coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

टेम्पोमा स्वस्तिमाको डेटिङ!

काठमाडौं - मैतिदेवीको सेतापुलबाट बिजुलीबजारसम्म आजभोलि हरेक दिन बिहान एउटा टेम्पो चल्छ। सुरु सुरुमा त टेम्पो चलेको देखेपछि यात्रुले रोकेर कहाँ जाने भनेर सोध्थे। तर सोध्ने क्रममा ड्राइभर सिटमा चिनेको अनुहार देखेपछि केही हच्कन्थे र भन्थे, ‘ए तपाईं पो?’

त्यो बाटो हिँड्ने यात्रुको मुखबाट निस्कने  यस्ता प्रश्न र विश्मयमा बानी परिसकेकी छिन्, नायिका स्वस्तिमा खड्का। फिल्मको भूमिकाका लागि एक महिनायता टेम्पो सिकिरहेकी स्वस्तिमाले कतिलाई साँच्चिकै टेम्पो ड्राइभरले जस्तै गाली गरेकी छिन् त कतिबाट गाली पनि खाएकी छिन्। बिहीबार नागरिककर्मी उनले अभ्यास गरिरहेको टेम्पोमा सवार थियो । एउटा मोटरसाइकल संकेत नै नदिई झ्याप्प अगाडि आएपछि स्वस्तिमाले टेम्पोमा ब्रेक लगाइन् । तर मुखमा ब्रेक लगाउन सकिनन् । ‘राँडाको बान,’ उनको मुखबाट एउटा भद्दा गाली निस्कियो। उनको गाली मोटरसाइकलचालकले सुने । उसले पनि मोटरसाइकल रोकेर स्वस्तिमालाई घुरेर हे-यो।

टेम्पोमा सवार चलचित्र लेखक तथा निर्देशक विनोद पौडेल स्वस्तिमाको गालीमा मख्ख देखिए। यसकारण पनि कि स्वस्तिमाले आकलेको आक्रोषपूर्ण संवाद फिल्को फिल्मको स्क्रिृप्टसँग हुबहु मिल्यो।

‘यही टेम्पोमा धेरै दिनसम्म हिँडेर उहाँहरूको संसार र बोल्ने लवजलाई लेखनमा उतारेका छौं । स्वस्तिमाको पुस्ताले यस्तो गाली दिँदैन। रिसै उठे अंग्रेजी शब्द प्रयोग गर्छ । तर हाम्रो कथाको चरित्रले नेपाली नै प्रयोग गर्छ। यस्ता हरेक कुरामा स्वभाविकता आओस् भनेर नै टेम्पो सिक्ने मात्र होइन, टेम्पोभित्र हुने दृश्यलाई टेम्पोमै अभ्यास गर्न लागेका हौं,’ पौडेलले भने। उनले भनेझैं  बिहीबार स्वस्तिमा टेम्पो मात्र सिकिरहेकी थिइन्न्। आफ्ना सहकर्मी कलाकारसँग वर्कसप पनि गरिरहेकी थिइन्।

टेम्पो चलाउँदै गर्दा नै रनकला बनेकी स्वस्तिमाले अर्का कलाकार मुकुन भुषालसँग एउटा दृश्यको अभ्यास गरिन्। सो दृश्यमा उनले झपेन्द्र बनेका मुकुन भुषाललाई डेटिङको अफर गरिरहेकी थिइन्।

मुकुन : हाइ... कता जाने हो त हामी ?
स्वस्तिमा : डेटिङ
मुकुन : यस्तो टेम्पोमा?
स्वस्तिमाः अनि के मोटरसाइकल छ र तिम्रो?
मुकुनः छन त छैन । तैपनि यस्तो झरीमा...
स्वस्तिमाः डेटिङ जाने नै झरीमा हो । कसैले देख्दैन के?
मुकुनः साउलाई पैसा कसले तिर्छ नि?
स्वस्तिमाः म तिर्छु, अस्तिको टाँका बाँकी छ नि?
मुकुनः कहाँ लान्छ्यौ त नि?
स्वस्तिमाः कहाँ जान्छ्यौ त नि?
मुकुनः हसाउँछिन् बाई यिनले?
स्वस्तिमाः हाँस्देउन त?

केही दिन स्कुटर चलाएर छाडेकी स्वस्तिमाले स्कुटीपछि एकैचोटि टेम्पो सिकेकी हुन्। उनलाई अरु थुप्रै सवारीसाधनमध्ये टेम्पो ठिक लाग्छ । ‘स्पिड धेरै हुन्न। सेफ पनि लाग्छ,’ स्वस्तिमाले बताइन्,‘माइक्रोको, बसको त ठेगानै हुन्न।’ उनले आफूभन्दा अरुले रफ चलाएको देखेर स्कुटी चलाउन छाडिदिइन्।

विद्यार्थीकालमा स्कुल बसमा आउजाउ गर्ने स्वस्तिमासँग तीन वर्ष टेम्पो चढेकोे अनुभव छ। उनले थापाथली इन्जियिनयरिङ कलेज पढ्दा टेम्पो चढ्ने गरेकी थिइन्।

