८ वैशाख २०८१ शनिबार
कला

प्रिप्रडक्सनको अभावमा घाटा खाँदै निर्माता

काठमाडौं – फिल्म निर्माण गरेर त्यसलाई दर्शकसम्म ल्याउनु चानचुने कुरा होइन् । एक समयमा अधिकतम् ५० देखि ६० लाखमा फिल्म बनिरहँदा अहिलेको फिल्मको लगानीको अनुपात न्युनतम करोडदेखि अधिकतम अढाई करोडसम्म छ ।

पूर्व तयारीबिनै महंगो पारिश्रमिकमा कलाकार अनुबन्धित गरेर सुटिङ गरिएका कतिपय फिल्महरु बीचैमा रोकिएका छन् भने कतिले मुस्किलले सुटिङ सिध्याउने गरेका छन् । दुःखसँग रिलिज भएका फिल्मले रिलिजपछि पनि निर्मातालाई खुशी दिँदैनन् । फिल्म त हलमा आउँछन् तर दर्शक आइदिदैनन् ।पूर्व मिस नेपाल निकिता चण्डकको ‘डेब्यु’ रहने भनिएको फिल्म ‘रानी महल’को छायांकन अहिले पैसाकै विवादका कारण रोकिएको छ । झण्डै डेढ करोड बढी बजेटमा निर्माण हुने भनिएको फिल्म निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाबीचको आर्थिक विवादको चेपुवामा परेको छ ।

राजधानीको पाँचतारे होटल अन्नपूर्णमा फिल्मको घोषणा हुँदा कलाकार प्रशान्त ताम्राकार र नायिका वर्षा शिवाकोटीलाई प्रमुख कलाकारका रुपमा घोषणा गरिए पनि लामो समयसम्म सुटिङ नभएपछि उनीहरूले फिल्मबाट हात झिकेका थिए ।
वर्षाको ठाउँमा निकितालाई महंगो पारिश्रमिक दिएर सुटिङमा निस्किएकोे फिल्म २० प्रतिशत छायांकन सकिँदा दुई करोड खर्च गरेर थन्किएको छ । निर्माता र प्रोडक्सन डिजाइनरको आर्थिक विवादका कारण फिल्मको बाँकी ८० प्रतिशत छायांकन इन्डोर गर्ने योजना फिल्म युनिटको छ।

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले निर्माण गरिरहेको फिल्म ‘क्याप्टेन’को अवस्था पनि उस्तै छ । भुवन पुत्र अनमोल केसीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको छायांकन फागुनबाट सुरु गर्ने भनिए पनि फिल्म खिच्ने काम वैशाखबाट मात्र सुरु गरियो । यो फिल्म भदौमा हलमा आउने चर्चा चलिरहे पनि फिल्म छायांकनको काम अझै सकिएको छैन । भुवन केसी र दिवाकर भट्टराईको काम गर्ने तरिकादेखि आजित भएर भारतदेखि आएका छायांकार केही दिनकोे सुटिङपछि मुम्बई नै फर्किएका थिए । थुप्रै फिल्म बनाए पनि प्रिप्रडक्सनमा कमजोर केसीकोमा काम गर्न आजभोलि प्राविधिक नै हच्कने गरेका छन्।

निर्माता सुवास गिरीसँग सहकार्य गरेर भुवनले निर्माण गरेको फिल्म ‘कृ’को हालत पनि यस्तै भएको थियो । झण्डै अढाई करोडको लागतमा अनमोल केसी र नवनायिका अदिती बुढाथोकीलाई प्रमुख भूमिकामा अभिनय गराइएको यो फिल्म रिलिज हुन झण्डै दुई वर्ष लाग्यो । सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्मले लगानी पनि सुरक्षिते गर्न सकेको थिएन ।निर्देशक विकास आचार्य अनुमानमा फिल्म बनाउन हौसिनेहरू यस्तो समस्यामा पर्ने गरेको बताउँछन् । ‘ सुटिङका प्रक्रिया नजान्नेहरू ज्यादाजसो यसको झन्झटमा पर्छन्,’ उनले भने, ‘तर केही अनुभवीको त काम गर्ने शैली नै यस्तै छ । जति धेरै फिल्म बनाए पनि नसिक्ने।’

