८ वैशाख २०८१ शनिबार
कला

नेपाली फिल्मको खराब बोहनी

फिल्म ‘कोहलपुर एक्सप्रेस’को एक दृश्यमा बिनोद न्यौपाने र केकी अधिकारी । (माथि) फिल्म ‘डमरुको डण्डिबियो’मा खगेन्द्र लामिछाने अन्य कलाकारका साथ ।

काठमाडौं - अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ सुरु भएको यो वर्षका पहिला दुई महिनाले भने फिल्म उद्योगको यो अपेक्षालाई झुट साबित गरेका छन् ।

जेठ अन्तिमसम्म रिलिज भएका फिल्मलाई हेर्दा वैशाख र जेठ महिना नेपाली फिल्मका लागि असफल साबित भएको छ ।यो सालको नयाँ वर्ष शनिबार परेका कारण धेरै निर्माताले यो मितिमा फिल्म प्रदर्शन गर्ने लोभ गरेनन् । चैत ३० मा रिलिज भएको ‘लिलीबिली’ नै नयाँ वर्षको फिल्म बन्यो ।

नत्र भने अघिल्लो साल नयाँ वर्षको बिदा खाने लोभमा तीन–तीन फिल्म प्रदर्शन भएका थिए । वैशाखमा लगभग दर्जन फिल्म रिलिज भए तर कुनै पनि फिल्मले निर्माताकोे लगानी फर्काउन सकेनन् । यही महिना रिलिज भएका केही फिल्मले त  स्टारको स्टारडम पनि हावा खाएको संकेत देखायो । वैशाखभरिमा ‘स्वर्ग मेरो गाउँ’, ‘कोहलपुर एक्सप्रेस’, ‘डमरुको डण्डिबियो’, ‘ह्याप्पी डेज’, ‘भोर’, ‘लम्फू’, ‘हिरोज’ र ‘मनाङे नानी’ लगायतका फिल्महरू रिलिज भएका थिए ।

यसमा नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्म ‘कोहलपुर एक्स्प्रेस’, खगेन्द्र लामिछानेको ‘डमरुको डण्डिबियो’ अपेक्षा गरिएका फिल्म थिए तर दुवै फिल्मले दर्शकको मनोरञ्जनकोे चाहना पूरा गर्न सकेनन् ।
‘कोहलपुर एक्स्प्रेस’ लाई धेरैले सफल हुने अपेक्षा गरेका थिए ।

अनुभवी अभिनेत्री केकी अधिकारी निर्माणमा संलग्न भएका कारणले मात्र होइन केकीसँगै प्रियंका कार्की र ऋचा शर्माको पनि संलग्नता भएका कारण धेरैले यो फिल्मले वर्षको सुरुवात नाफाका साथ गराउने अपेक्षा राखेका थिए तर दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’बाट लगभग उठाइएको फिल्मले दर्शक, समीक्षक दुवैलाई निराश पार्यो।
बक्स अफिसमा कमजोर प्रदर्शन गरेको फिल्म चलाउन केकीले १ करोड ग्रस गरेको भन्दै केकी काटिन् । चलेका फिल्मले दिनमै डेढ करोड कमाइ गरिरहेका बेला केकीको हर्क बढाइँले दर्शक कति झुक्यायो थाहा छैन तर केकीको तौल भने घटायो । केकीमाथि फिल्म चलाउन कमजोर ‘स्टन्ट’ गरेको आरोप लाग्यो।

जेठमा रिलिज भएका फिल्ममध्ये ‘हरि’ बौद्धिक दर्शक र समीक्षकको नजरमा रोज्जा बन्यो । तर फिल्मले चर्चा अनुसार हलमा दर्शक तान्न सकेन । यसले दर्शक हलमा तान्नलाई चुट्किला भरिएका संवाद र मेलामा नचाइएका लोकगीत नै चाहिन्छ भन्ने सन्देश दिएको छ।