‘घर तीनकुनेबाट थापाथली कलेज जाँदा टेम्पोमा जान्थें। साथीहरू स्टुडेन्ड डिस्काउन्ट पाइन्छ भनेर अरु साधन प्रयोग गर्नुहुन्थ्यो। मलाई घरबाट पनि पैसा बढी लागे पनि टेम्पोमै जाउ भन्नुहुन्थ्यो। त्यो अनुभवले अहिले मलाई सघाऊ गरिरहेको छ। टेम्पो सिकिरहँदा ड्राइभरहरू किन चाँडो रिसाउँछन् भन्ने उनलाई अनुभव भएको छ।

‘निश्चल (निर्देशक निश्चल बस्नेत) पनि ड्राइभ गर्दा बेलाबेला झनक्क रिसाउँछ। किन रिसाएको भनेर सम्झाउँथे । टेम्पो चलाउन सिकिरहँदा किन रिस उठ्ने रहेछ बुझ्दैछु,’ उनले भनिन्, ‘फुटपाथ प्रयोग नगरी बीच बाटोमा मस्तसँग हिँडिदिने अचम्मको बानी रहेछ हाम्रो।’

स्वस्तिमाले टेम्पो चलाइरहँदा पछाडि बसेर लक्ष्मी बर्देवा पनि सानातिना किस्सा सुनाइरहेकी थिइन्। भिमाको भूमिकामा अभिनय गर्ने बर्देवाले पौडेलको अनुरोधमा ट्राफिक पुलिसवाला संवाद सुनाइन्।

‘ओहो सर, कति उभिइरहनुहुन्छ हो, यो घाममा। यसो घुम्न लैजाउँ भनेको ... तपार्इंको फुर्सद कहिल्यै हुने भएन ... जाउँ हिँड्नुस्।’ बर्देवाले पाँच दिनकै अभ्यासमा खरर टेम्पो चलाउन सिकिसकेकी छिन्। फिल्म ‘हरि’मा गाडी चलाउन गरेको अभ्यास अहिले काम लागेको उनले बताइन् । फिल्ममा बर्देवा स्वस्तिमाको टेम्पो चालक साथीको भूमिकामा छिन्।

पौडेलले फिल्मका कलाकारहरुले दिनको ८ घन्टा मेहेनत गरिरहेको बताए। बिहान टेम्पो सिक्न भेला हुने फिल्मका मुख्य कलाकार दिउँसो अस्कर कलेजमा हुने कार्यशालामा पनि बस्छन् । पौडेलले कलाकार फिल्मका लागि तयार हुने तीन चरण रहेको  बताउँदै ‘बुलबुल’का लागि भने कलाकार दोस्रो चरणमा रहेको बताए।

‘पहिलो चरणमा कलाकारले आफूले जानेको भनिएका सबै कुरा बिर्सनु पर्छ। यसलाई हामी जिरो हुने भन्छौं,’ पौडेलले भने, ‘किनकि हरेक नयाँ फिल्ममा एउटा कलाकार नयाँ हुन्छ र उसको यात्रा जिरोबाट सुरु हुनपर्छ । दोस्रो चरण एक्सटर्नल हुन्छ जुन अहिले हामी गरिरहेका छौैं अर्थात् टेम्पो सिक्ने, चालकका हाउभाउ र लवज ग्रहण गर्ने र तेस्रो हुन्छ, इन्टर्नल जसमा पहिले ग्रहण गरेका चिजलाई एक्टरले शब्दभन्दा बढी भावले अभिव्यक्त गर्ने प्रयास गर्छ।’

पौडेल कलाकारको मेहनत र रुपान्तरण देखेर फिल्म आफूले बनाउन चाहेजस्तै बन्ने कुरामा विश्वस्त छन्। उनले फिल्म ‘शब्दले हैन, दृश्यले बोल्ने मामलामा ब्रेक थ्रु’ हुने बताए। ‘हामीले टेक्स्टमा हैन, सबटेक्स्टमा काम गरिरहेका छौं। यसले नेपाली फिल्मको वाचन शैलीमा धेरथोर प्रभाव त पार्छ नै,’ उनले भने। पौडेल कलाकारको रूपमा पनि स्वस्तिमाको मेहनत र रूपान्तरणबाट चकित छन्। उनलाई लागेको छ, दर्शकले स्वस्तिमाले यो फिल्ममा धेरैलाई चकित पार्नेछिन्। ‘यति चाँडो यो शैलीको फिल्मका आफूलाई अभ्यस्त बनाउँछ जस्तो लागेको थिएन तर उसमा गज्जबको समर्पण देखे,’ उनले भने, ‘क्रिएटिभ पनि उत्तिकै छ । ऊ भोलि राम्रो कलाकार मात्र होइन, निर्देशक पनि उही स्तरको बन्न सक्छ जुन मैले समकालीन अभिनेत्रीमा अनुभव गरेको छैन।’

साउनको दोस्रो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा कथा तथा पटकथा पनि बिनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ। कोेशिश क्षेत्री र उदगम परियारको संगीत रहेको फिल्ममा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ।

प्रकाशित: २४ असार २०७५ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App