१६ चैत्र २०८० शुक्रबार
कला

‘म त बोरिङ सेलिब्रेटी’

करिब चार घण्टाको फोटोसुटले पनि सुरक्षा पन्तलाई थकाएको थिएन । शरीरमा जोश र मुहारमा मुस्कान उनको उस्तै थियो । प्रशंसकहरु उनको आँखा र मुस्कानको खुब तारिफ गर्ने गर्छन् । मान्छे पनि राम्री नै छिन्, मुहार फोटोजेनिक नै छ । तैपनि उनलाई लाग्छ, उनीसँग फोटोसुट ह्यान्डल गर्ने खुबी नै छैन । भन्दै थिइन्, ‘मलाई यो एकदमै हेक्टिक काम लाग्छ । फोटोसुटमा क्यामेरा फेस गर्दा म अति ‘कन्सस’ हुन्छु।’ नागरिक परिवारसँग यो अंकका लागि सुरक्षाले आफ्नो जीवन, करिअर, रुचि, प्रेम र फिल्मबारे खुलेर कुरा गरेकी छन् :

०००

बा–आमाको चाहना थियो, छोरीलाई डाक्टर–इन्जिनियर बनाउने तर सुरक्षाका रुचि अरु नै थिए, टिभीमा बोल्ने, छमछमी नाच्ने, चित्र कोर्ने, कविता लेख्ने यस्तै–यस्तै । 

परिवारसँग उनका रुचि त बाझिए तर मन बाझिएन । इन्जिनियरिङ पढिन्, अहिले बाआमा खुसी छन्, कलाकार बनिन्, त्यसैले आफू पनि खुसी छिन् । परिवार र आफ्नो, सबैको खुसी समायोजन गरेर अघि बढिरहेकी छन्, अभिनेत्री सुरक्षा पन्त । उनको फिल्म, कामको प्रकृति र विचार हेर्दा र सुन्दा यस्तो लाग्छ– बजारको पछि दौडिरहेकाहरुको भिडमा उनी बजारलाई डो¥याउन खोजिरहेकी छन् । 

काठमाडौं यात्रा 

१० वर्षअघि जतिबेला सुरक्षा बुटवल (घर)बाट काठमाडौं आइपुगेकी थिइन्, त्यतिबेला उनीसँग कुनै ठूलो सपना थिएन । उनलाई यत्ति थाहा थियो, काठमाडौं सपनाहरुको सहर हो । त्यो बेला करिअरप्रति उनी ‘कन्फ्युज’ नै थिइन् । एसएलसी पास गरेर आएकी उनी एउटै कुरामा पक्का थिइन्, अब साइन्स पढ्दैछु । यतिबेला पढेर सिभिल इन्जिनियर पनि भइसकिन् । अहिले इन्जिनियरिङमै मास्टर्स भर्ना भएकी छन् । भन्छिन्, ‘साँझतिर मास्टर्सको क्लास गइरहेकी छु, दिउँसोतिर काम ।’ 

स्नातक पढ्दापढ्दै सुरक्षाले मिडियामा काम थालेकी हुन् । ५ वर्षअघि इमेज भिजे हन्ट प्रतिस्पर्धा भएको थियो तर ‘टप थ्री’मा पुगेपछि उनी बाहिरिइन् । पढाइमा समय दिन नसकेपछि सो नै छोडिन् । लगत्तै उनलाई सगरमाथा टेलिभिजनले कार्यक्रम सञ्चालनको प्रस्ताव ग¥यो । केही समय त्यहीँ कार्यक्रम चलाएर आफूलाई विकास गरिन् उनले ।

