१५ चैत्र २०८० बिहीबार
कला

रेडकार्पेटमा क्रिस्टनको खाली खुट्टा

पेरिस – हलिउड फिल्म ‘ट्वीलाइट’ सिरिजकी अभिनेत्री क्रिस्टन स्टुवार्टलाई विगतका संस्करणको भन्दा यसपटकको ७१ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१८’ विशेष रह्यो । फेस्टिभलको जुरीकी एक सदस्य उनले यो पटकको फेस्टिभलमा आयोजकसहित फेस्टिभलमा सहभागी फिल्मकर्मीको ध्यान आफूतिर तान्न सफल भइन्।

फेस्टिभलको रेडकार्पेटमा खाली खुट्टै हिँडेपछि उनीतिर सबैको ध्यानाकर्षण भएको थियो । धेरै टक सोमा आफ्नो ग्ल्यामर र पहिरनका कारण चर्चामा आउने उनी फेस्टिभलको एउटा नियमका कारण रेड कार्पेटमा ग्ल्यामर पहिरनमा खाली खुट्टै हिड्नु प¥यो । न्युड मेकअपसँगै कालो हिल लगाएर उपस्थित भएकी उनले रेडकार्पेटमै हिल खोलेर खाली खुट्टा हिँड्दा सहभागी चकित भएका थिए । फिल्म ‘ब्ल्याक लेन्समेन’को प्रिमियरका लागि रेडकार्पेटमा पुगेकी क्रिस्टनले स्पाइक लीको यो फिल्मको स्क्रिनिङ अघि नै खुट्टाको हिल निकालेकी थिइन् ।

क्रिस्टनको यो गतिविधिलाई कान्सको ‘नो फ्ल्याट्स नीति’को विरोधका रुपमा लिइएको छ । कान्सले रेडकार्पेटमा कोही पनि महिला फिल्मकर्मी फ्ल्याट फुटवेयरमा आउन नपाउने नियम बनाएको छ । सन् २०१५ मा कान्समा देखाउन लागिएको फिल्म ‘कैरल’को प्रिमियरमा पुगेका केही महिलाको समूह फ्ल्याट फुटवेयरमा उपस्थित भएपछि आयोजकले उनीहरूलाई त्यहाँबाट बाहिर निकालेका थिए।

कान्सको यो नीतिलाई धेरै अग्रज कलाकारले ‘बेतुके नीति’ भन्दै विरोध गर्दै आएका छन् । क्रिस्टनले एक अन्तरवार्तामा यो कानुनको विरोध गरेकी थिइन् । ‘तपाई कोही माथि पनि हाइ हिल लगाउन दबाब दिन सक्नुहुन्न । यहाँ आउनका लागि एउटा खास ड्रेस कोड छ । यदि तपाई यहाँ यसलाई अनुसरण गर्नुहुन्न, हाई हिल लगाउनुहुन्न भने मानिसहरू तपाईसँग दुःखी हुन्छन्,’ उनले भनेकी थिइन्,‘तर मलाई लाग्छ तपाई मानिसलाई तिमी अनिवार्य हिलमा आउनुपर्छ भन्न सक्नुहुन्न । यदि तपाई पुरुषलाई हिल लगाउनुपर्छ भनेर भन्न सक्नुहुन्न भने मलाई किन भन्नुहुन्छ ?’

यही कारण पनि क्रिस्टनले यसको विरोध गर्नका लागि रेडकार्पेट रोजेकी थिइन् । ‘नो फ्ल्याट्स पोलिसी’सँग जोडिएको यो विवादलाई फिल्मकर्मीले ‘फ्लैटगेट’को नामले पनि चिन्दछन् ।क्रिस्टन अघि प्रख्यात हलिउड अभिनेत्री जुलिया रोबर्टस्ले पनि यो नियमको उल्लंघन गरेकी थिइन् । ६९ औं ‘कान्स फिल्म फेस्टिभल’को रेडकार्पेटमा जुलिया खाली खुट्टा उपस्थित भएकी थिइन् ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App