुवै गीत श्रुति मधुर छन् तर गीत सही ठाउँमा आएका छैनन् । दीपाश्री निरौलाको निर्देशन पनि पहिलो दोस्रो शृंखला झैं ऐजन ऐजन छ।

‘सेन्सलेस’ कमेडी बेचेको आरोप चिर्न ‘छक्का पञ्जा’ टिमको यो प्रयास सह्रानीय छ । तर, फिल्मलाई विषय झैं गहिराइमा लैजान नसक्दा फिल्म, फिल्ममा केदार घिमिरेले बोल्ने थेगो जस्तो ‘हल्का रमाइलो’ हैन, हलुका रमाइलोमा मात्र सीमित भएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App