७ वैशाख २०८१ शुक्रबार
कला

टिकट मूल्य विवादले ‘सञ्जु’ रिलिज प्रभावित

काठमाडौं– टिकट मूल्यको विषयमा हल र वितरकबीच विवाद उत्पन्न भएपछि काठमाडौैंका मल्टिप्लेक्स बलिउड फिल्म ‘सञ्जु’ रिलिज नगर्ने निर्णय गरेका छन्।

यो समाचार तयार पार्दासम्म राजधानीको एउटा मल्टिप्लेक्सबाहेक बाँकी हलले फिल्म रिलिज नगर्ने निर्णय गरेका छन् ।हिन्दी फिल्मको व्यापारमा भारी गिरावट आउन थालेपछि राजधानीका धेरै मल्टिप्लेक्सले ‘विक डेज’ (मंगलबार, बुधबार र बिहीबार)का दिन टिकट मूल्य आधा गरेका थिए ।

‘सञ्जु’ वितरकले विक डेजमा पनि विकेन्ड सरह नै टिकट बेच्नु पर्ने शर्त राखेपछि काठमाडौंका हलवाला फिल्म नै नलगाउने निर्णयमा पुगेका हुन् । बुधबारदेखि नै बुकिङ खुलाउने मल्टिप्लेक्सले पोस्टर पनि वेबसाइटबाट हटाएका छन् ।देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका मुख्य कार्यकारी अधिकृत रोशन अडिगाले रिलिजको मुखमा आएर नयाँ नयाँ शर्त राख्दा समस्या आएको बताए।

‘हामीले लामो समयदेखि विकेन्ड र विक डेजको टिकट दर फरक फरक गर्दै आएका छौं । उपभोक्तालाई थाहै नदिई अचानक परिवर्तन गर्न मिल्दैन । हामीले उहाँहरूलाई यही कुरा भनेका हौं । तर उहाँहरू वार्तामा बसेर समस्या समाधान गर्न पनि इच्छुक देखिनु भएन,’ अडिगाले भने । अडिगाले वितरकले चलचित्र संघमा बोलाइएको वार्ता पनि बहिस्कार गरेको बताए । संघले समस्या समाधानका लागि दुवै पक्ष राखेर मध्यस्थता गर्न खोजे पनि बुधबार, बिहीबार दुवै दिन वितरकले वार्ता बहिस्कार गरेको बताए।

‘सञ्जु’लाई गोपीकृष्ण मुभिज र चौधरी ग्रुप मिलेर नेपालमा ल्याएका हुन् ।  ‘रेस ३’बाट चौधरी ग्रुप फिल्म वितरणमा आएको हो । यता फिल्म वितरकले भने हलवालाले जबर्जस्ती सिन्डीकेट गर्न खोजेको आरोप लगाए । नाम नबताउने शर्तमा फिल्मका वितरकले भने , ‘हामीले सबै फिल्ममा  मूल्य नघटाऔं भनेको होइन । वितरण अधिकारका लागि धेरै खर्च भएका फिल्मका हकमा मात्र टिकट दर एकै गरौं भन्या हो । उहाँहरूले मान्नु भएन । हामीले पनि घाटा खाएर व्यापार गर्ने कुरा हुँदैन ।’

ती वितरकले हल र वितरक बीचको समस्या समाधानका लागि संघ गुहार्नु पर्ने कुनै जरुरी नभएको बताए ।
‘संघले व्यापार गर्ने हो र’ ती वितरकले भने ,‘व्यापार हलले गर्ने हो । हलले हामीसँग कुरा गर्दा भइहाल्थ्यो । संघले हाकिम भएर बोलाउँदैमा जानु पर्छ भन्ने छैन । त्यही भएर हामी गएनौं ।’ उनले हलवालाले आफूले ल्याउने फिल्म देखाएर विज्ञापनवापत टन्न पैसा कमाउने तर वितरकको मर्म भने बुझन् नसकेको पनि गुनासो गरे ।‘हामीले ल्याएका फिल्मका कारण मल्टिप्लेक्समा विज्ञापनको बाढी लाग्छ । त्यसबाट हामीलाई ५ पैसा दिनुहुन्न । हामी घाटामा छौं भन्दा चैं दर्शकको बहाना गर्ने,’ती वितरकले आक्रोश पोखे।

 फिल्म वितरणमा चौैधरी ग्रुप संलग्न भएसँगै गोपीकृष्णले नयाँ नयाँ शर्त राख्न थालेकोे हलवालाको आरोप छ । यही कारण ‘रेस ३’को समयमा पनि हलवाला र वितरकबीच विवाद परेको थियो । तर अन्तिम समयमा दुवै पक्ष सम्झौतामा आएपछि फिल्म रिलिज भएको थियो ।फिल्म काठमाडौंका मल्टिप्लेक्समा नलागे पनि सिंगल थिएटर र काठमाडौं बाहिरका मल्टिल्पेक्समा भने लाग्नेछ । क्युएफएक्स चेनमा भने काठमाडौं बाहिर पनि फिल्म लाग्ने छैन।

फिल्मका वितरकले यो फिल्ममा जति घाटा भए पनि सम्झौता नगर्ने बताए ।‘अब अलि कति घाटा त हुन्छ नै । तर काठमाडौंका मल्टिप्लेक्सको कुरा मान्दा पनि हामीलाई खास फाइदा छैन । उहाँहरू हाम्रो शर्तमा फिल्म चलाउन राजी हुनुभयो भने ठिकै छ नत्र फिल्ममा जहाँ जहाँ चलेकोे छ, त्यही मात्र चल्छ,’ ती वितरकले भने ।

प्रकाशित: १५ असार २०७५ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App