फिल्मको यात्रा 

सुरक्षामा ‘हिरोइन’को तत्व देख्ने पहिलो निर्देशक थिए, आलोक नेम्वाङ (स्वर्गीय) । ५ वर्षअघि जतिबेला उनले ‘अझै पनि’ फिल्मका लागि सुरक्षालाई अफर गरे, त्यतिबेला उनी ‘इमेज भिजे हन्ट’ कार्यक्रम चलाउँथिन् । ‘टिभीको स्क्रिनअगाडि बोल्ने ठूलो रहर थियो, फिल्म नै खेल्छु होला भन्ने दिमागमा एकरत्ति पनि थिएन,’ सुरक्षाले सम्झिइन्, ‘आलोक दाइ (नेम्बाङ)ले टिभीमा हेरेपछि ‘स्क्रिनमा राम्रो देखिने फेस रहेछ’ भन्दै कल गर्नुभयो । पढाइ सकिएको थिएन त्यसैले पहिलोपल्ट त रिजेक्ट नै गरेँ । परीक्षा सकिएपछि भने रहरैरहरमा खेल्न तयार भएँ ।’ ‘अझै पनि’पछि उनले ‘सुस्केरा’, ‘धनपति’, ‘भैरे’ र ‘चंगाचेट’फिल्ममा काम गरिसकिन् । ‘धनपति’बाहेक अन्य फिल्म रिलिजको तयारीमा छन् । अहिले उनी नयाँ फिल्म ‘गोपी’को सुटिङ तयारी गरिरहेकी छन् ।

उनले फिल्ममा अभिनय थालेको पाँच वर्ष पुगिसक्यो । ‘अझै पनि’पछि दुई वर्ष आफूलाई निखार्नलाई ‘ग्याप’ गरिन् । त्यसपछि लगातार फिल्म गरिरहेकी उनी यो पाँच वर्षलाई आफ्नो जिन्दगीकै महŒवपूर्ण समय मान्छिन् । ‘यो मेरो जीवनकै टर्निङ भएको समय हो,’ उनले भनिन्, ‘यी ५ वर्ष नभएका भए सायद मेरो जीवन सरल र सामान्य हिसाबले नै जान्थ्यो । यस बीचमा मैले आफूलाई निखार्न पाएकी छु, आफू को हो भनेर चिन्ने मौका पाएकी छु ।’ 

कलाकार कि इन्जिनियर ?

सुरक्षालाई बारम्बार सोधिने प्रश्न हो, ‘इन्जिनियरको विद्यार्थी कलाकारितामा किन आएको ?’ तर उनलाई यो प्रश्न नै अर्थहीन लाग्छ । तपाईं खासमा कलाकार कि इन्जिनियर भनेर सोध्दा उनको जवाफ घतलाग्दो थियो, ‘म दुवै हो । पछि तेश्रो परिचय पनि थपिन सक्छ । हाम्रो समाजको ‘तिमीले एउटैमात्र चिज गरेर जानुपर्छ’ भन्ने मानसिकता नै मलाई गलत लाग्छ । कहिलेकाहीँ एउटै व्यक्तिसँग धेरै क्षमता र गुण हुनसक्छ जुन एउटै पेसाले सम्बोधन नगर्न सक्छ । सायद मसँग पनि अरु गुण थिए जसलाई मैले इन्जिनियर मात्रै भएर सम्बोधन गर्न सकिनँ कि !’

सुरक्षाले ‘धनपति’ फिल्ममा खगेन्द्र लामिछानेको अपोजिटमा गृहिणीको भूमिका निर्वाह गरिन् । दयाहाङ राईको जोडी बनेर ‘भैरे’मा देखिँदैछिन् । आफ्नो अभिनयप्रति उनी पूरै सन्तुष्ट छैनन् तर वाहियात गरेजस्तो पनि लाग्दैन । 

‘आफ्नो कामदेखि हन्ड्रेट पर्सेन्ट सन्तुष्ट त म छैन तर सुधार हुँदै गएको महसुस गरेकी छु । अझै निखार्नुपर्ने त छ । सधैँ एकैजसो काम गरेर कहाँ हुन्छ र ?’ उनको बुझाइ छ । 

सुरक्षालाई सोधियो– तपाईंको नजरमा एक्टिङ गर्नु भनेको के हो ? प्रश्न सुनेर एकछिन अड्किइन् र जवाफ दिइन्, ‘साह्रै गाह्रो प्रश्न हो यो । क्यामेराअघि पनि क्यामेरा नभएजसरी व्यवहार गर्न सक्नुचाहिँ एक्टिङ हो भन्ने मलाइ लाग्छ । भन्दा साधारण सुनिए पनि यसमै सबै जवाफ छ ।’

यो त भयो उनले आफ्नो अभिनयबारे राखेको धारणा । आफूले गरेका फिल्मबाट उनी कत्तिको सन्तुष्ट छिन् त ? प्रश्न भुइँमा खस्न नपाउँदै उनी बोलिहालिन्, ‘कहाँ हुनु सन्तुष्ट ? केही अपवादलाई छाड्ने हो भने राम्रो फिल्म त बनेकै छैन नि यहाँ ? कहाँ बनेको छ र ? यहाँ त धेरै फिल्महरु एक्टरले धानिरहेका छन् । फिल्म उत्कृष्ट भन्दा पनि कमर्सियल एक्टरको क्रेजले फिल्म चलिरहेको छ । खासगरी फिल्म त फिल्म नै राम्रो भएर चल्नुपर्छ, होइन र !’ 

