५ वैशाख २०८१ बुधबार
कला

बसन्तकाे मधेश बुझाउने पुस्तक

पुस्तक सार्वजनिक गर्दै बायाँबाट क्रमशः बसन्त बस्नेत, मोहना अन्सारी, महन्थ ठाकुर, सुवास नेम्बाङ, बाबुराम भट्टराई र रामवरण यादव।

काठमाडौं – पत्रकार तथा लेखक बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय’ सार्वजनिक भएको छ। राजधानीमा शनिबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ र लेखकले संयुक्त रुपमा पुस्तक विमोचन गरे।

पूर्व राष्ट्रपति डा. यादवले पुस्तकमा तथ्यगत विषय रहेको र मधेस बुझ्न उपयोगी हुने बताए।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष ठाकुरले पुस्तकले ७२ सालमा घटेका घटनाका विषयमा लेखकले तटस्थता प्रस्तुत गरेको बताए । ‘मधेस आन्दोलनका समयमा घटेका घटनालाई यथार्थपूर्ण किसिमले प्रस्तुत गरिएको छ। मधेसमा भएको भेदभावको विरुद्धमा आन्दोलन भएको हो । त्यसलाई पुस्तकले उजागर गरेको छ,’उनले भने ।  राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता अन्सारीले संविधान, नाकाबन्दी र भूकम्पको सेरोफेरोमा आधारित रहेर लेखिएको पुस्तकले तेस्रो मधेस आन्दोलनका तथ्यपूर्ण विषयलाई उजागर गरेको बताइन् । ‘मैले दुई तीनपटक पुस्तक पढें । मधेसमा बस्ने जाति, समुदाय एवम् इतिहासको विषयमा रोचक किसिमले प्रस्तुत गरिएको छ,’ उनले भनिन्।

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखकले जोखिमयुक्त विषयमा कलम चलाएको बताए । ‘यस्तो गहन र वर्जित विषयमा कसरी हात चलाए होलान् भन्ने लागेको छ । यति ठूलो संघर्षबाट ल्याइएको संविधान नेपालको एउटा ठूलो तप्का त्यसप्रति असन्तुष्ट रहेको छ,’उनले भने,‘नेपालका जातीय, क्षेत्रीय, महिलाको क्षेत्रमा, पिछडिएका पक्षमा बोल्नेहरूलाई अझै पनि डलरवादीको आरोप लाग्ने गरेको छ,’उनले भने,‘लेखकले पुस्तकमा मधेस आन्दोलन, थारु आन्दोलन एवम् मुस्लिमहरूका विषयलाई समेत समेटेका छन् । किताब पठनीय छ।’

कार्यक्रममा लेखक बस्नेतले आफूले कान्तिपुरमा रिपोर्टिङमा देखेका अनुभूतिलाई पुस्तकमा समेटेको बताए। पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो।

प्रकाशित: २४ भाद्र २०७५ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App