८ वैशाख २०८१ शनिबार
कला

निराजन र मरिष्का ‘प्रेमालय’ जोडी

काठमाडौं – विदेशमा बस्ने छोरा बुहारी र उनीहरुलाई आमाबाबुले गर्ने प्रेमका विषयमा नयाँ फिल्म ‘प्रेमालय’ निर्माण हुने भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै फिल्मको घोषणा गरियो।

कुमार शाहले निर्देशन गर्ने फिल्मले नयाँ पुस्ता र पुरानो पुस्ताको प्रेमलाई प्रस्तुत गर्ने बताए । ‘विदेशमा बस्ने छोरा बुहारीबाट जन्मिएको सन्तानको स्याहार गर्न त्यता जाने बाबुआमाको कथालाई फिल्ममा देखाउनेछौं,’शाहले भने,‘फिल्ममा कथा समसामयिक फिल्मको भन्दा फरक छ । नातिनातिना स्याहार्न विदेश जाने आमाबाबुको कथा प्रेमालयमा हुनेछ।’

फिल्मका कलाकार निराजन प्रधानले फरक कथाको फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए । ‘फिल्मको स्क्रिप्ट सुन्दा निकै उत्साहित भएँ । मेरो चरित्र निकै राम्रो छ,’निराजनले भने,‘म्युजिक भिडियोको व्यस्तताले फिल्ममा कम देखिन्छु । यो फिल्ममा राम्रो काम गर्छु भन्नेमा ढुक्क छु।’

नायिका मरिष्का पोखरेलले आफू फिल्ममा चञ्चले युवतीको भूमिकामा देखिने बताइन् । ‘चञ्चल युवतीले कसरी प्रेम गर्छिन् भन्ने चरित्र मेरो छ ’ उनले भनिन। यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी नवनायिका डा. सूर्या थापाले आफू दन्त चिकित्सक भए पनि र्याम्प मोडलिङको अनुभव फिल्ममा प्रयोग गर्ने बताइन् । ‘फिल्ममा म प्रेम गर्न नजान्ने युवतीको भूमिकामा छु ’ उनले भनिन्। 

फिल्ममा सन्नी ढकाल, रविन्द्र झा, दालमान पुनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । सुवास श्रेष्ठ निर्माता र मनोज अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा किरण माइकलको पटकथा छ।

कार्यक्रममै मनोज अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रुमानी’को पनि घोषणा गरियो । यो फिल्मका लागि कलाकारका रुपमा सन्नी ढकाल मात्र फाइनल भइसकेका छन्।

निर्देशक अधिकारीका अनुसार फिल्मले विदेश गएकी पत्नीले आफ्नो पति अर्कै युवतीसँग सल्कदा पाएको पीडा र पतिलाई आफ्नो बनाउन पत्नीले गरेको संघर्षलाई देखाउनेछ । एसके स्क्यायर प्रोडक्शन र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने दुवै फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ।

प्रकाशित: २१ वैशाख २०७५ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App