७ वैशाख २०८१ शुक्रबार
कला

भ्यानगग रुचाउने रोमियो एन्ड मुना जोडी

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’को सन् २०१२ को संस्करण विजेता सृष्टि श्रेष्ठ पेन्टिङकी पारखी हैनन् । तर उनले जीवनमा थुप्रै पेन्टिङ गरेकी छिन् तर सबैजसो स्कुल टिचरको कुटाइबाट बच्न।

वास्तविक जीवनमा पेन्टिङमा चासो नराख्ने सृष्टि आजभोलि भने मज्जाले चित्र कोर्न सक्छिन् । त्यस्तै परे, एक दुई घन्टा पेन्टिङको क्लास नै लिन सक्छिन् । अझ उनलाई स्वीस चित्रकार भिन्सेन्ट भानगगको बारेमा सोध्ने हो भने त गुगललाई पनि माथ गर्न सक्छिन् । तर उनको यो पेन्टिङ विज्ञता रहर भने होइन । रिलिजको संघारमा रहेको फिल्म ‘रोमियो एन्ड मुना’मा सृष्टि चित्रकार भिन्सेन्ट भानगगको प्रशंसकको भूमिकामा छिन् । यही बाध्यताले सृष्टिलाई भान गगको मात्र होइन, पूरै पेन्टिङको विज्ञ बन्नु परेको हो ।

आगामी साउन ११ गते अमेरिकासहित नेपालमा एकसाथ रिलिज हुने फिल्म ‘रोमियो एन्ड मुना’मा सृष्टि पेन्टिङ गर्ने कलाकारका रुपमा प्रस्तुत हुँदैछिन् । पेन्टिङप्रति रुचि नराख्ने उनले पेन्टिङकै लागि लामो मेहनत पनि गर्नुप¥यो । ‘फिल्मकै लागि मैले झन्डै ६ महिनासम्म पेन्टिङको प्रशिक्षण लिएँ,’ सृष्टिले नागरिकसँगको कुराकानीमा  भनिन्, ‘स्कुल छाडेपछि ढुक्क भएको पेन्टिङ सिक्दा सुरुमा त अल्छी लागेको थियो । तर भानगगको जीवनी यति चाख लाग्दो रैछ कि यसले बिस्तारै उत्सुकता बढायो।’

फिल्ममा उनको अपोजिटमा नायक विनय श्रेष्ठ छन् । फिल्ममा उनी ‘प्लेब्वाइ’ चरित्रमा देखिएका छन् । फिल्मको ट्रेलर र गीतमा पनि आफ्नो चरित्रलाई प्रस्तुत गरेका विनयले आफूलाई ‘प्लेब्वाई’ चरित्र निभाउँदा कुनै अप्ठ्यारो नलागेको खुलाए । ‘वास्तविक जीवनमा म प्लेब्वाई चाहिँ होइन । तर यो फिल्ममा प्लेब्वाई देखिएको छु,’ उनले भने।

फिल्मका निर्देशक नरेशकुमार केसी हुन् । फिल्म ‘डाइङ क्यान्डल’ निर्देशन गरेर चर्चामा आएका नरेश फिल्म ‘रोमियो एन्ड मुना’बाट आशावादी छन् । पहिलो फिल्म ज्यादै कलात्मक बनाएको आरोप खेपेका नरेशले नयाँ फिल्ममा बीचको बाटो रोजेको बताए । ‘अघिल्लो फिल्मको विषय अलिक फरक थियो । एक रातको कथा थियो, एउटै लोकेसनमा फिल्म सकिन्थ्यो । फिल्मले व्यवसायिक सफलता नपाउनेमा ढुक्क जस्तै थियौं,’ उनले भने,‘यो फिल्ममा रोमान्स, सस्पेन्सलगायत सबै फ्लेबर दर्शकले पाउँछन् ।’ नरेशले व्यवसायिक बनाउँदा बनाउँदा बनाउँदै पनि कलात्मक फ्लेबर नछाडेको बताए।

‘व्यवसायिक फिल्म भन्दैमा कलात्मक हुनुहुन्न भन्ने कुराको म विरोधी हो । व्यवसायिक कुरालाई झन् कलात्मक शैलीमा भन्न जरुरी छ । यो फिल्ममा यस्तै एउटा प्रयास हो,’ नरेशले भने ।निर्माता प्रशन्न गोपालीले प्राविधिक काम बेलामा नसक्दा रिलिज मिति दुईफेर सार्नुपरेको बताए । गत वर्षको फागुनमा रिलिज हुने घोषणा भएको फिल्म चैतमा पनि रिलिज हुने चर्चा थियो । तर भिएफएक्सको काम नसकिएपछि फिल्म अन्ततः साउन ११ मा प्रदर्शनमा आउन लागेको हो।

फिल्ममा विनय र सृष्टिसँगै प्रज्जवल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तको अभिनय छ । नरेशकुमारको पटकथा तथा नरेश र निरोज महर्जनको संवाद, लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा गौरभ डगौनकर, कोशिस क्षेत्री, हर्कुलस बस्नेत र कालीप्रसाद बास्कोटाको संगीत छ । फिल्ममा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ ।
 

प्रकाशित: १९ असार २०७५ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App