७ वैशाख २०८१ शुक्रबार
कला

डोरीमा १५ मिनेट

तपाईं झरनाको छाँगाबाट मुनि झर्दै हुनुहुन्छ । १५ मिनेट तपाईंको जिन्दगी डोरीमा  अडिएको छ । तैपनि शरीर आत्तिएको छैन । आँखा चनाखा छन् । सबै इन्द्रिय उत्तिकै सचेत अवस्थामा।

कतै न कतै मनको कुनामा डोरी चुँडिएला कि भन्ने डर पनि छ । तैपनि तपाईं विन्दास हुनुहुन्छ । विन्दास पनि यति कि पानीमा निथ्रुक्क भिज्दा पनि तपाईं झरनाको भित्तामा टेकेर अडिनुहुन्छ । बेग्लै संसारमा पुगेजस्तो लाग्छ । कति रमाइलो !अहा, क्या मिठो अनुभव ! जीवनमा तपाईंले कहिल्यै यस्तो अद्भूत अनुभव सँगाल्नु भएको छ ? छैन भने एकपल्ट त्यो अनुभव गर्नुस, जीवनकै अविस्मरणीय पल बन्न सक्छ जसरी मेरो बन्यो ।साहित्यकार पाउलो कोएल्होले कुनै बेला भनेका थिए,– ‘साहसी बन । जोखिम लेऊ । यहाँ अनुभवको कुनै विकल्प छैन।’

सायद पाउलोको भनाइबाट म पहिल्यैदेखि प्रभावित थिएँ । त्यसैले होला, जेठ २६ गते शनिबार म उनले भनेजस्तै साहसी बनिरहेको थिएँ, जोखिम मोलिरहेको थिएँ । अनि यही साहस र जोखिमबाट जीवनकै यादगार र रोमाञ्चक अनभुव बटुलिरहेको थिएँ ।म कुरा गरिरहेको छु– ‘क्यानोनिङ’ को जसलाई नेपालीमा ‘छाँगावरोहण’ भनिन्छ ।  ०७० को दशकपछि फ्रान्सबाट सुरु भएको क्यानोनिङ अहिले विश्वभर लोकप्रिय छ । साहसिक खेलमा पर्छ यो।

अहिलेसम्म मैले न ¥याफ्टिङ गरेको छु न प्याराग्लाइडिङ न बन्जी जम्प । साहसी खेलमा मेरो पहिलो अनुभव बन्यो ‘क्यानोनिङ’ । गत जेठ २५ र २६ गते नेपाल क्यानोनिङ एसोसिएसनले धादिङको थाक्रेस्थिते रानी झरनामा दुईदिने क्यानोनिङ महोत्सव गरेको थियो । त्यही अवसरमा मैले क्यानोनिङ गरेको हुँ ।क्यानोनिङका दृश्यहरु युट्युबमा बग्रेल्ती हेरेको थिएँ । पानीको बेगसँगै मनमोहक झरनाबाट मान्छे झरिरहेको देख्दा थोरै डर थियो, बढी त उत्सुकता नै ! काठमाडौंबाट एक हुल क्योनोनिङ गर्न रानी झरना पुगेको थियो, त्यो दिन।

छाँगामा जानु अघि खेलका नियमहरु सुनाइएको थियो । सडकमा सवारी चलाउँदाझैं त्यहाँ पनि टाउकोमा हेल्मेट अनिवार्य रहेछ । ‘वेटसुट’ (विशेष किसिमको कपडा) तथा ‘हार्नेस’ अनिवार्य लगाउनुपर्ने रहेछ ।पानीमा रुझ्दै ‘हार्नेस सुट’ लगाएर डोरीमा झुन्डिएर खेल खेलिन्छ । यसरी छहराबाट डोरीमा झुन्डिएर झर्न ठूलै साहस चाहिन्छ ।गाइडले झरनाबाट कसरी झर्ने भनेर सबैलाई देखाए । त्यसपछि काठमाडौंको टोली क्यानोनिङको लाइभ मज्जा लिन थाल्यो । मैले सुरुमै गरिँन, अरुले गरेको हेरेँ । अरुले गरेको देख्दा आत्मविश्वास बढ्यो ।झरनाको बीचमा पुगेर अडिएको देख्दा दर्शकको मन आत्तिने रहेछ।

एक घण्टाजति अरुलाई नियालेपछि म तयार भएँ । पहिलोपल्ट क्यानोनिङ गरिरहेकाहरुलाई एकैपल्ट ठूलो झरनाबाट झर्न दिइएको थिएन । पहिला ८ मिटर, त्यसपछि १३ मिटर अनि मात्र २३ मिटरको झरनामा खेलाइयो ।
झरनाको माथि र तल दुवैतिर गाइड तैनाथ थिए, सहयोगका लागि । ८ मिटरको झरनाबाट मेरो अनुभव सुरु भयो । गाइडले शरीरमा डोरी कनेक्ट गरे । राम्रोसँग कसे । शरीर आकाशतिर फर्काएर मुनि पानीको पोखरीतिर झर्न भनियो । गाइडले भनेजसरी झर्दै थिएँ, पोखरी आइपुग्नै लाग्दा गाइडले ‘जम्प’ गर्न भने ।

आखिर समस्या पनि त क्यानोनिङमा कहाँ थियो र, डरमै थियो नि ! अब त क्यानोनिङ डर होइन, रहर भइसक्यो, झरनाबाट फेरि झर्ने रहर जो मनमा पलाइसक्यो !