अनुप विक्रम शाही, वर्षा शिवाकोटी र प्रशान्त ताम्राकारको अभिनय रहेको फिल्म ‘जय शम्भु’को झण्डै ७६ दिनपछि छायांकन सकिएको छ । ४५ दिनको सुटिङ सेड्यल राखेर मैदानमा निस्किएको फिल्मको छायांकन सकिँदासम्म झण्डै दुई करोडको हाराहारीमा खर्च भइसकेको छ । सुटिङकै दौरानमा प्रशान्त ताम्राकारले निर्देशकको काममा चित्त नबुझाएपछि योे फिल्म पनि विवादमा परेको थियो । प्रशान्तले आफ्नो भागको फिल्म निर्देशन गर्न बेग्लै निर्देशक माग गरेकोसमेत खबर बाहिरिएकोे थियो।

नेपालको काठमाडौं, मुस्ताङ, रारा ताल र थाइल्याण्डमा छायांकन गरिएको फिल्म ‘ड्रिम गर्ल’को बजेट झण्डै दुई करोडको हाराहारीमा छ । आकाश श्रेष्ठ र आश्मा गिरी अभिनित फिल्म आगामी असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । तीन फिल्म निर्देशन गरिसकेका फिल्म निर्देशक ऋषिराज आचार्य निर्देशित फिल्ममा ऋषिकै लगानी छ।

हाल धमाधम छायांकनमा रहेको फिल्म ‘कस्मिक लभ’ पनि महंगो बजेटको फिल्ममा पर्दछ । शंकर अधिकारी ‘घायल’ र बाबु बलामीको निर्देशनमा बनिरहेको फिल्मका प्रमुख लगानीकर्ता जे गौतम हुन् । अर्पण थापा, दिया मास्के, रविन तामाङ अभिनित फिल्मको सुटिङ सुस्त गतिमा चलिरहेको छ । दशवटा फिल्म निर्माणको घोषणा गरेको यो फिल्मको निर्माण समूहले ६ फिल्म चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् । फिल्म युनिटका एक सदस्यका अनुसार फिल्मको दैनिक अधिकतम् तीनवटा मात्र दृश्य छायांकन भइरहेको छ।

फिल्म सुटिङका लागि गरिनु पर्ने पूर्व तयारी बेलैमा नसक्दा सास्ती खप्नेमा पाका अभिनेता शिव श्रेष्ठ पनि पर्छन् । अभिनेता शिव श्रेष्ठको डेब्यु निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को टिजर सार्वजनिक भइसके पनि फिल्मको छायांकन सकिएको छैन । आधा सुटिङ गरेर फिल्म घोषणा गरेका श्रेष्ठले यही बीचमा टिजर सार्वजनिक गरेका थिए । अनि टिजर सार्वजनिक गर्ने कार्यक्रममै कास्टिङ पनि ।

फिल्मको टिजर सार्वजनिक गर्ने कार्यक्रममा करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले फिल्म खेल्ने घोषणा गरिएको थियो । तर सुटिङका क्रममा द्धन्द्ध निर्देशक पनि सेटै छाडेर हिडेका थिए।भनिन्छ, फिल्म तीन चोटि बन्छ । पहिले लेखकको दिमाग, दोस्रो प्रिप्रडक्सनमा र तेस्रो सम्पादन टेबलमा । तर नेपालमा सुटिङ पूर्व गरिने तयारीमा रत्तिभर पनि निर्माता÷निर्देशकको ध्यान रहन्न । यही कारण कहिले फिल्म सदाका लागि रोकिन्छन् त कति घोषित मिति वा बजेटभन्दा बढी भएका कारण ।   
 

प्रकाशित: २१ असार २०७५ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App