१६ चैत्र २०८० शुक्रबार
कला

हराएका मूर्ति फेला पार्नै गाह्रो

.अमेरिकाले फिर्ता गरेको मूर्ति।

काठमाडौं – २०७२ सालको भूकम्पपछि अन्यत्र झैं खोकनाको रुद्रमणि मन्दिर पनि धरापमा पर्‍यो । मानिसहरु आफ्नै गास र बास जुटाउन लागिपरेका बेला मन्दिरमा कसैको ध्यान पुगेन । त्यही बेला मन्दिरभित्रको महालक्ष्मीको मूर्ति चोरी भयो । स्थिति सहज भएपछि मूर्ति चोरी भएको खबर पुरातत्व विभागमा पुग्यो।

‘हामीले इन्टरपोललाई महालक्ष्मीको मूर्ति हराएको खबर गर्‍यौं,’ पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत श्याम सुन्दर राजवंशीले भने,‘इन्टरपोलले मूर्तिको पूर्ण विवरण र फोटो माग्यो तर हामीले दिन सकेनौ ।’ उनका अनुसार मन्दिरभित्र फोटो खिच्न नदिने चलनका कारण चोरी भएको मूर्तिको फोटो नै फेला परेन।

हराएको मूर्ति विदेश पुग्यो वा पुग्ने तरखरमा छ ? खोजबिनका लागि फोटो नै नभएपछि विभागसँग चुप लागेर बस्नुको विकल्प रहेन।केही दिन अघिमात्र पनि पाटन टंगाल क्षेत्रका बासिन्दा बलबलको मूर्ति हराएको उजुरी लिएर पुरातत्व विभाग पुगे । त्यो हराएको समय झण्डै चालिस वर्ष अघि उजुरीमा उल्लेख थियो।

‘त्यत्रो वर्ष अघि हराएको मूर्ति अहिले कसरी खोजबिन गर्ने ?’, राजवंशीले सम्झे, ‘विदेशको कुन कुनामा पुगिसक्यो होला । ठेंचोबाट पनि एउटा मूर्ति हराएको छ । तर फेला परेको छैन ।’
फोटो भएपनि ढिला उजुरी पर्दा हराएका मूर्ति फेला पर्ने सम्भावना कम हुन्छ । उजुरी परेपछि विभागको क्युरियो शाखामा नयाँ मूर्तिहरूमा छाप लगाउने र छानबिन हुनेगर्छ।

तर प्रमाणको अभाव रहँदा त्यस्ता मूर्ति बाहिर निर्यात हुने सम्भावना बढी रहने उनले बताए । ‘पुरानो मूर्ति त हामी चिनिहाल्छौ । तैपनि यता नआइ पैदलमार्ग हुँदै वा सार्वजनिक यातायतमा भारत हुँदै विदेश लगेका कारण तत्काल फेला पार्न नसकिने हुनसक्छ,’ उनले भने, ‘पुराना मूर्ति त्यही कालखण्डको कलाकारितामा कोरिएका हुन्छन्।

त्यसमा लेखिएका अक्षर र कलात्मकताले मूर्ति कति पुरानो भन्ने कुरा तय हुन्छ ।’राजवंशीको शाखामा मूर्ति पहिचान गर्ने काम हुन्छ । शाखाबाट पुराना मूर्तिले अनुमति पाएको खण्डमा पनि बाहिर जाने एयरपोर्ट तथा भन्सारमा समेत थप चेकजाँच हुने हुँदा सहजै बाहिर लैजान भने सकिदैन।

२०३० अघि पुराना मूर्तिको अवस्था पत्ता लगाउन तत्कालीन सेनाको छाउनीस्थित संग्रहालयमा क्युरियो शाखा स्थापना भएको थियो । तर पछि नेपाल सरकार मातहत नै परिक्षण गरेर मूर्ति हराउन रोक्नका लागि सिंहदरबारमा शाखा सारिएको थियो । सिंहदरबारमा आगलागी भएपछि शाखालाई पुरातत्व विभागमा सारिएको हो । जहाँ नयाँ पुराना मूर्तिहरु परिक्षण गरि पुरातात्विक महत्वका मूर्तिहरु संरक्षण गर्ने गरिन्छ।

समयमै जानकारी नहुनु र पूर्ण विवरणको अभावमा नेपालका पुराना मूर्तिहरु खोजबिन गर्न समस्या रहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । सन् १९८९ मा लैनसिंह वाङदेलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा नेपाल फिर्ता भएका यी दुई मूर्तिसहित १ सय ९७ वटा मूर्ति नेपालबाट हराएको उल्लेख गरेका छन्।

