१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

पुस्तकमा कुलचन्द्रको जीवनकथा

काठमाडौं– संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव तथा युनिसेफका पूर्व कार्यकारी उपनिर्देशक कुलचन्द्र गौतमको जीवनी पुस्तकका रुपमा पाठकमाझ आउने भएको छ।

पब्लिकेसन्स नेपालयले कुलचन्द्रको पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी– माइ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेशन्स (गुल्मीबाट उठेका विश्व नागरिक– नेपालको पहाडहरुदेखि राष्ट्रसंघका बैठकहरु सम्मको मेरो यात्रा)’ आगामी सोमबारबाट पाठकमाझ ल्याउन लागेको हो ।नेपालयका अनुसार पुस्तक गौतमको ग्रामीण बाल्यकालबाट सुरु हुनेछ । विकट गाउँदेखि युनिसेफको उच्च ओहदामा पुग्दाको कुलचन्द्रको संघर्ष र सफलताको कथालाई पुस्तकमा प्रस्तुत गरिएको छ । ‘त्यसपछिको तीन दसकसम्मका उथलपुथल र उकाली ओराली यात्राहरुका रोचक वर्णन पुस्तकमा उल्लेखित छ ।

यात्रामा नेल्शन मण्डेला, आङ सान सू की, बिल गेट्स, एडवार्ड शेभर्नात्जेदेखि थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज, युनिसेफका थुप्रै सद्भावनादूतहरुसम्मका रोचक भेटघाटहरुको प्रसंगलाई पुस्तकमा उल्लेख गरिएको छ,’नेपालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आफ्ना यिनै अनुभवका आधारमा गौतमले नेपाल, संयुक्त राष्ट्रसंघदेखि समग्र विश्व समाजकै भविष्यका बारेमा आफ्ना धारणासमेत प्रस्तुत गरेका छन्।’

पुस्तक प्रस्तावनामा राष्ट्रपति विद्यादेवी भण्डारीले युनिसेफमा गौतमको योगदानले संसारलाई आमा तथा बालबालिकाका निम्ति अझ सुरक्षित स्थानमा परिणत गरेको उल्लेख गरेकी छिन् । ‘नेपालको शान्ति प्रक्रियामा गौतमको संलग्नताले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रित गर्न सघाउ पुर्याएको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अवकाशका दिनमा पनि अन्तर्राष्ट्रिय प्रशासनको अनुभवसहित नागरिक समाजको अगुवाका रुपमा योगदान दिइरहने गौतमको जीवनपथ अरुका निम्ति पनि अनुकरणीय हुनसक्छ।’

गौतमका सहकर्मी विकास अर्थशास्त्री सर रिचार्ड जोलीले विश्वका धनी मुलुकमा मध्यमवर्गीय सुविधासहित जन्मेकाहरुको निम्ति पुस्तक शिक्षा हुन सक्ने बताएका छन् । ‘पुस्तकमार्फत विश्वकै नेताहरु र सेलिब्रिटीसँगको कुलचन्द्रका रोचक र गहिरो संसर्गका आनन्द पाठकहरुले पाउने छन्,’ उनले भनेका छन्, ‘नेपालको एउटा गाउँबाट उठेको व्यक्तिले यति उर्जा र दूरदर्शिता प्रस्तुत गर्नसक्छ भने विश्वका अन्यत्र जन्मेका मानिसहरुभित्र यसैगरि लुकेका प्रतिभा उजागर भइदिए झन कस्तो होला?’

गौतमले नेपालको प्रधानमन्त्रीका विशेष सल्लाहकार रहेर विश्व मामिला तथा शान्ति प्रक्रियाबारे अवगत गराउने दायित्व पनि निर्वाह गरिसकेका छन् ।  पत्रकार कुन्द दीक्षितले एउटा गाउँले केटो कसरी राष्ट्रसंघीय संयन्त्रकै उपल्लो ओहदासम्म पुग्न सक्यो भन्ने प्रेरणादायी जानकारी गौतमको यस जीवनीबाट मिल्ने बताए । ‘झट्ट हेर्दा नरम बोलीमा प्रकट भएता पनि चट्टानी मान्यताहरु र सामाजिक न्यायका निम्ति कदापी पछि नहट्ने अडानहरु नै गौतमको पहिचान हो ।’ उनले भनेका छन् ।पुस्तक आगामी मंगलबार सार्वजनिक हुँदैछ । पुस्तक अमेजोनको पीओ डी (प्रिन्ट अन डिमाण्ड) र किण्डल मार्फत संसारभर उपलब्ध हुने नेपालयले जनाएको छ ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App