७ वैशाख २०८१ शुक्रबार
कला

दक्षिण एसियाली क्यानभासमा नेपाल बिम्ब

काठमाडौं - अफगानिस्तानका कलाकार मोहम्मद युसुफ यो समयमा पहिलो नेपाल भ्रमणमा छन् । नेपालको नाम सुनेदेखि नै नेपाल हेर्ने उनको धोको साउथ एसियन इन्टरनेसनल आर्ट क्याम्पले पूरा गरिदिएको छ । नेपाल यात्रामा उनले पूरै नेपाल नघुमे पनि बुधबारबाट राजधानीमा सुरु कला कार्यशालामा उन सिंगो नेपाल झल्काउने कलालाई क्यानभासमा उतारे।

कलाको प्रभाववादसँग निकट रहेका उनले नेपाल भित्र्ँदा हवाइजहाजबाट देखेको नेपाललाई सुन्दर ढंगले क्यानभासमा उतारे । ‘ओहो कति राम्रो देखिएको नेपाल,’ नेपाल चित्र कोर्दै उनले भने, ‘सेतो हिमाल, हरियो पहाड, निलो नदी अनि हरियाली नेपाल । नेपाल साँच्चै सुन्दर छ ।’ तैल रंगको उनको चित्रमा नेपाल बिम्बले नेपालको शान्त र सुन्दर भूमिको प्रतिनिधित्व गरेको थियो।

‘शान्तिका लागि हिमाल’ शीर्षक दिइएको कार्यशालामा भुटानका कर्मा वाङचुकलले आफ्ना चित्रमा नेपाली समाजमा प्रचलित गौतम वुद्धको आँखा उतारे । ‘मैले चित्रमा नेपाल हिमालको देश अनि शान्तिको देश र त्यो शान्तिलाई बुद्धका आँखाले चिहाइरहेका छन् भन्ने सन्देश दिएको छु । यस्तो आँखा नेपालबाहेक अन्य कतै पाइँदैन,’ उनले भने, ‘त्यसैले नेपाल झल्काउनकै लागि पानी रंगको सुन्दरता त्यसमा भरे ।’भारतकी मनीषा अग्रवालको पनि नेपाल यात्रा मोहम्मदको जस्तै पहिलो हो । उनले नेपालको हरियालीलाई क्यानभासको बिम्बमा प्रस्तुत गरेकी छन् । बाह्रसिंगाको चित्रसँगै उनले त्यसको सिंगमै हरियालीको छनक दिएकी छिन् । आफ्रलाई यथार्थवादी समसामयिक कलाकार भन्न रुचाउने मनीषाका चित्र यथार्थ धारसँग जोडिएका छन् ।

बंगलादेश शिल्पकला एकेडमीका निर्देशक असरफुल आलम पप्लु समसामयिक कलामार्फत नेपाल र बंगलादेशलाई जोड्दैछन् । ‘सबैतिर एकाकार हुने आकाश हो,’ उनी आफ्नो कला प्रष्ट्याउँछन्, ‘नेपालको हिमाल र बंगलादेशको समुन्द्रलाई एकै चित्रमा उतारेको छु ।’उनका अनुसार बंगलादेशमा समसामयिक कला प्रख्यात बन्दैछ । काम गर्न, विश्लेषण गर्न सहज भएकाले कलाकार यसप्रति आकर्षित बनेको उनको ठम्याइ छ । नेपालको बारेमा उनले बंगलादेशसँग समानता भएको छिमेकी देशका रुपमा लिएका छन् । उनको बुझाइमा मानिसको रहनसहन र संस्कृतिमा बंगलादेशसँग नेपालको समानता मिल्छ।

प्रोफेसर शाहजाँह अहमद विकाले नेपालको बिम्बका रुपमा नेपालको सौन्दर्यलाई रंगले सिंगारे । समसामयिक धारमा उनको कलाले नेपालका सुन्दरता बिम्ब बनाउनुको कारण नेपाल आएपछि पाएको मनमोहक दृश्य रहेको उनले बताए । नेपाल बंगलादेशबिचको संस्कृति, खाना, मानवीय स्वतन्त्रताको आयामलगायतको समानता रहेको उनले जनाए।

