१५ चैत्र २०८० बिहीबार
कला

तराई मधेसमा ‘झुमकी’

काठमाडौं – बलात्कार पीडित महिलाको कथामा आधारित पत्रकार अनिलकुमार कर्णको झुमकी तराई मधेशका आठ जिल्लामा प्रदर्शन गरिने भएको छ । सडक नाटकको स्वरूपमा प्रदेश २ का सप्तरीदेखि पर्सासम्मका विभिन्न १६ ठाउँ र प्रदेश १ को इटहरीमा प्रदर्शन हुने सो नाटकको प्रायोजन सामाजिक उत्तरदायित्वअन्तर्गत एडभान्स ग्रुपले गर्नेछ।

एडभान्स ग्रुप र गैरसरकारी संस्था सम्बलका पदाधिकारीबीच जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त नाटकको स्वरूप प्रदर्शन गरी तराई मधेशका केही जिल्लामा प्रदर्शन गर्ने सहमति भएको सम्बलकी उपाध्यक्ष एवं रंगअभिनेत्री पुनम ढकालले बताइन्।

झुमकीले दिने सकारात्मक एवं सार्थक सन्देशलाई जनतामाझ पुर्याउन र चेतना तथा संवेदनायुक्त समाज निर्माण गर्न कर्पोरेट हाउसको योगदान होस् भन्ने उद्देश्यले आफूहरूले नाटक प्रायोजन गर्ने टुंगोमा पुगेको एडभान्स ग्रुपको सेल्स एन्ड मार्केटिंगका महाप्रबन्धक दीपक घिमिरेले बताए।

बलात्कार पीडित महिलाको पीडा, सकस र संघर्ष देखाइएको उक्त नाटक केही समयअघि काठमाडौंमा एकल नाटकका रूपमा प्रदर्शन गरिएको थियो । सम्बल नामक संस्थाद्वारा आयोजना गरिएको कार्यक्रममा प्रस्तुत सो नाटकको निकै सराहना भएको थियो । खासगरी बलात्कारपीडित महिलाको भूमिकामा देखिएकी रीना रिमालको सशक्त र जीवन्त अभिनयको प्रशंसा भएको थियो।

‘नाटकको परिवर्तित स्वरूपमा करिब आठ कलाकारले भूमिका निर्वाह गर्नेछन् । तर, केन्द्रीय भूमिकामा भने एकल नाटककै अभिनेत्री रिमाल रहनेछिन्, बदलिएको स्वरूपमा समाजका फरक पृष्ठभूमि, उमेर समूह र पेसाका यौन दुव्र्यहारबाट पीडित महिला पात्र रहनेछन्,’ सम्बल उपाध्यक्ष ढकालले भनिन् ।  नाटकमा अभिनेत्रीहरू रिमाल र ढकालका अतिरिक्त गंगाकान्त झा, सबिन कट्टेल, सरस्वती अधिकारी, सगुन शर्मा आदि रहनेछन्।

प्रकाशित: १५ जेष्ठ २०७५ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App