८ वैशाख २०८१ शनिबार
कला

‘फल इन लभ’ सार्वजनिक

काठमाडौं – तारिणीप्रसाद कोइरालाकी नातिनी अपर्णा कोइराला बस्नेतले अंग्रेजी भाषाको उपन्यास ‘फल इन लभ’ ल्याएकी छिन् । बुधबार काठमाडौंमा पुस्तकको विमोचन गरियो। विमोचनअघि प्रेस साक्षात्कार गर्दै उनले सात वर्ष लगाएर उपन्यास तयार पारिएको बताइन्।

‘मेरो हजुरबुबाहरू तारिणीप्रसाद र बिपी कोइरालाको साहित्य रुचि ममा पनि सरेकाले होला,’ उनले पुस्तक निकाल्नुको कथा बताउँदै भनिन्, ‘लामो समयसम्म एउटै उपन्यासको विषयमाथि शोध–लेखन र अन्त्यमा प्रकाशन गरेँ।’

पेसाले छाला चिकित्सक अपर्णाले अंग्रेजी भाषामै पुस्तक निकाल्नुको कारण बताइन्। ‘म अंग्रेजी भाषामार्फत् व्यापक पाठककहाँ पुग्न चाहन्थेँ,’ उनले थपिन्, ‘त्यसैले नेपाली भाषामा नलेखेकी हुँ।’ उपन्यास लेख्दै जाँदा कतिपय नेपालीपनका शब्दहरू आउँथे र तिनलाई अंग्रेजीमा अनुवाद गर्दा त्यत्ति धेरै मजा नआएकोसमेत उनले खुलाइन्।

उपन्यास एउटी नारीको कोणबाट व्यक्ति, समाज र समग्र मुलुकको अवस्था चित्रण गर्न खोजेको उनको भनाइ थियो। अस्पतालमा उपचारका क्रममा भेट भएका दुई स्त्री (एक सासू र एक बुहारी)सँग कुराकानी गर्दै जाँदा उनीहरूको पीडा सुनेर आफू भक्कानिएपछि उपन्यास लेख्न जुर्मुराएको उनले जनाइन्।

द्वन्द्वलगत्तै एउटी नारीले देशका विभिन्न भागमा पुग्दा अनुभूत गरेको कथालाई उपन्यासमा उनेको र देशमा द्वन्द्व सकिए पनि सामान्यजनको दुःख नसकिएको पक्षलाई उजागर गर्न खोजिएको उनले बताइन्। अपर्णा भन्छिन्, ‘उपन्यासमा प्रेमका बहुविधालाई छुने प्रयास गरिएको छ। यसमा द्वन्द्वका बेलाको बसाइसराइँ, पारिवारिक विखण्डन र सर्वसाधारणका दुःख छन्। यसमार्फत् मैले नेपाली भाषामा पहुँच नभएकाहरूलाई देशप्रेम, नेपालप्रेम बुझाउने प्रयास गरेकी छु।’

उपन्यास हलुका पठनका लागि भने नलेखेको उनको प्रस्टोक्ति थियो। उनले थपिन्, ‘गहन किसिमका पाठकलाई लक्षित गरेर लेखेकी छु।’

पुस्तकको बिक्रीबाट आएको १० प्रतिशत समाजसेवामा लगाउने उनको इच्छा छ। समाजसेवामा गहिरो रुचि भएकी अपर्णाले आफूले उपचार गरेका बिरामीलाई उपन्यास समर्पण गरेकी छिन्। उनले भनिन्, ‘सायद उहाँहरूका दुःख र पीडा मैले नसुनेकी भए, यो उपन्यास लेखिने थिएन होला!’ उपन्यासमार्फत् देशमा गर्व गर्नुपर्ने कुराहरू केके छन्, नयाँ पुस्ता र विदेशीलाई पनि जानकारी दिने उद्देश्यले लेखेको उनको भनाइ थियो।

प्रकाशित: २० वैशाख २०७५ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App