१६ चैत्र २०८० शुक्रबार
कला

महादेव पदमार्ग

तस्बिर : रामदेवी महर्जन

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै साउने रौनक पनि सुरु हुँदैछ।

चारैतिर हरियाली, भुर्इँकुहिरो अनि रंगीन इन्द्रधनुषको राज चल्ने साउनमा हरिया, पहेंला, राता पहिरनमा सजिएर हातमा पूजा थाली बोकेर मन्दिर हिँड्दै गरेका दिदिबहिनीको रौनकले साउनको सौन्दर्य बढाउँछ।  

साउनलाई महादेवको महिना भनेर पनि चिनिन्छ । उहिल्यै समुद्र मन्थन गर्दा विष निस्कियो । त्यसबाट जगतलाई असर नपरोस् भनेर महादेवले विष खानुभयो । विषले महादेवलाई डाहा भयो । त्यही डाहालाई शितल पार्न साउनमा पानीको वर्षा हुने र व्रत  बस्नेहरूले दुध, दही चढाएमा शितल हुन्छ भनिन्छ।

साउनका हरेक सोमबार महादेवका मन्दिरमा भिड लाग्छ । हामी भने असारको चौंथो शनिबार नै प्रकृतिप्रेमी समूको १३४ औं पदयात्रामा ‘महादेव पदमार्ग’मा पुगेका थियौं । हाम्रो समूहले हरेक महिनाको चौंथो शनिबार स्वस्थ पर्यटन विकास गर्ने उदेश्यले विगत १२ बर्षदेखि पदयात्रा गराउँदै आएको छ ।हामी ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मुल मन्त्रलाई गाउँ गाउँमा फैलाउँदै हिँड्छौं । यसपाली हाम्रो पदयात्रा सूर्यविनायकबाट सुरु भएको थियो । हाम्रो गन्तब्य थियो तीन महादेव दर्शन–डोलेश्वर महादेव, आशापुरी महादेव र साँगाको कैलाशनाथ महादेव।

सूर्यविनायकमा केहीबेर पदयात्रा गन्तव्यबारे जानकारी गराएपछि हामी अघि बढ्यौं । खेतमा मेहेनत पोखिरहेका किसान, लहलह झुलेका मकैबारी र धानबालीको हरियाली हेर्दै हिँड्यौं हामी । सुर्यविनायकबाट आधा घन्टा हिँडे सिपाडोलद्धार पुगिन्छ र त्यहाँबाट तल ओर्लेपछि विमला खोला पुल । पुलबाट १५ मिनेट उकालो पछि डोलेश्वर ।  
भक्तपुरको सिपाडोमा पर्छ डोलेश्वर महादेव (१,४००मिटर) । महादेव डोलमा बसेकाले डोलेश्वर भनिएकोे । नेपाल भाषामा शिवलिंगलाई ‘सि’ भनिन्छ । त्यसैले डोलेश्वरलाई नेपाल भाषामा ‘सिपारे माद्यो’ पनि भनिन्छ ।
अचेल डोलेश्वरलाई केदारनाथको शिरका रुपमा पूजिन्छ । 

किंवदन्ती अनुुुसार महाभारत युद्धपछि पाण्डवहरु स्वर्ग जान लाग्दा केदारनाथ दर्शन गर्न गए । तर भगवानले आफ्ना  सन्तान नाश गरेर आएका भनि दर्शन दिएनन् । भगवान साँढेको रुप धारण गरी त्यहाँबाट भाग्न खोज्दा भिमसेनले पुच्छर समाते । शिर उछिट्टियो । त्यहि उछिट्टिएको शिर पहिला पशुपतिनाथलाई मानिन्थ्यो । त्यसलाई भारत, उत्तराखण्डस्थित केदानाथको शिर भाग मानिएको छ । पछि केदारनाथधामका पिठाधिशले ०६६ भदौ ६ मा डोलेश्वर नै केदारनाथको शिर भएको घोषणा गरेका थिए।

