काठमाडौं – मध्यपश्चिम क्षेत्रमा लोकप्रिय भाका सिंगारु गीत ‘आँखा जुध्यो’ को भिडियो सार्वजनिक गरिएको छ । बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वसासद हरिचरण शाह, सिस्टर नेपालकी अध्यक्ष नन्दा बस्याल लगायतले शनिबार गीत र म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
पूर्णकला बिसी र शिव संगीतको आवाजमा रहेको ‘आँखा जुध्यो’ गीतको लय तथा शब्द संकलन तिलक खड्काले गरेका हुन् । बिबी अनुरागीको संगीत संयोजन तथा प्रकाश भट्टको निर्देशनमा रहेको यो गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र नन्दा बस्यालको अभिनय छ।
सिस्टर नेपालद्धारा आयोजित कार्यक्रममा लालटिन नेपालले नाटक प्रस्तुत गरेको थियो । बोक्सीप्रथाको विषय समेटिएको नाटक रामकुमार एलनले लेखेका हुन्। टार्जन दाहाल र केसी राजाको निर्देशन रहेको ‘बोक्सी उद्योग’ नाटकमा केसी राजा, नीतु पौडेल, बालानन्द मैनाली, संजिव राई, रुपेश राई, अंकिता राई र पदम घिमिरेको अभिनयले दर्शकलाई मनोरन्जनका साथै भावुक बनायो । एकल महिलामाथि समाजको कुदृष्टि र बोक्सीको आरोपमा गरिने हत्यामा केन्द्रित नाटकले दर्शकको आँखा रसाए।
कार्यक्रममा बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकका विभिन्न क्षेत्रमा लोकप्रिय भाकाहरूलाई संकलित गरेर नेपाली संगीतलाई अझ मजवुत बनाउनुपर्ने बताए । मन्त्री बस्नेतले भने,‘आर्थिक समृद्धिले मात्र मुलुकको विकास हुने होइन, कला, संस्कृतिको विकासबिना मुलुकको समृद्धि सम्भव छैन ।’कार्यक्रममा झ्याउरे भाका लगायत पश्चिमेली कला संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
प्रकाशित: १६ वैशाख २०७५ ०५:४२ आइतबार