सुरक्षाले यी पाँच वर्षको अवधिमा कति फिल्म रिजेक्ट गरिन् ? अरुले भए जति पनि भन्थे होलान् तर उनी इमान्दार सुनिइन्, ‘त्यही ७–८ वटा पुग्यो । मलाई अफर त्यति धेरै आउँदैनन् ।’ 

‘किन आउँदैनन् ?’

‘म बढी चरित्रप्रधान अभिनय रुचाउँछु । तर हाम्रो समाज ‘मेल डोमिनेटेट’ छ ।  फिल्म क्षेत्र पनि यसबाट मुक्त छैन । छोरी मान्छेको क्यारेक्टर बलियो भएको त्यति हेर्न रुचाइँदैन । हिरोइन त ग्ल्यामर र सुन्दर देखिए पुग्छ भन्ने मान्यता छ तर म त्यो मान्दिनँ । त्यसैले मलाई केही सिरियस फिल्म मेकर्सले मात्र अफर गर्नुहुन्छ,’ उनको भनाइ छ ।

निर्देशक हेरेर फिल्म

सुरक्षालाई फिल्म खेल्न तयार बनाउने पहिलो सर्त के होला ? ‘नागरिक परिवार’को जिज्ञासामा उनले भनिन्, ‘निर्देशक हेरेर नै हो मैले फिल्म खेल्ने । जो निर्देशकले मलाई प्रस्ताव गरेको हुन्छ, म सुरुमा उसको आँखाबाट भित्र छिरेर उसलाई बुझ्न खोज्छु । निर्देशक नयाँ भए पनि ठीकै छ तर म एकपल्ट भए पनि त्यो मान्छेसँग बसेर त्यसको पार्टपुर्जा बुझ्न भने खोज्छु ।’

स्क्रिप्ट उनको दोस्रो प्राथमिकता हो । स्क्रिप्ट नै नपढी पनि उनले फिल्म खेलेकी छन् । निर्देशक साम्तेन भुटियाको ‘सुस्केरा’ उदाहरण हो । भनिन्, ‘मलाई कोही निर्देशकप्रति एकदमै विश्वास लाग्यो भने म वन लाइन स्टोरी सुनेकै भरमा पनि फिल्म खेल्दिन्छु । ‘सुस्केरा’ त्यसरी नै खेलेकी हुँ ।’  

‘मिस हुन्छ नर्मल लाइफ’

हिरोइन बनेपछि सुरक्षाले सबैभन्दा बढी मिस गने कुरा के हो ? भन्छिन्, ‘नर्मल लाइफ !’ हुन त अहिले पनि उनी आफूलाई सेलिब्रिटी भएको महसुस त गर्दिनन् तर अहिले कलाकार भएपछि उनी साधारण जीवन चाहेर पनि जिउन सकिरहेकी छैनन् । ‘पहिले जे गरे नि बाल हुन्थेन,’ उनले भनिन्, ‘अहिले त कतिबेला ‘फेक’ हुनुपर्छ पत्तो हुँदैन । जे हो त्यही बोल्न पनि पाइँदैन । साथीभाइलाई जथाभावी भेट्न पाइँदैन । तैपनि सकेसम्म म नर्मल भएरै बाँच्न खोज्छु ।’

मिडियामा कम किन ? 