०६७ भदौ १८ देखि त्यहाँ नियमित चण्डी पाठ हुँदै आएको छ । मन्दिरभित्र कालो पत्थरको शीला छ जसलाई चाँदीको नागले बेरिएको छ । मन्दिरको अगाडी १६ टनको पाँच फिट अग्लो बसाहा बनाइएको छ । वरपर त्रिशुल, डमरु र पित्तलका बज्र छन् । मन्दिर नयाँ स्वरुपमा निर्माणाधिन अबस्थामा छ ।मन्दिरका चारैतिर ढोका छन् । त्यहाँ वर्षको तीन पटक–वैशाख÷जेठमा पर्ने अक्षय तृतिया, केदारनाथको शिर घोषणाको वार्षिक उत्सव भदौ ६ गते र शिवरात्रीका दिन मात्र भक्तजनले शिवलिंग छोएर पूजा गर्न पाउँछन् । अरु बेला पूजारी मार्फत पूजा सामान चढाइन्छ । यसपाली पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म साउने मेला सञ्चालन भैरहेको छ।  

सिपालडोल गाउँ सुन्दर छ । चारैतिर हरिया डाँडाबीचको डोलमा पर्छ बस्ती । स्वच्छ वातावरण भएको महादेवस्थानसम्मै बाटोघाटोको राम्रो व्यवस्था छ । यसको राम्रो  प्रचार हुन सके प्रख्यात धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्छ  । सूर्यविनायकबाट डोलेश्वर मुन्तिरसम्म सार्बजनिक बस चल्छन् । मन्दिरको प्रबेशद्धार देखिनै फूलमाला, धुपबत्तीका पसल छन्।पदयात्रा गर्दा एकछिन मन्दिर घुमेर दक्षिणको मोटरेबल उकालो चढ्ने । तीन महादेव डोलेश्वर, आशापुरी र साँगा कैलाशनाथ दर्शन गर्न प्रख्यात पदमार्गमा अरु पनि शिवका मन्दिर बाटैभरी छन् । हाम्रो पदयात्रा नै महादेव दर्शन पदमार्ग बन्यो।

करिब ३ किमी उकालो चढेपछि पाटी भन्ज्याङ (१,८०० मिटर) पुगिन्छ । सिरसिरे हावा, सुन्दर बस्ती पाटीभञ्याङबाट ३ किमिमा पर्छ आशापुरी महादेव । करिब एक घण्टा कच्ची तेर्सो तेर्सो ओरालो मोटर बाटो हिँडेपछि पुगिन्छ आशापुरी (१,५३०मिटर) । आशापुरीसम्मै मोटरबाटो पुगिसकेको छ।

भक्तपुर र काभ्रेको संगममा पर्ने तामाङ जातीको बसोबास रहेको सानो बस्ती हो आशापुरी । चारैतिर खेतीयोग्य जमिन । कृषिकर्ममा रमेका गाउँले । सिपाडोल र नासिका गाविसको साँधमा बसेका छन् आशापुरेश्वर । आशापुरी महादेब दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । मन्दिर छेउमा आशापुरी खोलाको त्रीवेणी छ । नजिकै पञ्चमावती धाराहरु । नजिकै श्री जागृति आधारभूत विद्यालय छ।

हामीले स्कुलमा बसेर तीन बराबर आहार खाजा खायौं । खाजा पछि केही बेर  अन्तरक्रिया गरेर अघि बढ्यौं । आशापुरीबाट सिधा पूर्व उत्तर कच्ची मोटरबाटो हिँड्दा करिब एक घण्टा पछि कैलाशनाथ देखिन्छ । संसारकै अग्लो महादेव मूर्ति (१४३ फिट) । महादेवको देब्रेपट्टि कुमार, पार्वती र गणेशका मूर्ति छन् । त्यस्तै दाहिनेपट्टि महादेवको बहान साँढे । ०६७ असार ७ गते मूर्तिको उद्घाटन गरिएको थियो । उद्यमी कमल जैनको लगानीमा बनेको हो मूर्ति।