यसरी दर्शक अपेक्षामा फेल हुनेमा वैशाखको अन्त्यमा रिलिज भएको ‘डमरुको डण्डिबियो’ पनि सामेल भयो । डण्डिबियो जस्तो इतिहासबाटै हराएको खेलमाथि बनेकोे फिल्मले सुखद सुरुवात त पायो तर त्यो सुरुवात टिकाउन सकेन । स्टारकास्ट भइकन पनि कन्तबिजोग लाग्ने व्यापार ‘ह्याप्पी डेज’कोे रह्यो । दयाहाङ राई र प्रियंका कार्कीका साथ स्कटल्यान्डको लोकेसनले पनि फिल्मलाई बचाउन सकेन । शुक्रबार रिलिज भएको फिल्म बिदा भए पनि आइतबार मल्टिप्लेक्सबाट उत्रिसकेकोे थियो ।

चलचित्र संघ र निर्माता संघको आन्दोलनका कारण जेठ महिनाको क्यालेन्डर प्रभावित बन्यो । प्रदर्शन घोषणा गरेका  ‘ब्ल्याक’, ‘भैरे’ जस्ता फिल्मले प्रदर्शन मिति सारे । यही कारण सोलो रिलिजको मौका पाए पनि फिल्मले दर्शक हलसम्म तान्न सकेनन्।

फिल्म निर्माताले हलबाट पाउने शेयरमा असन्तुलन भएको भन्दै आन्दोलन गर्ने घोषणा गरेपछि उनीहरूले हललाई फिल्म चलाउन नदिने घोषणा नै गरे । तर निर्माता र प्रदर्शकबीच वार्तामार्फत सहमति भएपछि हल बन्द हुने वातावरण रोकियो।

जेठ महिनामा ‘हरि’, ‘अमेरिका बोइज’, ‘सुनकेसरी’, ‘चंगा’, ‘मट्टीमाला’ र ‘बेबी आइ लभ यु’लगायतका फिल्म रिलिज भए । यी फिल्ममध्ये अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘सुनकेसरी’ले पहिलो दुई दिन राम्रो व्यापार गर्यो तर त्यसपछिका दिनमा यो फिल्मको पनि उही हालत भयो । तर ऋचाले पनि केकीकोे सिको गर्दै एक करोड पुगेको भन्दै केक काटिन् । सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा पनि अभिनेत्रीको यस्तो रहरको आलोचना भयो।

जेठमा रिलिज भएका फिल्ममध्ये ‘हरि’ बौद्धिक दर्शक र समीक्षकको नजरमा रोज्जा बन्यो । फिल्म हेर्ने सबैले फिल्मको प्रस्तुति र बिपिनको अभिनयको चर्चा गरे तर सानो लगानीमा बनेको भए पनि फिल्मले चर्चा अनुसार हलमा दर्शक तान्न सकेन । यसले दर्शक हलमा तान्नलाई चुट्किला भरिएका संवाद र मेलामा नचाइएका लोकगीत नै चाहिन्छ भन्ने सन्देश दिएको छ।

असार र साउन पानी पर्ने मौसमका कारण फिल्म रिलिजका लागि उपयुक्त समय मानिन्न । अझ काठमाडौैंबाहिर खेती गर्ने सिजन भएकाले निर्माताहरू यो समयमा फिल्म रिलिज गर्न रुचाउन्नन् । यही कारण ठूला ब्यानरका निर्माताले भदौको मिति रोज्ने गरेका छन् । अघिल्ला वर्षझैं यो साल पनि भदौमा प्रशस्त फिल्मबीच भिडन्त हुने भएको छ।

यो साल भदौ १ मा तीन फिल्म रिलिज हुँदैछन् भने १५ मा अहिलेसम्म दुई वटा फिल्मले रिलिज घोषणा गरेका छन् । ८ गते भने अहिलेसम्म एउटा मात्र फिल्म आउने चर्चा छ । भदौ २२ र २८ मा भने दुई दुई फिल्म एक आपसमा भिड्ने घोषणा गरेका छन्।
 

प्रकाशित: ७ असार २०७५ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App