पौडिन आउँदैन थियो, तैपनि जम्प गरेँ । पानी नाक र मुखमा पसेर थोरै सर्कियो । तर रमाइलो भयो ।त्यसपछि दोस्रो झरनामा पुगियो । ८ मिटरको भन्दा थोरै डरलाग्दो थियो । क्यानोनिङ गराउनुअघि गाइडले मसँग अनेक प्रश्न गरिरहेका थिए । ‘घर कता हो ?’, ‘के गर्नुहुन्छ ?’ आदि ।  पछि थाहा भयो– यो त खेलाडीको डर भुलाउने टेक्निक रहेछ ! पानीमा रुझ्दै डोरीको सहयोगले ब्रेक लाउँदैलाउँदै दोश्रो झरना पनि पार गरियो।

त्यसपछि पुगियो अग्लो २३ मिटरको रानी झरनामा । दुईटा झरनामा क्यानोनिङ गरिसकेपछि तेस्रोमा गर्ने हिम्मत बढेर आयो । हिम्मतविना यो खेल सम्भव छैन । मभन्दा अघि एक युवती थिइन्, क्यानोनिङ तयारीमा । दुईटा झरनामा नगरी एकैपल्ट ठूलो झरना आएकी रैछिन् । एकदमै डराइरहेजस्तो लाग्थ्यो तर ‘कुल’ देखिन्थिन् ।
‘दाइ, मलाई केही भयो भने बचाउन आउनु ल !’, डोरी तन्काएर तल झर्नुअघि उनी गाइडलाई बिन्ती गर्दैथिइन् । क्यानोनिङ गर्नु अघि जति डराए पनि झर्ने क्रममा उनी ‘कुल’ देखिन्थिन् । यस्तो लाग्थ्यो, उनले डर भुलिसकिन्, झरनाको पानीले भुलाइदिइसक्यो ।

पालो मेरो आयो । खुट्टा भित्तामा टेक्दै बिस्तारैबिस्तारै डोरीको सहायताले झरनामा हिँड्न थालेँ । माथिबाट कहिले पानीको छिट्टाले छुन्थ्यो, कहिले पानीको फोहोराले भिजाउँथ्यो । पानीले भिजेर शरीर पनि निथ्रुक्क भइसकेको थियो । तैपनि ‘हार्नेस सुट’ लगाएर होला, म आफूलाई ‘सुपरहिरो’ जस्तो महसुस गर्दैै थिएँ।   

झरनाको बीचमा पुगेर हात–हल्लाउँदै पोज–पोजमा तस्बिर पनि खिचाएँ । झर्नै लाग्दा एकपल्ट पानीले खुट्टा झन्डै चिप्लियो । फेरि आफूलाई सम्हालेँ । मसँग मलाई अड्याउने डोरी थियो, त्यसैले केही नहोला भन्नेमा ढुक्क थिएँ । तैपनि मनै त हो, अप्रिय सम्भावनालाई नकार्न पनि त सकिन्नँ ।मुनि पानीको दह गहिरो थियो । त्यसैले झरनाबाट झर्नुभन्दा बढी मुहानमा आइपुग्दा डर लाग्यो । कारण– पौडिन आउँदैनथ्यो । चिच्याउँदै गाइडलाई भनेँ, ‘मलाई पौडिन आउँदैन, समात्नुस् है ।’त्यसपछि बिस्तारै पानीमा हामफालेँँ । दुईजना गाइडले समाते।  

कुनै दिन झरनाको भित्तामा खुट्टाले टेक्छु होला, यो मैले कहिल्यै गरेको कल्पना थिएन । त्यसैले मेरा लागि यो पहाडै जितेजस्तो अनुभव थियो ।‘यस आइ डिड इट’ क्यानोनिङपछि मैले देखाएको उत्साहपूर्वक व्यवहारले साइक्लस्टि रन्जन राजभण्डारी पनि चकित देखिन्थे । मैले क्यानोनिङ गरेको भिडियो उहाँले खिचिदिनुभएछ । भिडियोले क्यानोनिङको त्यो रोमाञ्चक पल सम्झाउँछ । सुरु गर्नुअघिको त्यो डर र त्यसपछिको रोमान्चकता याद दिलाउँछ ।

‘हिम्मत नै सबथोक हो,’ क्योनोनिङ गराउनुअघि गाइडले सम्झाएको यो अभिव्यक्ति मैले अझै बिर्सिएको छैन । त्यसै भनिएको होइन रहेछ, ‘डरके आगे जित है ।’त्यो दिन क्यानोनिङले मभित्रको डरलाई जित्यो । आखिर समस्या पनि त क्यानोनिङमा कहाँ थियो र, डरमै थियो नि ! अब त क्यानोनिङ डर होइन, रहर भइसक्यो, झरनाबाट फेरि झर्ने रहर जो मनमा पलाइसक्यो !

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App