१६ चैत्र २०८० शुक्रबार
कला

‘फिल्म खेल्न हतार छैन’

काठमाडौं – व्यावसायिक रुपमा सफल फिल्म ‘शत्रु गते’की नायिका आँचल शर्मा यो फिल्म रिलिज पछि गुमनाम छिन्।

न त उनलाई कुनै नयाँ फिल्ममा देखिइएको छ, न कुनै निर्माताले उनलाई फिल्मका लागि अनुबन्ध गरेको खबर छ । देखिएको छ त सिर्फ म्युजिक भिडियोमा । के आँचललाई निर्माताले फिल्म अफर गर्न छाडेका हुन् ?  राजधानीमा बिहीबार फिल्म ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफू फिल्म खेल्ने हतारोमा नरहेका कारण नयाँ फिल्म नखेलेको बताइन् । ‘ब्ल्याक’ प्रदर्शनको तयारीमा छ ।

अघिल्लो फिल्म शत्रु गतेले मेरो करिअरमा राम्रै भरथेग गर्यो,’उनले भनिन्,‘हुलमुलमा कलाकारका रुपमा काम गर्नु र सोलो नायिकाका रुपमा काम गर्नु फरक कुरा रहेछ । अब आफूलाई फाइदा हुने फिल्म मात्र गर्छु ।’उनले दर्शकको चाहना अनुसार म्युजिक भिडियो खेल्नुपरेको बताइन् । ‘दर्शकको चाहना मलाई बढी म्युजिक भिडियोमा देखियोस् भन्ने छ,’उनले खुलाइन्,‘फिल्ममा अभिनय नगर्ने त पक्कै होइन् । तर  म्युजिक भिडियो पनि छोड्न सक्ने अवस्था छैन।’

फिल्मका नायक आकाश श्रेष्ठले फिल्म ‘ब्ल्याक’मा आफूले अघिल्ला फिल्ममा गरेका कमजोरीलाई सच्याउने प्रयास गरेको बताए । ‘अघिल्ला फिल्ममा पनि मैले मेहनत गरेकै थिएँ । तर यो फिल्ममा अलिक बढी मेहनत गरेको छु ’ उनले भने ।निर्देशक प्रदिप श्रेष्ठले डार्क प्रेमकथामा फिल्म बनाइएको बताए । ‘फिल्ममा प्रेमकथा नै छ । तर त्यो प्रेम फरक किसिमको छ,’ निर्देशक प्रदिपले भने।

फिल्मकी प्रस्तुतकर्ता आश्मा पाण्डेले फिल्मले युवापुस्ताको प्रेमलाई प्रतिनिधित्व गर्ने बताइन् । ‘लामो मेहनतपछि फिल्म प्रदर्शनका लागि तयार भएको छ । हाम्रो मेहनत खेर नजानेमा हामी ढुक्क छौं ’ उनले भनिन् । अर्का कलाकार सुन्दर श्रेष्ठले फिल्ममा आफू एक्सन भूमिकामा देखिएको खुलाए ।जेठ ११ मा रिलिजको तयारी भइरहँदा नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीचको शेयर बाँडफाँडको तनावका कारण फिल्म भदौ १ लाई सरेको थियो।

आस्मा फिल्मस्को व्यानरमा निर्मित फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल र आश्मा पाण्डेलगायतको अभिनय छ । आश्मा पाण्डे निर्माता र चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा महेश खड्काको संगीत, मौनता श्रेष्ठको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व र रामशरण उप्रेतीको छायांकन छ ।
 

प्रकाशित: १८ असार २०७५ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App