सुरक्षा ‘मिडिया फ्रेन्ड्ली’ नभएको गाइँगुइँ पनि फिल्म क्षेत्रमा बेलाबखत सुनिन्छ । तर सुरक्षा यो कुरामा सहमत छैनन् । ‘म मिडियाबाट भागेको होइन, अप्रोच नै कम भएको हो,’ उनले भनिन्, ‘म त बोरिङ सेलिब्रेटी हो । अरु जसरी न गसिप बनाउन आउँछ, न त्यस्तो ‘लाउड’ केही गर्न जानेकी छु । मिडियामा अरु जसरी इस्यु क्रिएट गर्न पनि आउँदैन । त्यसैले मिडिया मेरो पछि नदौडिएको जस्तो लाग्छ ।’ 

यौन दुर्व्यवहारबारे सुरक्षा 

मनोरञ्जन क्षेत्रको के कुराले सुरक्षाको चित्त दुख्दो हो ? भन्छिन्, ‘यही क्षेत्रमै काम गर्ने मान्छेले नै यो क्षेत्रको अवहेलना गर्दा चित्त दुख्छ । यही क्षेत्रमा बसेर यही क्षेत्रको धज्जी उडाउँदा बहुत चित्त दुख्छ । हेल्थ, इन्जिनियरिङ सेक्टरमा काम गर्नेहरुले त आफ्नो पेसाप्रति गर्व गर्छन्, फिल्म उद्योगमा जस्तो धज्जी उडाउँदैनन् ।’

संसारभर कलाकारमाथि विभिन्न बहानामा हुने यौन दुर्व्यवहारबारे बेलाबखत आवाज उठ्ने गर्छ । नेपालमा पनि आक्कलझुक्कल कलाकारले दुर्व्यवहारविरुद्ध बोल्ने साहस देखाउँछन् । धेरै अझै शोषण सहन तयार छन् तर खुलेर बोल्न डराउँछन् । यसबारे सुरक्षाको धारणा के छ त ? भन्छिन्, ‘मलाई अहिलेसम्म कसैले चान्स मार्न खोजेको छैन । म त के भन्छु भने सुरुमा आफू बलियो हुनुपर्छ । त्यसका लागि ज्ञान बढाउनुपर्छ, अनुभव बढाउनुपर्छ, क्षमता बढाउनुपर्छ । अनि कसैले ह्यारेस गर्न खोज्दैछ भने त्यो व्यक्तिले तपाईंको आँखामा हेरेरै डराओस् ।’ 

सुरक्षाको सुझाव छ– कसैले दुर्व्यवहारको लक्षण देखाउँदैछ भने सुरुमा त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । ‘त्यसो गर्दा पनि केही लागेन भने आवाज उठाउने हो । म भए त थप्पड हानिहाल्थेँ, प्रतिकार गरिहाल्थेँ,’ उनको सूत्र छ ।

‘महिलाले नै महिलालाई उडाए’ 

नेपाली फिल्ममा महिलाहरुको कमजोर चरित्र चित्रणलाई लिएर सुरक्षा निकै चिन्तित छिन् । फिल्म क्षेत्रमा स्क्रिप्टबाटै महिलामाथि विभेद सुरु हुने उनको तर्क छ । तर, विडम्बना हामीकहाँ महिलालाई उडाइएर, होच्याएर र कमजोर देखाएर बनाइएका फिल्महरु नै चलिरहेका छन्, उत्कृष्ट फिल्मको अवार्ड पाइरहेका छन् । यसबारे सुरक्षाको आक्रोशपूर्ण धारणा छ, ‘कस्ता जुरीले त्यस्ता फिल्मलाई उत्कृष्ट ठहराउँछन्, मलाई त एकपल्ट भेटेर डिस्कस गर्न मन छ,’ उनले भनिन्, ‘फिल्म क्षेत्रमा फिल्म बनाउनेदेखि निर्देशन गर्नेसम्म अधिकांश पुरुष नै छन् । त्यसैले पर्दामा महिलाको चरित्र चित्रण कमजोर हुनु ठूलो कुरा होइन । चाहेर/नचाहेर पनि पुरुषको झुकाव बढी पुरुषप्रति गइनैहाल्छ । त्यसलाई ‘अनकन्सस बायसनेस’ भन्छ । तर यहाँ त फिल्म मेकिङ र निर्देशन गर्ने महिला नै महिलालाई  उडाइरहेका छन् ।’ 

उनको गम्भीर प्रश्न थियो, ‘महिलाले नै महिलाबारे सोच्दैनन् यहाँ, अनि पुरुषले होच्यायो भनेर किन उनीहरुलाई गाली गर्ने ?