बंगलादेशकै विश्वजीत गोस्वामीले नेपाल आउँदा अनुभूत गरेको आत्मिक शान्तिलाई चित्रमा पोखे । रंगिन रंगलाई कुचीसँग खेलाउँदै उनले मनको शान्ति र नेपालको शान्तिको भाव केलाउने प्रयास गरे । नेपाली कलाकारका कला झन् के कम । अतिथी देवो भवःको असर देखाउँदै कलाका इरिना ताम्राकारले सबै देशको प्रतिनिधित्व गर्ने चित्र कोरिन् ।शरीरले असक्त भए पनि कलाकार संजय वान्तवाको कला कोर्ने ऊर्जा गज्जबकै देखियो । उनले अर्ध मूर्तकलाभित्रको संघर्ष र सौन्दर्यको नेपाली बिम्ब उतारे ।

संघर्षको रुपमा घोडा अनि सौन्दर्यको रुपमा उनले नारी छायाँलाई चित्रभित्र उतारेर सुन्दरता थपे । अमूर्त चित्रमा खप्पिस कृष्णप्रकाश शाहलले एक्रेलिक रंगबाट पारखीलाई आनन्द दिए । अचेलको समाजमा हरेक कुरा हिंसासँग जोडिएर आउने गरेकामा उनले दुःख पोखे । तर उनले रंगबाट शान्ति र एकताको सन्देश दिने प्रयास गरे । उनले थरीथरीका रंगको संयोजनको कलाको फरक अनुभूति दिनसक्छ भन्ने विषयमा अनुसन्धान नै गरेका छन् । यस विधामा भावनाहिन विदेशीका भन्दा नेपाली कलाकारको कला राम्रा हुने बताउँछन्।

पूर्ण ह्योजुले भने परम्परागत धार रोजे । उनले पञ्चतत्वको मानिसको शरीर र सृष्टीसँग जोडेर त्यही सृष्टी नै शान्तिको प्रतीक रहेको प्रष्ट्याए । पृथ्वी, जल, तेज, वायु र आकाशको सम्मिश्रणमा उनले सृष्टीको प्रतीकमार्फत परम्परागत धारमा नयाँ आयाम थप्न भ्याए ।नयाँ पुस्ता बाहेक पुराना पुस्ताका कलाकारले कार्यशालामा आफ्ना क्यानभास रंगको सौन्दर्यले चम्काए । शंकरराज सुवालले अमूर्तभित्र वुद्धको बिम्ब राखेर नेपालको शान्ति देखाए ।

त्यस्तै के के कर्माचार्य, रमेश खनाल, नारद हार्तमछालीलगायतले कार्यशालामा कलात्मक साधना गरे । कार्यशालाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मनत्री रविन्द अधिकारीले कला कार्यशालाले नेपालको कलालाई विश्वमाझ फैलाउने उल्लेख गरे ।आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले लामो समयको प्रयासले पहिलोपल्ट यो कार्यशाला भएको उल्लेख गरिन् । कार्यशालामा भारतका ३, बंगलादेशका ६, पाकिस्तानका ४, श्रीलंकाका ३, भुटानका ३ र अफगानिस्तानका १ जना विदेशी कलाकार सहभागि छन् ।

सार्क मुलुकका राष्ट्रमध्ये मालदिभ्सका कलाकारको भने उपस्थिती रहेन । नेपालका तर्फबाट हरेक प्रदेशबाट एक एक जना , ललितकला क्याम्पसबाट १, काठमाडौं विश्वविद्यालयबाट १, सिर्जना कलेजबाट १ गरी ५५ जना सहभागी थिए । ललितकला प्रज्ञा प्रतिष्ठानमा आवद्ध सबै कलाकार समेत कार्यशालामा कला तिखार्न सहभागी भएका थिए । कार्यशालाकै रुपमा पोखरामा कलाकारले कला बनाउने छन् । बनेका सबै कला नेपाल कला परिषद्मा प्रदर्शनी गरेपछि आइतबार सकिने संयोजक परिषद् सदस्य रमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार दक्षिण एसियाली मुलुकको भातृत्व कायम राख्न आर्ट क्याम्पले सघाउनेछ ।
 

प्रकाशित: २८ असार २०७५ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App