वाङदेलका अनुसार १९६० देखि १९८० बीचमा नेपालका धेरै पुराना मूर्ति हराएका छन् । २०५२ सालमा १९ वटा मूर्ति बेलायतबाट फिर्ता भएका थिए । तर विगत दश वर्षभित्र विदेश पुगेका झण्डै ६० मूर्तिहरू नेपाल फिर्ता भइसकेको विभागका कुँवरले जनाए ।अमेरिकाले हालै फिर्ता गरेको मूर्तिसहित करिब दशवटा मूर्ति फिर्ता गरेको छ । त्यस्तै अष्ट्रियाले दिपंकर भगवानको मूर्ति फिर्ता गरेको छ । चीनले पनि डेढ दर्जन मूर्ति नेपाल फिर्ता गरिसकेको छ । सन २००० पछि नेपालबाट मूर्ति हराउने कार्यमा कमी आएको विभागको दाबी छ ।  
अमेरिकाबाट फर्के हराएका मूर्ति
सन १९८६ मा काठमाडौंस्थित इन्द्रचोक भित्र रहेको यटखा बहालबाट गौतम बुद्धको मूर्ति हरायो । त्यसअघि सन् १९८० मा पाटनस्थित टंगहिटीबाट उमामहेश्वरको  मूर्ति हराइसकेको थियो । विभिन्न कला प्रदर्शनीका क्रममा मूर्तिको फोटो खिचिएर बाहिर आएपछि हराएको मूर्ति अमेरिका रहेको पत्ता लाग्यो । अमरिकास्थित मेट्रोपोलिटिन म्युजियमले मूर्ति चोरिएको आशंकामा  नेपाली मूर्ति पठाउने प्रक्रिया सुरु गर्‍यो।

गत कात्तिक ६ गते म्युजियमले मूर्ति फिर्ता गर्ने बारेमा नेपाल सरकार तथा पुरातत्व विभागलाई पत्र लेख्यो । राजवंशीका अनुसार त्यसपछि नेपालले ती मूर्ति नेपालकै भएको पहिचान गरेपछि फिर्ता गर्न सहमति भएको थियो । प्रकृया पुरा भएपछि चैत २० गते दुई मूर्ति नेपाल फर्किएको हो । बेलायतले १९ मूर्ति फर्काएको २२ वर्षपछि अमेरिकाले दुई मूर्ति फिर्ता गरेको हो । अझै केही नेपाली मूर्ति अमेरिकामा रहेको विभागले जनाएको छ।

अवैधानिक ओसारपसार भएर विदेश पुगेको त्यस्ता पुरातात्विक महत्वका वस्तुहरु संयुक्त राष्ट्रसंघ अन्तगर्त भएको इलिस्टिक सन्धि अनुसार सम्बन्धित देशलाई फिर्ता गर्ने प्रावधान छ । सोही प्रावाधान अनुसार नेपालको मूर्ति रहेको थाहा पाएपछि अमेरिकाको संग्रहालयले मूर्ति नेपाल पठाएको हो।
मूर्ति फिर्ता गर्न फ्रान्सको सर्त
नेपालबाट चोरी भएर फ्रान्सको गिनी म्युजियममा पुगेको भक्तपुरको श्रीधर विष्णुको मूर्ति र पाटनकै उमामहेश्वरकै अर्को एक मूर्ति भने फिर्ता भएको छैन।

फ्रान्सले ति दुई मूर्ति फिर्ता गर्न नेपाली मूर्तिको कला प्रदर्शनी गर्ने सर्त अघि सारेको छ । २०१६ सालमा राजा महेन्द्रसमेत गएर फ्रान्समा कला प्रदर्शनी गरेको सम्झनामा फेरि मूर्ति प्रदर्शनी गर्ने सर्त उसले अघि सारेको पुरातत्व विभागले जनाएको छ । लैनसिंह वाङदेलकी छोरी डीना वाङदेलले कला प्रदर्शनी गरी ति मूर्ति नेपाल फिर्ता ल्याउने प्रकृया सुरु गरेकी थिइन्।

तर उनको असामयिक निधन भएपछि त्यो प्रकृया रोकिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले नागरिकलाई बताए । ‘त्यसको प्रकृया फेरि सुरु गर्छौ,’ उनले भने, ‘कला प्रदर्शनी गरेरै पनि मूर्ति फिर्ता ल्याउँछौ ।’ विदेशमा नेपाली मूर्ति रहेको थाहा भएपनि कतिपय मूर्ति त्यो देशको कुन ठाउँमा छ भन्ने कुरा पत्ता लाग्न नसकेको उनले सुनाए।

 

प्रकाशित: ४ वैशाख २०७५ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App