सूर्यविनायकबाट डोलेश्वर, आशापुरेश्वर हुँदै साँगाको कैलाशनाथसम्मको हाइकिङमा प्रकृति, धर्म र अध्यात्मको सुबास पाइन्छ । साउनका लागि यो पदमार्ग ज्यादै उपयोगी छ ।

कैलाशपुरी क्षेत्र ७५ रोपनीमा फैलेको छ । मन्दिर जाने प्रवेशद्धारदेखिनै पसलहरु छन् । मन्दिर क्षेत्रमा प्राकृतिक उपचार केन्द्र र चिल्ड्रेन पार्क पनि छ । खाजा पसल, रिसोर्ट र लजहरु खुलेका छन् ।मौसम खुलेका बेला बाटाबाट हिमालको ताँती पनि देखिन्छ । हामीले टाढैबाट कैलाशनाथको दर्शन गरेर साँगा भञ्ज्याङसम्म पदयात्रा गर्यौं।

 वर्षैभरि महादेव पदमार्गमा हाइकिङ गर्न सकिन्छ । खेतीपाती राम्रो हुने भएकाले बर्खामा हरियालीको साम्राज्य चल्छ । विशेषतः असार र साउनका लागि उपयोगी छ । साउने शनिबार महादेव दर्शन गर्नेको घुइँचो हुन्छ ।
यतिबेला डोलेश्वर र आशापुरी महादेवमा साउने मेला लागेको छ । हामी त असारमै पुग्यौ । तपाईहरु यो साउनमा पुग्ने कि ?  

कसरी पुग्ने : काठमाडौं–सूर्यविनायक १२ किमि बसमा । पदयात्रा सूर्यविनायकबाट सुरु गर्ने । सूर्यविनायक–डोलेश्वर ४ किमि, डोलेश्वर– आशापुरी ६ किमि र आशापुरी–साँगा  भञ्ज्याङ ६ किमि । जम्मा पदयात्रा दुरी १६ किमि । समयः ५ घन्टा । अरनिको राजमार्गबाट काठमाडौं–साँगा २० किमि ।
 

जन । बोली
किरण थापा (वरिष्ठ उपाध्यक्ष)

केदारनाथको शिर डोलेश्वरधामका उपाध्यक्ष हुन् । उनको समितिले साउने मेला सञ्चालन गरेको छ । ‘साउन १ देखि सुरु भएको मेला भदौ ६ गतेसम्म चल्छ । मेलाबाट उठेको भेटी, दान दक्षिणा सहयोगबाट उठेको रकम सबै मन्दिर पूर्वाधारमा विकासमा खर्च गछौं’, किरण  भन्छन्, ‘मन्दिर निर्माण ५ बर्ष भित्र पुरा गर्ने हाम्रो योजना छ ।’  
...
कविता शाह

पाटनको सुन्धारामा बस्छिन् । उनले धेरैपटक हाइकिङ गरिसकेकी छिन् । ‘गाडीमा आउनु भन्दा हिँडेर डोलेश्वर पुग्दा रमाइलो लाग्यो । बाटोभरी भेटिएका महादेव  दर्शन गर्दै हिँड्न पाउँदा धेरै खुशी लाग्यो’, कविता भन्छिन्, ‘असारमै महादेवको दर्शन पाउँदा झन खुशी लाग्यो । साउनमा ब्रत बस्छु । र फेरी साथीहरुसंग महादेव दर्शन गर्न जानेछु ।’
...
मनिका मुनकर्मी

भक्तपुरमा बस्छिन् । उनी पहिलोपटक हाइकिङमा आएकी । ‘साथीहरुसाग हिँड्न पाउँदा, नयाँ साथीहरु बनाउन पाउँदा धेरै रमाइलो लाग्यो, मनिकाले भनिन्, ‘स्वास्थ्यका लागि हिँड्न आएकी साथीहरुसंग तर प्रकृतिको सुन्दतासंग पनि नजिक हुन पाइयो । मलाई पानी परेको मन पर्छ । तर किरा र जुकादेखि भने डर लाग्छ ।’
...

प्रकाशित: ५ श्रावण २०७५ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App