हामीकहाँ फिल्मजस्तो सशक्त माध्यम हँसाउन मात्रै प्रयोग भएको सुरक्षाको टिप्पणी छ । ‘मनोरञ्जनको बहानामा फिल्ममार्फत् धेरै सन्देश दिन सकिन्छ, दर्शकलाई धेरै महसुस गराउन सकिन्छ,’ उनी भन्छिन्, ‘तर हामीकहाँ त यो माध्यमले दर्शक हँसाइदियो मात्रै क्या ! समाजमा केही सकारात्मक प्रभाव पार्न सकेन । फिल्मलाई पुस्तक बनाउनुपर्छ भन्न खोजेको होइन तर दर्शकलाई हँसाइहँसाइ भए पनि केही गम्भीर कुरा सिकाएर पठाऊँ । किनकि फिल्म पैसा मात्रै होइन कला पनि हो ।’

प्रेमबारे सुरक्षा

पर्दाभित्र त सुरक्षाले बिहे नै गरिसकिन् । तर पर्दाबाहिर ? भन्ने प्रश्नमा उनले सीधा जवाफ दिइन्, ‘अहिले ‘सिंगल रेडी टु मिंगल’को अवस्थामा हो । आइ मिन लुकिङ फर समवान ।’ उनको पार्टनर हुन त्यस्तो ठूलो कुनै सर्त हुनुपर्दैन रे ! थोरै ‘कुल’  र ‘सेन्स अफ ह्यूमर’ राम्रो भएको हुनुपर्छ रे ।  यसबाहेक झट्ट हेर्दा मान्छे राम्रो त लाग्नैप¥यो !’ 

धेरैले ठान्छन्, सुरक्षाले कलाकार बन्न जिन्दगीमा ठूलो संघर्ष गर्नु परेन । तर उनी भन्छिन्, ‘संघर्ष नगरेको होइन, नदेखाएको मात्र हो । संघर्षहरु धेरै गरियो । मेरो ठाउँमा यदि कमजोर मनको मान्छे भएको भए उहिल्यै निराश भइसक्थ्यो । धेरै खराब परिस्थिति पनि सामना गरियो । एकताका झन्डै डिप्रेसनमा गइसकेको अवस्था थियो ।’

खोतल्दै जाँदा थाहा भयो– करिअर, प्रेम, आर्थिक र पारिवारिक उत्तरचढाव उनले एकैपल्ट खेपिछन् । फिल्ममा करिअर सुरु गर्नै लाग्दा उनको ब्वाइफ्रेन्डसँग ब्रेकअप भयो । कारण– ब्वाइफ्रेन्डलाई सिम्पल केटी मनपथ्र्यो र कला क्षेत्र उनलाई सिम्पल लाग्दैनथ्यो । 

त्यतिबेला उनी होस्टेलमा बस्थिन् । कला क्षेत्रमा लाग्ने भनेपछि परिवारले पनि पैसा पठाउन छाडेको थियो । त्यसैले आर्थिक समस्या पनि थियो । के गर्ने के नगर्ने भनेर करिअरको तनाव त छँदै थियो । ‘सुरुसुरुमा यो परिस्थितिको सामना गर्न मलाई धेरै गाह्रो भयो,’ उनी सम्झिन्छन्, ‘भड्किएको आत्माजस्तो भएकी थिएँ । साथीहरुसँग हुँदा रिल्याक्स हु्न्थे, कोठा पुगेपछि तनाव भइहाल्थ्यो । मैले ‘म केसँग डराइरा’को हो ?’ भनेर आफैँले आफैँलाई थुप्रैपल्ट प्रश्न गरेपछि ‘अरुले के सोच्छ’ भन्ने कुराले बढी सताएको निष्कर्ष निकालेँ । र,  मैले यो गरेँ भने मेरो परिवारले के सोच्छ, त्यो गरेँ भने मेरो ब्वाइफ्रेन्डले के सोच्छ भनेर अरुको चिन्ता लिनु नै मेरो कमजोरी ठानेँ । र, आफूलाई जे ठीक लाग्छ, त्यही गर्ने निर्णय गरेँ । यसैगरी म त्यो खराब परिस्थितिबाट मुक्त भएँ ।’

अन्त्यमा प्रेम विधाका फिल्ममा काम गरिरहेकी सुरक्षालाई प्रेमबारे उनको बुझाई के हो भनेर सोध्दा उनले छोटो जवाफ दिइन्, ‘प्रेम भनेको अरु केही होइन, एकले अर्कोलाई दिनसक्ने खुबी मात्र हो । बिना अपेक्षा कसैलाई केही दिनु नै प्रेम हो ।’

प्रकाशित: २४ जेष्ठ २०७५ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App