७ वैशाख २०८१ शुक्रबार
कला

‘साहित्य लेख्न पुरस्कार नै चाहिन्छ भन्ने छैन’

काठमाडौं – दुई दिन अघि अर्थात गत शनिबार वर्षको ‘देवकोटा–लु सुन प्रज्ञा पुरस्कार’बाट पुरस्कृत भएका साहित्यकार शान्तदास मानन्धरले २०७४ सालको ‘जगदम्बा श्री पुरस्कार’ पाउने भएका छन्।

मदन पुरस्कार गुठीको सोमबारको साधारण सभा बैठकले दुई लाख रुपैंयाँ राशीको पुरस्कार मानन्धरलाई दिने निर्णय गरेको हो । ५ दशक बढीदेखि हालसम्म निरन्तर बाल साहित्यमा कलम चलाउँदै आएका मानन्धरसँग गरिएको संवादः–

मदन पुरस्कार गुठीले तपाईलाई ‘जगदम्बा श्री’ पुरस्कार दिने निर्णय गर्दा कस्तो अनुभूति भयो ?
गुठीको निर्णयले म खुशी छु । म मात्र होइन, बाल साहित्यमा लाग्ने स्रष्टाका लागि पनि यो खुशीको कुरा हो । यो निर्णयले नयाँ पुस्तालाई पनि बाल साहित्यमा लाग्न प्रोत्साहन दिएको छ।

यो निर्णय आउँदा के गरिरहनुभएको थियो ?
म घरमा नै थिएँ । उहाँहरुले मलाई ‘हामी यस्तो निर्णय गरेका छौं’ भनेर फोन गर्नुभयो । मैले ‘ठिकै छ । म खुशी छु’ भने।

पुरस्कार स्वरुप दुई लाख रुपैंयाँ पाउँदै हुनुहुन्छ । यो राशि कहाँ खर्च गर्नुहुन्छ ?
बाल साहित्यमा नै खर्च गर्छु । अहिलेका केटाकेटीलाई बाल साहित्यमार्फत शिक्षाको खाँचो छ । त्यो खाँचोमा आफूले भ्याएसम्म पूर्ति गर्नका लागि खर्च गर्नेछु । बाल साहित्यबाहेक अन्य क्षेत्रमा यो रकम खर्च गर्दिन।

बाल साहित्यमा नै बढी समय दिनुको कारण के होला ?
त्यस्तो खासै केही कारण छैन । मैले बाल साहित्यबाहेकका अन्य साहित्यमा पनि कलम चलाएको छु । तर मेरो प्राथमिकतामा बालबालिका नै बढी छन् । म उनीहरूसँगै रमाउँछु । उनीहरुलाई पठनपाठनका विषय सिकाउँदा सिकाउँदै म बाल साहित्यमा लागेको हुँ । यसमै लामो समय बिताएकाले पनि बाल साहित्यको रस मीठो छ।

अहिलेको समयमा बाल साहित्यको अवस्था कस्तो छ ?
अहिले केही मात्रामा फष्टाएको देखेको छु । खास गरी नयाँ पुस्ता पनि बाल साहित्यमा सक्रिय भएको पाएको छु । बाल साहित्यमा नयाँ अनुहारको आगमन हुनु हामी पुराना पुस्ताका लागि खुशीको कुरा हो । तर पनि हामीले सोचे अनुसारको विकास भएको देखेका छैनौं । हामी साहित्यकार छरिएका छौं । अब एकै ठाउँ भेला भएर बाल साहित्यको बारेमा के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा बहस गर्नु आवश्यक भइसकेको छ। 

बाल साहित्यको विकासका लागि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?
मुख्य कुरा बाल साहित्यको के हो भन्नेकुरा थाहा पाउनुपर्छ । हाम्रो सरकारसँग धेरै मन्त्रालय छ । तर कला, साहित्यकै लागि भनेर मन्त्रालय बनेका छैनन् । जसरी कुनै चिकित्सकले बिरामीको रोग के हो भनेर सूक्ष्म अध्ययन गरी पत्ता लगाएर त्यसको उपचार गर्छ । त्यसरी नै बाल साहित्यको सूक्ष्म विषय के हो त्यो अध्ययन गरेर त्यसको वृत्ति विकासमा लाग्नुपर्छ । बाल साहित्यमा लाग्न चाहने पुस्तालाई प्रशिक्षणको व्यवस्था गरिनुपर्छ।

बाल साहित्यमा जति काम भएको छ, त्यसबाट तपाईं सन्तुष्त हुनुहुन्छ ?
म सन्तुष्ट छैन । हामीले अहिलेसम्म बाल साहित्यमा जति काम गरेका छौं । त्यो हाम्रो बलबुताले गरेका हौं । म त्यो बेला सन्तुष्ट हुन्छु, जुन समय बालबालिकामा आत्मविश्वास, स्वस्थ्य जीवन, चेतनशील दिमाग हुन्छ । बालबालिकामा यी कुराको अनुभूति भएपछि मात्र सन्तुष्टि हुने आधार पाउँछु । नत्र चाहे जस्तो सन्तुष्टि मिल्न सक्दैन।

पुरस्कार पाउने खबर सुनेपछि नयाँ जोश जाँगर आयो कि ?  
पुरस्कार पाउनासाथ प्रेरणा र प्रोत्साहन मिल्ने भन्ने कुरा होइन । काम गर्न चाहने मान्छे जोकोही पनि पुरस्कारकै लागि काम गर्छन् भन्ने छैन । साहित्य लेख्न प्रोत्साहन वा प्रेरणा चाहिन्छ भन्ने मलाई लाग्दैन।
                                                                                                                                 प्रस्तुतिः नेमिष गौतम

 

प्रकाशित: १२ भाद्र २०७५ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App